जापानको संसदले देशकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा सानाय ताकाइचीलाई चयन गरेको हो । केवल एक वर्ष प्रधानमन्त्री बनेका इसिबाले मंगलबार बिहानै आफ्नो मन्त्रिपरिषद् सहित राजीनामा दिएका थिए । विगत २६ वर्षदेखि लगातार सत्ता साझेदारी गरेको पार्टी कोमेइतोले साथ छोडेपछि लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) ले जापान इन्नोभेशन पार्टी (निहोन इशिन नो खाइ) संग मिलेर सरकार बनाएको हो । इशिन नो खाइ सत्ता साझेदारी हुने तर मन्त्री भने नहुने घोषणा गरेको छ ।
सन् १९५० को दशकदेखि जापानको राजनीतिमा निरन्तर प्रमुख शक्तिकारुपमा रहँदै आएको एलडिपी पछिल्लो दुई वर्ष यता ठूला-ठूला भ्रष्टाचार काण्ड र जनजिविकासंग सम्बन्धित संकट लगायतका समस्याहरुको सम्बोधन गर्न असफल भएपछि संसदको दुबै सदनमा आफ्नो बहुमत गुमाएको छ ।६४ वर्षिय ताकाइची स्वर्गीय पूर्व प्रधानमन्त्री शिन्ज्यो आबेकी विश्वास पात्र मानिन्छन् । उनी एलडिपी भित्र रुढिवादी गुटकी सदस्यका रुपमा पनि चिनिन्छन् । गत अक्टोबर ४ मा एलडीपीको प्रमुखमा निर्वाचित भएसंगै उनको एकाएक चर्चा चुलिनुको साथै जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने ढोका खुलेको हो ।

जापानको तल्लो सदनमा एलडिपीको १ सय ९६ सिट छ । ताकाइचीलाई प्रधानमन्त्री बन्न कम्तिमा २ सय ३३ सिट अर्थात थप ३७ सिटको आवश्यकता परेको थियो । जसअनुसार जापान इनोभेशन पार्टीसंग मिलेर एलडिपीले सरकार बनाएको हो ।
Share



