नागोया, जापान


नेपाली राजदुतावास टोकियोले जापानको नागोयामा घुम्ती सेवा सञ्चालन गर्ने भएको छ। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान तथा क्षेत्रीय समिति नागोयासँगको सहकार्यमा राहदानी तथा अन्य कन्सुलर सेवा प्रदान गर्न कार्यक्रम तय गरिएको दूतावासले जनाएको छ। उक्त सेवा लिन आउन जापानका लागि नेपालका कार्यबाहक राजदूत हरिहर कान्त पौडेलले नागोया र आसपासका नेपाली समुदायलाई अनुरोध गरेका छन्।
एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक योवन देवानका अनुसार घुम्ती सेवा २०२६ अप्रिल ४ देखि ७ (चैत्र २१–२४) सम्म सञ्चालन हुनेछ। सेवा समय बिहान ९:३० बजे देखि साँझ ५:०० बजे सम्म रहनेछ भने दिउँसो १–२ बजे लञ्च ब्रेक हुनेछ। कार्यक्रम नागोया इन्टरनेशनल कर्नरमा आयोजना गरिनेछ।
ई–पासपोर्टका लागि अनिवार्य प्रि–इन्रोलमेन्ट
विद्युतीय राहदानी (e-Passport) बनाउन चाहने सेवाग्राहीले राहदानी विभागको मोबाइल एप (iPhone का लागि App Store तथा Android का लागि Play Store) डाउनलोड गरी Pre-enrollment Booking गर्नुपर्नेछ। फाराम डाउनलोड तथा प्रिन्ट गरी तोकिएको मिति र समयमा उपस्थित हुनुपर्नेछ। Pre-enrollment नगरी सेवा उपलब्ध नहुने दूतावासले स्पष्ट पारेको छ।
कसले सेवा लिन पाउने?
• ६ अप्रिल २०२७ सम्म म्याद सकिने राहदानी नवीकरण गर्न मिल्ने।
• जापानमा जन्मेका बालबालिकाको पहिलो राहदानी बनाउन सकिने।
• हराएको, बिग्रिएको वा अन्य कारणले प्रयोग गर्न नमिल्ने राहदानीको हकमा पनि प्रक्रिया अघि बढाउन सकिने।
नागोया घुम्ती सेवाका लागि मार्च २४, २०२६ बाट Pre-enrollment Booking खुला गरिनेछ। दूतावासमा आउँदा भने अग्रिम बुकिङ आवश्यक नपर्ने उल्लेख गरिएको छ।दूतावासले राहदानीको सक्कल तथा अपलोड गरिएका कागजातहरूको फोटोकपीसहित Live Enrollment गर्न तोकिएको मिति र समयमा अनिवार्य उपस्थित हुन आग्रह गरेको छ।




