चितवनकी बालिका शालीन पोखरेलको आत्महत्या दुरुत्साहनको अभियोग लागेका प्राचार्यसहित तीन शिक्षक लाई सफाइ

Share
7Shares

✍️प्रतिमा सिलवाल /चितवन 

एकता शिशु निकेतनमा २०८० फागुन १२ मा आत्महत्या गरेकी छात्रा शालीन पोखरेलको आत्महत्या दुरुत्साहनको अभियोग लागेका प्राचार्यसहित तीन शिक्षकले सफाइ पाएका छन् ।विद्यालयको छात्रावासमा बसेर पढ्दै आएकी बालिका पोखरेलले गरेको आत्महत्यामा विद्यालयका प्राचार्य, होस्टल वार्डेन र शिक्षकको कुनै भूमिका नरहेको, आत्महत्या दुरुत्साहनको अभियोग पुष्टि नहुने भन्दै जिल्ला अदालत चितवनले तीन शिक्षकलाई सफाइ दिएको हो । सफाइ पाउनेमा प्राचार्य बालहरी देवकोटा र दुई शिक्षक किरणबहादुर अधिकारी र किरणप्रसाद शर्मा छन् ।

२०८१ चैत ४ गते नै फैसला भएपनि पूर्णपाठ भने केही दिनअघि मात्रै आएको हो । जिल्ला अदालत चितवनका न्यायाधीश ध्रुवकुमार ढकालको एकल इजलासले गरेको फैसलामा मृतक १५ वर्षकी बालिका पोखरेलका बाबु दीपेन्द्र पोखरेल र उनी पक्षका कानून व्यवसायीले गरेका बलात्कारपछि हत्याको आरोप शंकाको आधारमा लगाइएको  भनिएको छ । भने, जिल्ला सरकारी वकिल कार्यालयले लगाएको अभियोजन आत्महत्याको दुरुत्साहन पुष्टि हुने कुनै स्वतन्त्र प्रमाण नभएको भन्दै सफाइ दिने फैसला गरिएको छ ।

के थियो घटना ?

चितवनको रत्ननगर नगरपालिकाको-१० मा रहेको एकता शिशु निकेतनमा २०८० सालको फागुन १२ गते १५ वर्षकी विद्यार्थी शालीन पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । विद्यालयको होस्टलमा बस्दै आएकी ती बालिकाका परिवारले शिक्षकहरुले जबरजस्ती करणीपछि हत्या गरेको आरोप लगाए, नाराजुलुस गरे ।चितवनको प्रहरीले विद्यालयका प्राचार्यसहितका शिक्षकलाई बलात्कारको अभियोगमा जाहेरी लिन नमानेको आरोपमा चितवनका काठमाडौंमा समेत नाराजुलुस तथा प्रदर्शन, पत्रकार सम्मेलन भयो । चितवनको भरतपुर अस्पतालमा पोष्टमार्टम गर्दा विश्वसनीय नहुने भन्दै पोखरेलका परिवारले काठमाडौंको टिचिङ अस्पतालमा बालिकाको शव लगेर पोष्टमार्टम गरे ।

उनीहरूले अन्तिमसम्म पनि विद्यालयका प्राचार्य, होस्टल वार्डेन र बालिकाका कक्षा शिक्षकले  हत्या गरेको आरोप लगाए । लामो दबाब र रस्साकस्सी पछि प्रहरीमा बाबु दीपेन्द्र पोखरेलले बलात्कारपछि हत्याको अभियोगसहित जाहेरी दिए ।सोही आधारमा प्राचार्य बालहरी देवकोटासहित शिक्षक किरणबहादुर अधिकारी र कमलप्रसाद शर्मालाई प्रहरीले हिरासतमा लियो । तर, जिल्ला सरकारी वकिल कार्यालय चितवनले प्रहरी अनुसन्धान प्रतिवेदनबाट बलात्कारपछि हत्याको पुष्टि हुने आधार नभएको भन्दै आत्महत्या दुरुत्साहनको अभियोग लगाएर जिल्ला अदालत चितवनमा २०८० चैत ४ गते मुद्दा दायर गर्‍यो ।परिवारका सदस्यले भने सरकारी वकिलको अभियोजनमा नै प्रश्न उठाएका थिए । निवेदक बाबु दीपेन्द्र पोखरेलले प्रहरी बयान र अदालतको बकपत्रमा पनि आफ्नी छोरीको बलात्कारपछि हत्या भएको आरोप लगाएका थिए ।

मुद्दा दर्ताको वर्ष दिनपछि २०८१ चैत ११ गते जिल्ला अदालत चितवनले मुद्दाको फैसला गरेको छ । जिल्ला तीनजना शिक्षकहरूविरुद्ध बालिकाकाका परिवारले लगाएको जस्तो बलात्कारपछिको हत्यामात्रै होइन सरकारी वकिल कार्यालयले लगाएको आत्महत्या दुरुत्साहनको अभियोग पनि पुष्टि हुने आधार नभएको जिल्ला अदालतले फैसला गरेको छ ।जिल्ला अदालत चितवनको न्यायाधीश ध्रुवकुमार ढकालको एकल इजलासले गरेको फैसलाको पूर्ण पाठमा भनिएको छ, अनुसन्धान प्रतिवेदन, घटना विवरण मुचुल्का, शव पोष्टमार्टम रिपोर्टले आत्महत्या दुरुत्साहन पुष्टि गर्दैन । बाबु दिपेन्द्र पोखरेलले शंका र अनुमानको आधारमा बलात्कारपछि हत्याको आरोप लगाएका देखिन्छ । र, आत्महत्या दुरुत्साहनमा अभियोजन पनि पुष्टि हुने कुनै स्वतन्त्र प्रमाण देखिँदैन ।

