टोकियो ।


नेपाल पत्रकार महासंघ जापान शाखाको समन्वयमा जापानी पत्रकार र महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माबीच अनुभव आदान प्रदान भएको छ। नेपाल पत्रकार महासंघकी अध्यक्ष शर्मा जापान भ्रमणका क्रममा उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी हुन्।कार्यक्रममा जापानमा क्रियाशील नेपाली पत्रकार तथा जापानी सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो।कार्यक्रममा अध्यक्ष शर्माले नेपाली पत्रकारिताको वर्तमान अवस्था, विद्यमान चुनौती तथा बदलिंदो विश्व परिवेशमा पत्रकारिताको भूमिकाबारे आफ्नो धारणा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय अनुभव र प्रविधिको प्रभावकारी प्रयोगले नेपाली पत्रकारिता अझ सक्षम र दिगो बन्ने विश्वास व्यक्त गरिन। महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले जापानी पत्रकारिताको अनुशासन, कार्यशैली, तथ्य पुष्टिकरण प्रक्रिया तथा सकारात्मक व्यावसायिक दृष्टिकोण नेपालका पत्रकारका लागि प्रेरणादायी हुन बताउँदै महत्वपूर्ण पक्षहरू उजागर गरेका थिए।
कार्यक्रममा सहभागी जापानी पत्रकार मिसा हिगुची, हिरोखाजु मुरोहाशी र चिका फुकाबोरीले पत्रकारितामा तीव्र रूपमा विकसित भइरहेको कृत्रिम बुद्धिमत्ता (AI) ले सिर्जना गरेका अवसर र चुनौतीबारे आफ्नो विश्लेषण प्रस्तुत गरे। उनीहरूले नेपालमा प्रेस स्वतन्त्रता, सरकारी नियमनका सम्भावित प्रभाव तथा पत्रकारहरूको पारिश्रमिक संरचनाप्रति चासो व्यक्त गर्दै विस्तृत जानकारी लिएका थिए।नेपाल र जापानका पत्रकारबीच भएको यो संवादले दुवै देशका पत्रकारिता अभ्यास, पेशागत अनुभव तथा प्रविधिजन्य रूपान्तरणबारे आपसी समझदारी र सहकार्यका नयाँ सम्भावना खुला गरेको नेपाल पत्रकार महासंघ जापान शाखाले जनाएको छ।कार्यक्रममा महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ ‘गोर्खाली’, उपाध्यक्षद्वय मनिषा चम्लागाई र लक्ष्मी पौडेल, सचिव अर्जुन लामिछाने, सदस्यहरू भवानी भट्ट, दुर्गा आचार्य र दिनेश थापा, निवर्तमान अध्यक्ष शान्त कुमार पहरी, निवर्तमान उपाध्यक्ष इन्दिरा खनाल, पत्रकार गणेश खानिया, जीवन सुवेदी लगायतको उपस्थिति रहेको थियो।





