जापान । आफ्नो अनि परिवारको सुन्दर भविश्यको लागि मिहेनत गर्न जापान आएको एक नेपालीले जापानमा नै आत्माहत्या गर्यो रे भन्दा कस्को मन अमिलो नहोला। विश्वकै बिकसित मात्र होइन,विश्वकै धेरै मानिसहरुले आत्माहत्या गर्ने जापानमा नेपालीहरुको पनि आत्माहत्या गर्ने क्रम वढेपछि सबैलाई चिन्तित बनाएको छ।
पछिल्लो समय केहि दिन बिराएर नेपालीहरुले जापानमा आत्माहत्या गर्न थालेपछि उनिहरुको आफन्तहरुमा झनैं पिढा मात्र बढाएको छ। मरेर जाने त गईहाल्यो , बाँचेका उक्का आफन्त तथा ईष्टमित्र लाई कति पिडा होला ? अनि कुनै पनि समस्याको समाधान आत्माहत्या पनि होईन नि। जापानमा नेपालीहरु आउने क्रम बढे संगै आत्माहत्या गर्ने क्रम पनि बढेको छ। पछिल्लो तथ्याङ्क अनुसार जापानमा नेपालीको संख्या १ लाख ४० हजार पुगि सकेको छ। यो अझैं तिब्र गतिमा बढ्ने क्रममा छ।

गत हप्ता ओकिनावाको नाहामा अध्ययनका शिलाशिलामा बस्दै आएका नेपालको दाङ तुल्सीपुर उपमहानगरपालिका-३ का २२ वर्षीय युवा खिम बुढामगरले आफ्नै कोठामा ज्यान लिएका छन्। उनि जापानको भाषा विद्यार्थीको रुपमा लागि आएका थिए ।होस्टेलमा साथीहरूसंगै बस्दै आएका बुढामगरलाई मृत अवस्थामा कोठामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो । घटनाको प्रकृति हेर्दा आत्माहत्या गरेको भनिएको छ।
त्यस्तै म्याग्दी जिल्ला मंगला गाउपालिका ४ बरङजा निवासी वर्ष ३१ को अर्जुन रोका मगर बिगत ७ बर्षदेखि जापानको ओसाका स्थित एक कम्पनिमा कार्यरत आफ्नै कोठामा आत्माहत्या गरे । उनि शुरुमा विद्यार्थी भिषामा जापान आएका थिए। उक्त घटना गत जुन २७ को थियो।
त्यस्को केहि हप्ता अघि मात्र विद्यार्थी भिषामा जापान आएको दुई हप्ता पनि नपुग्दै एक जना नेपाली विध्यार्थीले जापानको नागोयामा अकालमा ज्यान गुमाए । उनको मृत्यूको कारण पनि आत्माहत्या भनिएको छ। नागोया स्थित ईएसएल जापानी भाषा स्कुलमा अध्ययनका लागि आएका थिए।
जापानकै मियाजाकिमा श्रीमान् संगै बस्दै आएकी सुत्केरी महिला आश्मा श्रेष्ठले झुण्डिएर आत्माहत्या गरिन । नेपालको सिन्धुपाल्चोककी उनको एक महिनाको काखे छोरी पनि थिइन।
विद्यार्थी भिषामा जापान आएकी उनले अर्को विद्यार्थी दिपक नेपाली संग प्रेम पश्यात विवाह गरेकी थिइन। त्यस पछि आश्मा डिपेन्डेन भिषामा रहेकी थिईन । के कारण उनले आत्माहत्या गरिन त ? अहिले सम्म त्यस्को कारण खुलिसकेको छैन। अन्तरजाति विवाहका कारण उनले आत्माहत्या गरेकी हुन् त ? काखे बालक छोडेर आत्माहत्या गर्नु किन पर्यो ?
