आर्थिक पारदर्शिता र ’समृद्ध कोष’ मा भेषनाथ गौतमको जोड

Share
18Shares

नागोया । सन् १९७३ साल डिसेम्बर २ गते बागलुङ जिल्लाको गलकोटमा जन्मिनु भएका भेषनाथ गौतमले जीवनका हरेक पाइलामा संघर्षलाई अंगालेका छन् । उनी जापानमा कृष्णका नामले झनै परिचित छन् । सन् २००० सालतिर जापान प्रवेश गर्नुअघि उनले करिब ११ वर्ष भारतमा बसेर जीविकोपार्जन गरे । सुरुवाती दिनहरूमा भाडा माझ्ने काम गरेका गौतम, मेहनत र लगनशीलताको कारण हेड सेफको जिम्मेवारीमा पुग्न समेत सफल भए ।
जापान आउनु पछिको जीवन अझ चुनौतीपूर्ण थियो उनको । यहाँको भाषा, संस्कृति र परिवेशमा घुलमिल हुन सुरुमा उनले शौचालय सफाइजस्ता कठिन कामबाट जीवन यात्रा अगाडि बढाए । तर, उनले त्यसलाई आत्मगौरवका साथ स्वीकार्दै जापानमा शिक्षादेखि व्यवसायसम्मको अनुभव आर्जन गरिसकेका छन् ।
लगातारको श्रम, प्रतिबद्धता र दृढ इच्छाशक्तिका कारण अहिले उनी जापानमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन् । जापानको गलकोट समाजमा सामान्य सदस्यको रूपमा संलग्न भएका गौतम पछि सचिव पदसम्मको जिम्मेवारी सम्हाल्दै सामाजिक नेतृत्वमा पनि उत्तिकै सक्रिय रहेका छन् ।
उनको जीवन यात्रा मेहनत, समर्पण र निरन्तर संघर्षको प्रेरणादायी कथा हो, जसले देश–विदेशमा रोजगारी, व्यवसाय र सामाजिक सेवामा लाग्न चाहने युवाहरूलाई मार्गदर्शन प्रदान गर्न सक्छ ।
उम्मेदवारी घोषणा
समाजसेवामा लाग्दैगर्दा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि सहकोषाध्यक्ष पदमा समाजसेवी भेष नाथ गौतम (कृष्ण) ले उम्मेदवारी घोषणा गरेका छन् ।
उनी हाल एनआरएनए जापानको नागोया संयोजकका रूपमा कार्यरत भएर निवर्तमान भएका छन् ।
गौतमले आर्थिक पारदर्शिता र दीर्घकालीन वित्तीय स्थायित्व सुनिश्चित गर्न ’समृद्ध कोष’ स्थापना, कोष व्यवस्थापनमा पारदर्शिता, र डिजिटल प्रणालीमार्फत आर्थिक अभिलेखीकरणलाई प्राथमिक एजेन्डा बनाउँदै उम्मेदवारी घोषणा गरेका हुन् ।
पृष्ठभूमि र अनुभव
जापानमा करिब २५ वर्षदेखि स्थायी रूपमा बसोबास गर्दै आएका गौतम सन् (२०१९–२०२१ मा एनआरएनए नागोया सदस्य र २०२१–२०२३ मा उपसंयोजकका रूपमा पनि क्रियाशील रहिसकेका छन् । यसैले उनी एनआरएनएको सेवामा अनुभवी व्यक्तित्वका रुपमा चिनिन्छन् ।
सामाजिक गतिविधिमा लामो समयदेखि संलग्न उनी पछिल्लो दुई वर्षदेखि नागोया क्षेत्र संयोजकका रूपमा कार्यरत रहँदै आएका थिए ।
उनको नेतृत्व र सहकार्यमा नेपाल फेस्टिवल नागोया २०२४, नेपाली दूतावाससँगको ‘घुम्ती सेवा’ (२०२४ र २०२५), जापानी भाषा कक्षा (कुक र डिपेन्डेन्टहरूका लागि), तथा छात्रवृत्ति कार्यक्रमहरू सञ्चालनमा आएका थिए ।
कार्ययोजना सार्वजनिक
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सहकोषाध्यक्ष पदका उम्मेदवार भेष नाथ गौतमले निर्वाचनमा निर्वाचित भएपछिका लागि आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् ।
उनले संघको आर्थिक र प्रशासनिक कामकाजलाई थप पारदर्शी, उत्तरदायी र सबै सदस्यसम्म पहुँच हुने बनाउने लक्ष्यसहित विभिन्न प्रस्ताव अघि सारेका छन् ।
गौतमका अनुसार, आर्थिक कारोबारलाई कागजी प्रक्रिया भन्दा बाहिर ल्याई डिजिटल प्रणालीमार्फत सुरक्षित रूपमा रेकर्ड गर्ने व्यवस्था गरिनेछ । साथै, कोषको आम्दानी र खर्चको विवरण समय–समयमा सार्वजनिक गरिने छ, जसबाट सदस्यहरूलाई संस्थाको आर्थिक स्थिति बुझ्न सजिलो हुने उनले बताएका छन् ।
संघको आर्थिक सबलीकरणका लागि ‘समृद्ध कोष’ स्थापना गर्ने योजना पनि उनको कार्ययोजनामा उल्लेख गरिएको छ । गौतमका अनुसार, यो कोष आपतकालीन अवस्था, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको हो ।
त्यस्तै, जापानका १२ वटै क्षेत्रसँग सहकार्य गर्दै संघका कार्यक्रम र बजेटलाई समावेशी रूपमा सबै क्षेत्रमा वितरण गरिने उनले बताएका छन् । यसले केन्द्रिकृत निर्णय प्रणालीलाई हटाई क्षेत्रीय सदस्यहरूलाई पनि सक्रिय बनाउने विश्वास गरिएको छ ।
गौतमले सदस्यता सम्बन्धी काम, आर्थिक विवरण र सहयोगका लागि गर्नुपर्ने आवेदन प्रक्रिया समेत अनलाइन प्रणालीबाट सहज तरिकाले गर्न मिल्ने बनाउने योजना पनि प्रस्तुत गरेका छन् । उनका अनुसार, यसबाट समय बचत, सजिलो पहुँच र प्रणालीमा विश्वास बढ्ने छ ।
त्यसैगरी, संघको कोष व्यवस्थापनमा कडा निगरानी, स्पष्ट कार्यविधि र उत्तरदायी प्रणाली लागू गरिने उल्लेख छ । उनका अनुसार, सबै आर्थिक निर्णयहरू दस्तावेजमा आधारित, खुला र सहमतिमा आधारित हुनेछन् ।
उम्मेदवारी घोषणासँगै सार्वजनिक गरिएको उक्त कार्ययोजना एनआरएनए जापानको संघीय संरचना र वित्तीय प्रणालीलाई सजिलो, पारदर्शी र समावेशी बनाउनेतर्फ लक्षित गरिएको देखिन्छ ।
निर्वाचन तयारी
एनआरएनए जापानको आगामी कार्यकालका लागि निर्वाचन यही जुलाइ २७ मा सम्पन्न हुने तयारीमा रहेको छ ।
गौतमले आफ्नो सहकोषाध्यक्ष पदको उम्मेदवारीलाई योजनाबद्ध, अनुभवी र दीर्घदृष्टियुक्त नेतृत्वको एक विकल्पका रुपमा प्रस्तुत गरेका छन् ।

Share
18Shares
Advertisment