फैसलामा अदालतले लिएका ७ आधार

जिल्ला अदालत चितवनकै फैसला अनुसार सर्वोच्च अदालतले अहिलेसम्म आत्महत्या दुरुत्साहनमा नजिर स्थापित गरेको छैन । त्यसैले यस मुद्दामा अपराध संहिता २०७४ को दफा ३५ मात्रै आकर्षित हुन्छ र सोही आधारमा फैसला गर्नुपर्ने फैसलामा उल्लेख छ ।जिल्ला अदालत चितवनले ७ वटा आधार उल्लेख गरी आत्महत्या दुरुत्साहन पुष्टि नहुने फैसला गरेको देखिन्छ । जसमा पीडित बालिकाका परिवारले बयानमा बलात्कारपछि आत्महत्या आरोप लगाएपनि प्रहरी बयानदेखि अदालतको बकपत्रसम्म तीन शिक्षकले पूर्ण रुपमा इन्कारी बयान दिएका छन् ।दोस्रो नम्बरमा बाबुआमा दुबै विदेशमा रहेको हजुरआमाले रेखदेख गर्ने गरेको उल्लेख छ । बाबु दिपेन्द्र पोखरेलले २०८० कात्तिकमा मोबाइल बैंकिङबाट एकपटक मात्रै पैसा बुझाएको उल्लेख छ । विद्यालयका कर्मचारी शिक्षक तथा वार्डेन सबैले विद्यार्थीलाई शारीरिक तथा मानसिक यातना नदिने बयान दिएको उल्लेख छ । अदालतले ६ जना साथी र ११ जनाको बयान लिएको थियो ।

अर्को आधार भने मृत्युको प्रकृति, घटनास्थलको मुचुल्का, शालीनको डायरीले पनि आत्महत्याको लागि दुरुत्साहन नगरेको ठहर गरिएको छ । अस्पतालले दिएको शवको पोर्टमार्टम रिपोर्टलाई लिइएको आधारमा बायाँ गालामा ददारिएको जस्तो २ वटा चोट, दुबै आँखा बन्द, चस्मा लगाइ राखेको, घाँटीमा भी सेपको डोरीको डाम, मलद्वारबाट दिसा र योनीबाट पिसाव निस्किएको, शव परीक्षणको रिपोर्टबाट पनि झुण्डिई आत्महत्या भएकोमा विवाद छैन भनिएको छ । सोही बुँदामा चाउचाउ चोरी गरेको भेटिएपनि साथीहरुले कतै उजुरी नगरेकाले आत्महत्याको दुरुत्साहन भन्न नमिल्ने उल्लेख गरिएको छ ।

अर्को महत्वपूर्ण आधारको रुपमा विशेषज्ञबाट जाँच गरेर शालीनकै भनि पुष्टि गरिएको डायरी नोटलाई लिइएको छ । जहाँ शालीनले रोमन अक्षरमा, सरी एभ्रीबडी मैले अहिलेसम्म जति पनि गल्ती गरेँ, मेरो मम्मीबाबा लाई याद गर्‍याछे भन्दिनू । आइएम सरी, लेखेकी थिइन् ।त्यतिमात्रै होइन उनले लेखेको नोटबुकको दुईवटा पेज जहाँ तीजमा घर जान नपाएको र आमासँग पैसा नभएको बुबासँग माग्नुपर्ने उल्लेख छ । त्यतिमात्रै होइन फैसलामा उल्लेख भएअनुसार उनले आफ्नो दुःखको कारणमा उल्लेख गरेका ७ जनाको नाममा एकजना आफ्नै बाउ लेखेकी छिन् । बाबुआमाको सम्बन्ध विच्छेद भएको र दुबैजना विदेश बस्ने भएकोले पारिवारिक परिस्थितीबाट बालिका विचलित भएको हुनसक्ने उल्लेख छ ।र, बाबु दीपेन्द्र पोखरेलले लगाएको आरोपलाई स्वभाविक रुपमा लिँदै आरोपको भार पुष्टि गर्ने कागजात वादी पक्षले जुटाउनुपर्ने भएपनि बाबु दीपेन्द्र पोखरेलकाे बकपत्र बाहेक अरु केही प्रमाण जुटाएको नपाइएको उल्लेख फैसलामा गरिएको छ । मृत्युको कारण पोष्टमार्टमा रिपोर्टले ह्याङ्गिङ भनेकोले त्यसबाहेक पुष्टि गर्ने स्वतन्त्र प्रमाण नभएको उल्लेख गर्दै तीन शिक्षकलाई सफाइ दिने फैसला गरिएको उल्लेख छ

Share
7Shares
Advertisment