सामाजिक कार्यमा कृयाशिल गलकोट समाज जापानले अर्को सामाजिक कार्यमा योगदान पुऱ्याएको छ।गलकोट समाज जापानको आयोजनामा ताराखोलामा छात्रवृत्ति तथा अक्षयकोष हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। समृद्ध राष्ट्र निर्माणका लागि जिवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी भन्ने उद्देश्यका साथ गलकोट समाज जापानले आयोजना गरेको नयाँ वर्ष सांगितिक श्रृङ्खला २०२५-०२६ को उद्देश्य अनुसार गलकोट समाज जापानद्धारा आयोजित छात्रवृत्ति अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रम ताराखोमा सम्पन्न भएको हो ।
कार्यक्रममा गलकोट समाज जापानका अध्यक्ष रत्नसिंह बस्नेतले गलकोट र ताराखोला पालिकागत रुपमा छुट्टै रहेता पनि भौगोलिक, जातिगत हिसाबले एउटै रहेको बताउँदै आगामी दिनहरुमा पनि दुई पालिकाहरुलाई विशेष रुपमा सहयोग गर्ने बताए । उनले यस संस्थाले शिक्षाका क्षेत्रमा मात्रै नभई विगत देखी नै भुकम्प पिडीत, बाढि पिडीत र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुमा सक्रिय रुपमा सहयोग गर्दै आईरहेको बताए।

गलकोट र ताराखोलाका १९ वटा सामुदायिक माध्यमिक विद्यालयहरुमा अक्षयकोष स्थापना गर्ने लक्ष्य अनुसार आज ताराखोला गाउँपालिका अन्तर्गत हरि माध्यमिक विद्यालय ताराखोला गाउँपालिका वडा नं. ३ हिल, अर्गल माध्यमिक विद्यालय ताराखोला गाउँपालिका वडा नं. २ अर्गल, जनप्रेम माध्यमिक विद्यालय ताराखोला गाउँपालिका वडा नं. १ भुस्कात, दुर्गा भवानी माध्यमिक विद्यालय ताराखोला गाउँपालिका वडा नं. ५ ताराखोला, प्रजातन्त्र विकास माध्यमिक विद्यालय ताराखोला गाउँपालिका वडा नं. १ माझखर्कमा पुगी गलकोट समाज जापानका पदाधिकारीहरुद्धारा प्रत्येक विद्यालमा ५ लाखका दरले रकम हस्तान्तरण गरिएको हो । कार्यक्रम प्रत्येक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको अध्यक्षता, हरि माध्यमिक विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष देब बहादुर सिउतानी मगर दर्पणको स्वागत र प्रत्येक विद्यालयका प्रधानाध्यपाकहरुको सञ्चालनमा सम्पन्न भएको थियो ।
Share



