चीनले जापानी नागरिकलाई आफ्नो मुलुक प्रवेशका लागि भिसा दिन बन्द गरेको छ । चीनको यस्तो कदमपछि जापानले कडा बिरोध गर्दै तत्काल उक्त निर्णय फिर्ता लिन बेइजिङसँग माग गरेको छ ।
चीनमा कोरोनाका बिरामी बढेकाले त्यहाँबाट आफ्नो भूमिमा प्रवेश गर्ने चिनियाँ लगायत अन्यलाई कोभिड–१९ परीक्षणको नकारात्मक प्रतिवेदन प्रस्तुत गर्नुपर्ने बाध्यकारी नियम लगाएपछि चीनले पनि त्यसको प्रतिवाद गर्दै प्रवेशाज्ञा दिन बन्द गरेको हो ।

चीनले मङ्गलबार जापान र दक्षिण कोरियाली नागरिकलाई भिसा नदिने सूचना जारी गरेको थियो । जापानले चीनको उक्त निर्णयलाई प्रतिशोधात्मक एवम् खेदजनक कदम भनेको छ ।
टोकियोले कूटनीतिक माध्यमबाट चिनियाँ निर्णयको विरोध गर्दै तत्काल निर्णय सच्च्याउन माग गरेको सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बताउनुभयो ।
सोलस्थित चिनियाँ दूतावासले मङ्गलबार अनलाइन पोस्ट गरेको सङ्क्षिप्त सूचनाअनुसार दक्षिण कोरियाली नागरिकलाई पर्यटन वा व्यापारको लागि चीन जाने प्रवेशाज्ञा निलम्बन गरिएको छ ।
चीनबाट कोरिया जान चाहने यात्रीले बितेका ४८ घण्टामा कोरोना सङ्क्रमण नभएको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेपछि चीनले संसारका सबै देशसँगै त्यसैअनुरुप व्यवहार गर्ने बताएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोभिड–१९ को प्रकोपको स्थितिबारे वास्तविक तथ्याङ्क नदिएको आरोप बेइजिङमाथि लगाएको छ भने पछिल्लो समय अमेरिकालगायत दर्जनौँ देशले चीनबाट आफ्ना भूमिमा आउन चाहने चिनियाँसहित जुनसुकै देशका नागरिकले आफूलाई कोरोना सङ्क्रमण नभएको पुष्टि गर्ने प्रयोगशाला प्रतिवेदन पेश गर्नुपर्ने प्रावधानलाई अनिवार्य गरेको छ ।
महामारीका बीच चीनले गत महिना अचानक कोभिड–१९ नियन्त्रणसम्बन्धी उपाय हटाएपछि विश्वसमुदाय सशङ्कित भएको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनमा कोरोना महामारीमा परी धेरै नागरिकको ज्यान गएको जनाएका थिए ।
केही साताअघिसम्म कठोर नियम कार्यान्वयन गराएको विरोधमा देशका प्रमुख शहरहरूमा विरोध प्रदर्शन भएका थिए । कलकारखाना बन्द गर्ने घरबाहिर निस्कन नपाउने नियमको विरोधमा सर्वसाधारण उत्रिएका थिए ।
Share



