✍️लक्ष्मण घिमिरे “आनन्दयोगी “
खैरहनी ४ चैनपुर चितवन
शिक्षा भनेको बाह्य बस्तुनिष्टता लाई आन्तरिक आत्मियतामा रुपान्तरण गर्नु हो।जुन ब्याबहारिक शिक्षामा मात्र यो गुण हुन्छ ।जागिरको लागि मात्र पढ्ने दास मनोवृत्तिको शिक्षा आजको आबस्यकता होइन।शिक्षा मानिसले औपचारिक वा अनौपचारिक रूपमा प्राप्त गर्दछ।औपचारिक शिक्षा मानिसले विद्यालय वा महाविद्यालय बाट प्राप्त गर्दछ भने अनौपचारिक शिक्षा चाँहि जीवनयापनको क्रममा व्यवहार र जीवनका अनुभवहरूबाट हासिल गर्दछ।

मेरो शिक्षा अनौपचारिक शिक्षा हो ।शिक्षा जीवन पर्यन्त चलिरहन्छ र चलिरहने प्रक्रिया पनि हो।शिक्षाको प्रारम्भ जन्मबाट मृत्युपर्यन्त भइनै रहन्छ । शिशुले जन्मनसाथ नौलो संसारमा पाइला राख्छ ,त्यहीबाटनै उसको शिक्षाको ढोका खुल्छ।त्यसैले घरपरिवार नै मानिसको पहिलो शिक्षालय हो, जहाँ बाट उसले नित्यकर्म गर्न सिक्दछ।उसको सम्पर्क छिमेक र समाजसित पनि हुन्छ र उसले नयाँ वातावरण ,नयाँ परिवेश अनि नयाँ ज्ञान प्राप्त गर्न थाल्दछ ।चौथो वर्षबाट ऊ विद्यालयमा प्रवेश गर्नसाथ वास्तविक रूपमा उसकोऔपचारिक शिक्षाको थालनी हुन्छ र यो क्रम अगाडि बढ्न थाल्छ। क्रमिक रूपमा यही प्रक्रिया बाट उसले विद्यालय देखि विश्वविद्यालय सम्म औपचारिक शिक्षा हासिल गर्न सक्छ तर अनौपचारिक शिक्षा भने निरन्तर नै चलिरहन्छ ।मानिसले कुनै पनि कुरा अध्ययन र व्यावहारिक अनुभवबाट सिक्दछ।शिक्षालाई सैद्धान्तिक र व्यावहारिक दुई प्रक्रियाबाट प्राप्त गर्न सकिन्छ।सैद्धान्तिक शिक्षा किताबी ज्ञानमा आधारित हुन्छ भने व्यावहारिक शिक्षा प्रयोगात्मक हुन्छ।सैद्धान्तिक शिक्षा कोरा हुने र व्यावहारिक शिक्षा जीवनोपयोगी र दीगो हुने भएकाले विकास र निर्माणका लागि व्यावहारिक शिक्षामा जोड दिनु आजको राष्ट्रिय आवश्यकता हो ।
आजको शिक्षा व्यवहारिक, प्राविधिक, खोजमूलक, रोजगारीमूलक जीवनपयोगी, राष्ट्र , राष्ट्रियता, लोकतन्त्र र जनजीविकालाई उकास्ने रोजगारमुलक र वैज्ञानिक पद्धतिमा आधारित हुनु पर्छ।हाम्रा सामाजिक मूल्य र मान्यतालाई अंगिकार गर्ने खालको शिक्षा नै आजको शिक्षा हो।बेरोजगारी समस्या हल गर्दै पढेपछि रोजगार पाइन्छ भन्ने मान्यतालाई आत्मासात गर्ने शिक्षा नै आजको अपरिहार्य शिक्षा हुन सक्छ।अनुशासन , मर्यदा, रीती, परम्परा, धर्म,संस्कृतिको जगेर्ना गर्दै नीति , नैतिकता , सामाजिक आदर्श र देशभक्तिपूर्ण सोचाइमा आधारित शिक्षाले मात्र समाजमा रहेका सबै तह र वर्गका व्यक्तिको प्रतिनिधित्व गर्ने हुँदा यस्तो शिक्षा मुलुकको निम्ति वरदान हुन सक्छ।डिग्रीको प्रमाणपत्र हातमा बोकेर जागिर खोज्दै भौतारिने शिक्षा आजको शिक्षा हुन सक्दैन । हप्काएर, डर देखाएर, कुटेर,तर्साएर अधिकार र कर्तव्य अनि संविधान प्रदत्त हकलाई भुलेर ल्याइएको शिक्षाले पनि सही गति दिन सक्दैन।आफूभित्र रहेको उर्जा,जागरण र प्रतिभालाई प्रस्फुटन गराउदै राष्ट्रले हामीलाई के दियो?होइन कि हमीले राष्ट्रलाई के दिन सक्छौं?भन्ने सोचाइमा आधारित शिक्षानै आजको शिक्षा हुन सक्छ।
