टोकियो ।
जापानमा बेला बेलामा अनौठा खालका चोरी हुन्छ । कुनै हाँसो उठ्दो अनि कुनै चाँहि पत्याउने गाह्रो हुन्छ । सोमबार बिहान राजधानी टोकियोको ईकेबुकुरोमा ग्यास चेकजाँच गर्ने निहँु बनाउँदै एउटा अपार्टमेन्टभित्र छिरेर चोरी गरिएको छ । यस घटनामा चोरहरुले अपार्टमेन्टभित्र कोठामा रहेका दुई पुरुष र महिलालाई बाँधेर १० लाख येन नगद चोरेर भागेको भन्दै स्थानीय सञ्चार माध्यमहरुले समाचार छापेका छन् । टोकियो महानगरीय प्रहरी विभागले यो घटनामा संलग्न व्यक्तिहरुमाथि छानबिन गरिरहेको छ ।

यो घटना बिहान साढे ९ बजे आसपास तोशिमा वडाको ईकेबुकुरो स्टेशन नजिकैको एक अपार्टमेन्टको हो । संदिग्धहरु पाँच जनाको समूहमा हूल बाँधेर आएका थिए । उनीहरुले अर्पाटमेन्टमा छिरेर ४० देखि ४९ वर्षबीचका एक पुरुष र ३० वर्षदेखि ३९ वर्ष बीचकी महिलाको जिप टाईले हात खुट्टा बाँधेर पैसा लुटेका थिए । चोरहरुलाई रोक्ने क्रममा पुरुषलाई चोट लागेको अनि उनी अस्पताल लैजाँदासम्म बेहोसै भएको बताइएको छ ।
संदिग्धहरु चिनियाँ नागरिक भएको आशंका गरिएको छ । उनीहरुले ग्यास चेक गर्न आउने व्यक्तिहरुले लगाउने जस्तै लुगा लगाएका थिए । प्रहरीका अनुसार चोरिएका सामानहरुमा १० लाख येन नगद, बैंकको पासबुक, मोबाइल फोन आदि थिए । यस घटनाबारे महानगरीय प्रहरी विभागले छानबिन गरिरहेको बताइएको छ । जापानमा बेला बेलामा छद्मभेषमा कहिले प्रहरी त कहिले बैंकका कर्मचारी हुँ भन्दै सोधपूछ गर्ने बाहानामा चोरीका घटनाहरु बढेका छन् ।
Share



