एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेका केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलको तयारीमा लागेका छन् । महाधिवेशन २७–२९ मंसिरमा काठमाडौंमा हुँदै छ । संस्थापनइतर पक्षबाट अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका वरिष्ठ उपाध्यक्ष पोखरेल यसअघिको महाधिवेशनमा संस्थापन पक्षमा थिए । इतरपक्षबाट पूर्वराष्ट्रपति विद्या भण्डारीलाई अघि सार्ने तयारी भए पनि उनको सदस्यता नवीकरण रोकिएपछि पोखरेल नेतृत्वमा उठ्न लागेका हुन् । पोखरेलको पक्षमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट, योगेश भट्टराई र स्थायी कमिटी सदस्य कर्ण थापा खुलेका छन् ।
सचिव रघुवीर महासेठ दुवै पक्षबाट आकर्षक ‘अफर’ को प्रतीक्षामा छन् । उनी हालसम्म कतै खुलेका छैनन् । ‘मैले अहिले उम्मेदवारी दिनेबारे निर्णय गरिसकेको छैन,’ महासेठले भने, ‘बाहिर यो पक्ष, त्यो पक्ष भनेर अनुमान गर्नु उचित होइन ।’ संस्थापनइतरबाट अध्यक्षमा पोखरेलसँगै महासचिवमा सुरेन्द्र पाण्डे वा योगेश भट्टराई उठ्ने तयारी छ ।

संस्थापनबाट ओली अध्यक्ष र शंकर पोखरेल महासचिवमा दोहोरिने अवस्थामा इतरपक्षबाट अध्यक्षमा पोखरेल र महासचिवमा पाण्डे उठ्ने तयारी छ । संस्थापनबाट महासचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दिएमा इतरपक्षबाट योगेश भट्टराई लड्ने तयारी छ । ज्ञवाली महासचिवका आकांक्षी छन् । इतरपक्षमा रहेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले दोहोरिने रुचि देखाएका छैनन् ।
Share



