टोकियो / जापान


प्रवासी नेपाली मञ्च (ओएनएफ) जापानको २२औँ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सन् २०२६–२०२९ कार्यकालका लागि बाबुराम भण्डारीको अध्यक्षतामा नयाँ राष्ट्रिय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ।सेप्टेम्बर २० तारिख टोकियोमा सम्पन्न अधिवेशनको बन्द सत्रमा कुल ३६१ प्रतिनिधिमध्ये २३० जना उपस्थित थिए। बन्द सत्र सञ्चालनका लागि सुरेश के.सी.को अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको थियो, जसमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा जापान इन्चार्ज डा. सरोज कँडेल र सिद्धार्थ श्रेष्ठ सदस्य रहेका थिए।

अधिवेशनमा राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनहरू छलफलपछि सर्वसम्मत रूपमा पारित गर्नुका साथै नेपाल–जापान सम्बन्ध, जापानस्थित नेपाली समुदायका समस्या, नेपाली कला–संस्कृतिको प्रवर्द्धन, ज्ञान तथा अनुभव आदानप्रदान, युवा अवसर, संघ–संस्थाबीच सहकार्य, प्रवासी नेपालीको मताधिकार तथा विपद् प्रभावित क्षेत्रको पुनर्स्थापनालगायत विषय समेटिएका ११ बुँदे समसामयिक प्रस्ताव पारित गरिएको छ।

नयाँ नेतृत्व चयनका लागि सहमतिलाई प्राथमिकता दिँदै अध्यक्ष मण्डलले सेप्टेम्बर २०, २१ र २२ तारिख नेतृत्वका आकांक्षीहरूबीच चरणबद्ध छलफल तथा समन्वय गरेको थियो। अन्ततः सहमतिका आधारमा बाबुराम भण्डारीको अध्यक्षतामा २३ सदस्यीय कमिटी निर्माण गरिएको हो।नयाँ कमिटीको उपाध्यक्षमा महेन्द्र कुमार अधिकारी, सचिवमा बुद्धिराज लामा गोले तथा उपसचिवमा अर्जुन आचार्य र ममता विश्वकर्मा चयन भएका छन्। विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन् भने समावेशीताका आधारमा थप चार सदस्य मनोनयन गर्ने व्यवस्था गरिएको छ।
Share



