नेपाल पछि मादागास्कर पनि ‘जेनजी’ आन्दोलन, राष्ट्रपतिले गरे सरकार विघटन

Share
9Shares

विगत केही दिनदेखि पानी र बिजुली कटौतीविरुद्ध युवाको नेतृत्वमा भइरहेको प्रदर्शनपछि मादागास्करका राष्ट्रपतिले आफ्नो सरकार विघटन गरेको बताएका छन् । राष्ट्रका नाममा टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति एन्ड्री राजोएलिनाले भने, “यदि, सरकारका सदस्यले उनीहरूलाई तोकिएको काम पूरा गर्न सकेनन् भने हामी स्वीकार गर्छौं र त्यसका निम्ति क्षमा चाहन्छौँ ।”‘जेनजी’ प्रदर्शनअन्तर्गत ‘हामी बाँच्न चाहन्छौँ, जिउँदो रहने मात्र होइन’ भन्ने नाराका साथ बिहीबारदेखि मादागास्करका सहरमा हजारौँ युवा प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखले सुरक्षा बलले त्यहाँ गरेको अनावश्यक बल प्रयोगको निन्दा गरेका छन् । प्रदर्शनका क्रममा कम्तीमा २२ जनाको मृत्यु र १०० जना घाइते भएका उनले बताएका छन् ।

मादागास्करको परराष्ट्र मन्त्रालयले राष्ट्रसंघको तथ्यांकलाई अस्वीकार गरेको छ । उक्त तथ्यांक अफवाह वा गलत सूचनामा आधारित रहेको आरोप लगाएको छ ।विरोध प्रदर्शन राजधानी अन्तानानारिभोबाट सुरु भएर हाल देशका आठ सहरमा फैलिएको छ । हिंसा र लुटपाटपछि अन्तानानारिभोमा साँझदेखि बिहानसम्म कर्फ्यु लगाइएको थियो । त्यसक्रममा भीडलाई तितरबितर पार्न प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गरेको थियो ।

गएको साता मादागास्करका राष्ट्रपतिले आफ्नो काम राम्ररी गर्न नसकेको भन्दै ऊर्जामन्त्रीलाई बर्खास्तको घोषणा गरेका थिए । तर, प्रदर्शनकारीले राष्ट्रपति र बाँकी मन्त्रीले पनि राजीनामा दिनुपर्ने माग गरेका थिए ।सोमबार फेरि हजारौँ मानिस सडकमा उत्रिएका थिए । “म बिजुली कटौती र पानी आपूर्तिको समस्याले उत्पन्न दुःख र कठिनाइ बुझ्छु,” राजोएलिनाले सरकारी टेलिभिजनमार्फत सम्बोधनका क्रममा भने ।

उनले प्रधानमन्त्री र सरकारको कार्यभार समाप्त गरेको बताए । अर्को प्रधानमन्त्रीका निम्ति आवेदन तीन दिनभित्र लिइने र त्यसपछि नयाँ सरकार गठन गरिने उनले उल्लेख गरे । राजोएलिनाले युवासँग वार्ता गर्न चाहेको पनि बताए ।सन् १९६० मा स्वतन्त्रता प्राप्त गरेयता मादागास्करमा धेरैपटक विद्रोह भइसकेको छ । त्यसमा सन् २००९ को जनप्रदर्शन पनि समावेश छ, जसले पूर्वराष्ट्रपति मार्क राभालोमानानालाई राजीनामा दिन बाध्य पारेको थियो र राजोएलिना सत्तामा आएका थिए ।हालको प्रदर्शन २०२३ मा तेस्रोपटक निर्वाचित भएपछि राष्ट्रपतिले सामना गरेको सबैभन्दा ठूलो चुनौती हो । बीबीसीबाट ।

Share
9Shares
Advertisment