त्यस अघि मात्रै जापानकै नागोया शहरमा वाग्लुङ्गका ३७ बर्ष का मधु आचार्यले पनि झुण्डिएरनै आत्माहत्या गरेका थिए। उनकी श्रीमति जापानमै थिइन भने ५ वर्षिय छोरी भने नेपालमा छिन् ।
केहि महिना पहिला पनि नागोयामा विध्यार्थी भिषामा आएका युवकले पनि झुण्डिएरनै आत्माहत्या गरेका थिए। अध्ययनकै शिलशिलामानै जापानको फुकुओकामा आएकी टिना गुरुङले पनि आत्माहत्या गरेकी थिइन। काठमाडौंका जोन लामाले टोकियोमा आफु वस्दैं आएको कोठामानै झुण्डिएर आत्माहत्या गरेका थिए। टोकियोमानै विध्यार्थीको रुपमा आएकी सानुकुमारी तमाङ्गले पनि झुण्डिएरै आत्माहत्या गरिन । आफन्तको आग्रह अनि जापानमा रहेका नेपाली समुदायको पहल अनि सहयोगका उनको शव नेपाल लगि अन्तिम संस्कार गरिएको थियो । खर्चिलो हुने हुदाँ धेरैले शव नेपाल लैजान सक्दैनन ।
जापानमा बिभिन्न कारणले मृत्यु भएका नेपालीको शव नेपाल लैजाने व्यवस्था एनआरएनए जापानले गर्ने भनिए पनि अझैं सम्म त्यो काम हुन सकेको छैन। जापानमानै मृतकको अन्तेष्टि गर्न पनि कम झन्झटिलो छैन। मृतकको आफन्तको स्कृतिको पत्र देखि जापानमा धेरै प्रकृया पुरा गर्न पर्ने हुन्छ।
जापानमा आत्माहत्या गर्ने प्रायले झुण्डिएर र धेरै विद्यार्थी रहेको तथाङ्ग रहेको छ। विश्वमा नै आत्माहत्याका कारण टाउको दुखाईको विषय बनेको अवस्थामा जापानमा नेपाली समुदायलाई पनि नेपालीहरुको आत्माहत्या गर्ने संख्या बढ्दै जादाँ चिन्ताको विषय बनेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वमा १० लाख मानिसले आत्माहत्या गर्ने गर्छन । विश्वको जनसंख्यालाई हेर्ने हो भने प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिको आत्माहत्याका कारण मृत्यु हुने गर्छ।
आत्माहत्याको मुख्य कारण मानसिक समस्याले हुने एक अध्ययनले देखाएको छ। डा कमल गौतमका अनुसार ९५ प्रतिशत आत्माहत्या गर्ने मानिसहरु कुनै न कुनै प्रकारको मानसिक रोग हुने गरेको छ।
जापानको सन्दर्भमा यहा सोचे झैं धेरै कमलाई मात्र हुने गर्छ। जापान आउनु अघि हामीहरु ठूलो सपना बुनेर आएका हुन्छौं। सानोतिनो खर्चले जापान आईदैन। धेरै ऋण खोजेर जापान आएका धेरै छन्। भने जस्तो नभएपछि पारिवारिक कलह पनि शुरु हुने ,नैरस्यता उत्पन हुने र मानिस आत्माहत्या सम्म गर्न पुग्छन ।
जस्तो सुकै समस्या आउदा पनि धैर्यता अनि आत्मा विश्वासका साथ अघि बढे यस्ता समस्याबाट पार पाउन सकिन्छ । तपाई हामी अनि हाम्रा निकटका व्यक्तिहरु पनि आत्माहत्याको शिकार हुन सक्ने हुदाँ सबै समयमै सचेत हुन जरुरी छ।नेपालमा कल्पना गरिएको जापान र वास्तविक जापानबीचको असन्तुलनका कारण नेपालीले जापानमा आत्महत्या रोजिरहेका हुन सक्छन।
जापान आउनु अघि यहाँ पर्न सक्ने समस्या ,गर्न पर्ने संघर्षका बारेमा सचेत हुन जरुरी छ। आशा गरौं ,नयाँ वर्ष २०८० देखि जापानमा कुनै पनि नेपालीको आत्माहत्याका कारण मृत्यु भयो भनेर सुन्न नपरोस् ।
Share



