चितवनको समथर भूभागमा उखरमाउलो गर्मी भईरहेको समयमा जिल्लाकै पहाडी क्षेत्रमा भने सिरक ओढेर सुत्नु पर्ने सितल रहेको छ । जिल्लाको तराई भूभागमा तापक्रम हिजोआज ४० डिग्री हाराहारी छ । जिल्लाको पहाडी क्षेत्रमा ३० डिग्री हाराहारी छ । पहाडी क्षेत्रमा रातको समयमा २० डिग्री हाराहारी तापक्रम रहने गर्दछ ।
ईच्छाकामना गाउँपालिकाको मायाटार बसेर फर्किनु भएका पत्रकार राजेश घिमिरेले भन्नुभयो “राती कम्बल ओढेर सुतियो, दिउँसो घाम तापियो ।” उहाँले तराईको चर्काे गर्मी छल्न पहाडी ईलाका राम्रो विकल्प भएको बताउनुभयो । पत्रकार दीपेन्द्र अधिकारीले सँगै आएका सबै पत्रकार साथीहरु सिरक ओढेर सुतेको बताउँदै भन्नुभयो “नपत्याए अरुलाई पनि सोध्नुहोस् ।”
तराईको उखुम गर्मी छल्न भन्दै चितवनका वासिन्दाहरु अन्य जिल्लाका पहाडी क्षेत्र गईरहँदा जिल्लाकै सित्तल पहाडी क्षेत्र भने ओझेलमा छ । पहाडी क्षेत्रलाई ‘हिल स्टेशन’ को रुपमा विकास गर्न सके जिल्लाको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने देखिन्छ ।
बढ्दो गर्मीसँगै जिल्लामा आउने पर्यटकको संख्या घट्ने गर्दछ । जिल्लाको सदरमुकाम भरतपुरबाट छोटो समयको यात्रामै पुग्न सकिने सित्तल ठाउँहरु धेरै छन् । ईच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ पहाडी क्षेत्रहरुमा होमस्टे सञ्चालनका लागि स्थानीयलाई तालिम दिन थालिएको बताउनुहुन्छ । क्रमशः उनीहरुलाई सहयोग गरेर चेपाङ, मगर, गुरुङ जस्ता जातीको होमस्टे सञ्चालनका लागि गाउँपालिकाले पहल गरिरहेको उहाँको भनाई छ । गुरुङले थप्नुभयो “तराईको गर्मी छल्न मात्रै होइन, पुस–माघको सितलहर छल्दै पहारिलो घाम ताप्न पनि पहाडी क्षेत्र उपयुक्त छन् ।”
निजी क्षेत्रलाई ती क्षेत्रहरुमा होटल रेष्टुरेन्ट सञ्चालन गर्न चाहेमा आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको उहाँको भनाई छ । गाउँपालिकाको हात्तीवाङ, चौकीडाँडा, ज्यान्दाला, मायाटार, याक्राङ, पानडाँडा लगायतका क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाएर पर्यटन प्रबद्र्धन गर्न सकिने गुरुङको भनाई छ । अध्यक्ष गुरुङले भन्नुभयो “अधिकांश क्षेत्रमा सडक सञ्जाल पुगिसकेकाले काम गर्न अब कठिन छैन ।” जिल्लाको तराई भूभागमा चर्काे गर्मी भईरहँदा गर्मी छल्ने गन्तव्यको रुपमा डाँडा प्रयोग हुने उहाँ बताउनुहुन्छ ।
भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा.विश्व सुवेदी महानगरकै वडा नं २९ मा हिल स्टेशन बनाउने विषयमा छलफल भईरहेको बताउनुहुन्छ । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन लागेको महानगरले पर्यटकीय पूर्वाधारको विकासमा जोड दिएको छ । सुवेदीले भन्नुभयो “तराई क्षेत्रमा गर्मीका कारण आत्तिएकाहरुलाई रमाईलोपन दिन पहाडी क्षेत्र उपयुक्त हुन्छन् ।”
सरकारी तवरबाट आवश्यक पूर्वाधारहरुमा सहयोग गरेर निजी क्षेत्रलाई हिल स्टेशनमा लगानी गर्न अनुरोध गर्नुपर्ने उहाँ बताउनुहुन्छ । जिल्लाका मात्रै नभएर बाहिरका पर्यटक तान्ने गन्तव्य बनाउन पहाडलाई सकिने उहाँको भनाई छ ।
होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुके जिल्लाका पहाडी क्षेत्रका डाँडाहरु पर्यटकीय गन्तव्यका हिसाबले उपयुक्त रहेको बताउनुहुन्छ । छोटो समयमा पुग्न सकिने भएकाले ती ठाउँहरुमा पूर्वाधार बनाउन सकेमा आन्तरिक र बाह्य पर्यटक तान्न सकिने उहाँको बुझाई छ ।
गर्मी महिनामा जिल्लामा पर्यटक कम आउने भन्दै उहाँले यो समयमा पर्यटक आउनका लागि चिसो ठाउँमा पर्यटकीय पूर्वाधार हुनुपर्ने बताउनुहुन्छ ।
जिल्लामा यतिबेला शिक्षण संस्थाहरु बढ्दो गर्मीका कारण बन्द भएका छन् । जिल्लावासीलाई गर्मी छल्नका लागि घुम्ने नजिकको गन्तव्य कम छन् । आफ्नै जिल्लाभित्रका नजिकैका डाँडाहरु चिसो भएपनि पर्यटकीय पूर्वाधारका कमीका कारण आरामले रात बिताउने ठाउँको भने कमी छ । पहाडी क्षेत्रमा होमस्टे र होटलहरु सञ्चालन गर्न सक्ने हो भने चर्काे गर्मी र शितलहरको समय उपयुक्त गन्तव्य बन्ने निश्चित छ । (कान्तिपुर हेल्थबाट )





