नेपाल पत्रकार महासंघ जापान साखाद्वारा ‘प्रवास पत्रकारिता पुरस्कार’ स्थापना

Share
6Shares

टोकियो / जापान

नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १५औँ स्थापना दिवस आगामी मार्च १५ तारिखमा मनाइने अवसर पारेर १० लाख येन राशिको ‘पत्रकार कल्याण कोष’ र ५० हजार रुपैयाँ राशिको ‘प्रवास पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको हो ।शाखाको हालै सम्पन्न दोस्रो बैठकले प्रवासमा सक्रिय पत्रकारहरूको पेशागत सुरक्षा र प्रोत्साहनलाई केन्द्रमा राख्दै यी योजनाहरू अघि सारेको हो । प्रवासमा रहेका पत्रकारहरूको हित र सुरक्षालाई प्राथमिकता दिँदै महासंघले १० लाख जापानी येन बराबरको ‘पत्रकार कल्याण कोष’ सञ्चालनमा ल्याउने नेपाल पत्रकार महासंघ जापान साखाका अध्यक्ष रबिन्द्र गोर्खालीले जानकारी दिए।। पत्रकारहरूको स्वास्थ्य उपचार, आकस्मिक दुर्घटना, विपद् तथा आपतकालीन अवस्थामा आर्थिक सहयोग पुर्‍याउने लक्ष्यसहित यो कोष स्थापना गरिएको हो ।कोष सञ्चालनका लागि निवर्तमान अध्यक्ष शान्त पहरीको संयोजकत्वमा तयार पारिएको कार्यविधिलाई आवश्यक संशोधन सहित बैठकले पारित गरेको छ । कोषलाई दीर्घकालीन र प्रभावकारी बनाउन जापानस्थित नेपाली संघ-संस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई सहयोगका लागि महासंघले अपिल समेत गरेको छ ।

प्रवासमा रहेर नेपाली पत्रकारितामार्फत समुदाय र देशका लागि योगदान पुर्‍याउने सञ्चारकर्मीलाई सम्मान गर्न ‘प्रवास पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ । ५० हजार नेपाली रुपैयाँ राशिको यो पुरस्कार स्थापना दिवसकै दिन प्रदान गरिनेछ । पुरस्कारलाई पारदर्शी, मर्यादित र व्यवस्थित बनाउन पत्रकार खगराज गौतमको संयोजकत्वमा दिनेश कुमार थपलिया र इन्दिरा खनाल सदस्य रहेको तीन सदस्यीय मापदण्ड निर्धारण समिति गठन गरिएको छ । समितिले तयार पार्ने कार्यविधिका आधारमा पुरस्कार प्रदान गरिने महासंघले जनाएको छ ।

आगामी मार्च १५ मा आयोजना हुने १५औँ स्थापना दिवसलाई भव्य रूपमा सम्पन्न गर्न सचिव अर्जुन लामिछानेको संयोजकत्वमा विशेष तयारी उपसमिति गठन गरिएको छ । उपसमितिमा दिनेश थापा, रामचन्द्र गिरी, दुर्गा आचार्य र भवानी भट्ट सदस्य रहेका छन् ।

बैठकले जापानमा रहेका नेपाली समुदायका मुद्दा, सफलता र समस्याहरूलाई उजागर गर्न विश्लेषणात्मक तथा तथ्यपरक लेखनलाई प्राथमिकता दिने निर्णय गरेको छ । यसका लागि उपाध्यक्ष मनिषा चम्लागाईंको संयोजकत्वमा फुर्वा शेर्पा र भुवन भण्डारी सदस्य रहेको सम्पादन मण्डल गठन गरिएको छ । महासंघले विभिन्न विज्ञ तथा पत्रकारहरूलाई लेख-रचना उपलब्ध गराउन आग्रह गर्दै ती सामग्री आधिकारिक फेसबुक पेज र वेबसाइटमार्फत प्रकाशन गर्ने जनाएको छ ।

Share
6Shares
Advertisment