नैतिकता,आदर्श र शिष्टता नभएको शिक्षा आजको शिक्षा हुन सक्दैन।नैतिकता,आदर्श,शिष्टता,मर्यादा र अनुशासन समेटिएको शिक्षाले मात्र बुद्ध,पारिजात,देवकोटा,गान्धी,मण्डेला,भीमसेन थापा,भक्ति थापा,बी.पी.कोइराला, मनमोहन अधिकारी,पृथ्वी नारायण शाह,सम ,लेखनाथ पौड्याल,सन्त कबिरदास जस्ता आदर्शव्यक्ति र विशिष्ट व्यक्तित्व बनाउन सक्ने हुँदा यस्तो किसिमको शिक्षाले नै नयाँ नेपालको अनि समृद्धिको खाका कोर्ने भएकोले त्यस्तो शिक्षानै हाम्रो लागि, आजको पुस्ताको लागि राष्ट्रको हित र संरक्षण गर्नको लागि अर्थात् एक्काइसौं शताब्दी अनुकूलको शिक्षा मुलुकको लागि अपरिहार्य होइन र?हामीलाई हिटलर र जङ्ग बहादुर बनाउने शिक्षा होइन कि जय पृथ्वी बहादुर सिंह,बिबेकानन्द, भानुभक्त, अम्मर सिंह थापा, गंगालाल, धर्मभक्त, दशरथ चन्द, धर्मभक्त,गेहेन्द्र शमसेर जन्माउने शिक्षानै चाहिएको छ । जुन शिक्षाले मुलुकको कायापलट गरोस्, समृद्धिको खाका कोरोस् र नयाँ नेपालको निर्माण गरोस् ।
विश्व नै खुला शिक्षालय हो।जीवन र जगत शिक्षाका प्रेरणाका स्रोत हुन्।प्रकृति शिक्षाको साधन हो।यही प्रकृतिरूपी शिक्षालयमा मानिस जन्मिन्छ, बढ्छ, ज्ञान लिन्छ अनि सयौं कुरा सिक्छ।वास्तवमा भन्ने हो भने शिक्षाको उत्पत्ति र विकास यहीँबाट सम्भव भएको हो ।
शिक्षाले मानिस महान र अमर हुन्छ । शिक्षा ज्ञानको ज्योति हो। यसले मानिसलाई कर्तव्यपथमा हिडाउँछ। शिक्षा बिना मानिस अपाङ्ग र दृष्टिबिहिन हुन्छ । व्यक्तित्व निर्माण देखि राष्ट्र निर्माण सम्म शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ।शिक्षा युग र राष्ट्र अनुकूल हुनु पर्छ।कसैको गुण गाएर वा भजन मण्डली जपेर अनि युग र विज्ञानलाई तिरस्कार गरेर ल्याइएको शिक्षा साँचो अर्थमा आजको वा एक्काइसौं शताब्दीको शिक्षा होइन। एक्काइसौं शताब्दीमा हामीले खोजेको शिक्षा त्यस्तो शिक्षा होइन।शिक्षा राष्ट्र , राष्ट्रियता र आफ्नो संस्कृतिसित मेल खानेखालको हुनुपर्छ । शिक्षा जीवन जगतसंग सम्बन्धि हुनुपर्छ ।
शिक्षा जीवनको लागि हो र यसले जीवनमा ठूलो परिवर्तन ल्याइदिन्छ । शिक्षाको उद्देश्य व्यक्तिको चरित्र निर्माण गर्न देखि लिएर जीवनयापनको गोरेटो निर्माण गर्न पनि हो।शिक्षाले व्यक्तिको अन्तर्निहित शक्तिलाई समेत प्रस्फुटित गर्दछ र समाजमा उसलाई अस्तित्ववान बनाउँदछ।शिक्षाको उद्देश्य व्यक्तिमा मात्र सीमित रहन्न । यसको उद्देश्य राष्ट्रमुखी र विश्वमुखी हुनुपर्छ।शिक्षा राष्ट्रको आवश्यकता र माग अनुसारको हुनुपर्छ।राष्ट्रको लागि शिक्षाको उद्देश्य योग्य र दक्ष्य जनशक्ति तयार गर्नु अनि राष्ट्र निर्माणको महायज्ञमा सरीक गराउनु पनि हो।राष्ट्र र राष्ट्रियताप्रति सजक देशभक्त नागरिक तयार पार्नु पनि हो।अनि अहिंसा,शान्ति र मानवताको लागि गान्धी , बुद्ध र प्रमिथस जन्माउनु पनि हो।त्यसैले शिक्षाको उद्देश्य अर्काको नक्क्ल गरेर डिग्री हासिल गर्नु मात्र होइन ।
Share



