एप्पलद्वारा आइफोन १५ सिरिज सार्वजनिक

Share
0Shares

एप्पलले आइफोन १५ सिरिज सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार एप्पल इभेन्टमार्फत आइफोन १५ सिरिज सार्वजनिक गरेको हो।एप्पलको आइफोन १५ विश्व बजारको निकै प्रतिक्षित सिरिज हो। क्यालिफोर्निया स्थित स्टिभ जब्स थियटरमा भएको एप्पल इभेन्टको यस वर्षको ट्यागलाइन ‘वन्डरलस्ट’ रहेको थियो।

कम्पनीले आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी चार मोडल सार्वजनिक गरेको छ। कम्पनीले यही शुक्रबारदेखि प्रि-अर्डर समेत सुरू गर्ने बताएको छ।आइफोन १५ सिरिजसँगै कम्पनीले एप्पल वाच अल्ट्रा २ र एप्पल वाच सिरिज ९ पनि सार्वजनिक गरेको छ। एप्पलले आइफोन १५ सिरिज र एयरपड्स प्रो डिभाइसहरूमा युएसबी-सी चार्जिङ केबल प्रदान गर्ने बताएको छ।

सार्वजनिक गरिएको नयाँ आइफोन १५ सिरिजअन्तर्गतको आइफोन १५ र आइफोन १५ प्लस १२८ जिबी, २५६ जिबी र ५१२ जिबीमा उपलब्ध हुनेछ। आइफोन १५ प्रो यीबाहेक १ टिबी स्टोरेज क्षमता भएको भेरियन्टसम्म उपलब्ध हुनेछ भने आइफोन १५ प्रो म्याक्स २५६ जिबी स्टोरेज क्षमतादेखि १ टिबी क्षमतासम्मको भेरियन्टमा उपलब्ध हुनेछ।कम्पनीले आइफोन १५ को सुरुआती मूल्य ७९९ अमेरिकी डलर तोकेको छ। आइफोन १५ प्लसको सुरुआती मूल्य भने ८९९, आइफोन १५ प्रोको ९९९ र आइफोन १५ प्रो म्याक्सको मूल्य १,१९९ डलर तोकिएको छ।आइफोन १५ र आइफोन १५ प्लस दुवैमा २००० निट्सको पिक ब्राइटनेस सहित ओएलइडी सुपर रेटिना डिस्प्ले दिइएको छ।आइफोन १५ मा ६.१ इन्च र आइफोन १५ प्लसमा ६.७ इन्चको डिस्प्ले स्क्रिन दिइएको हो।

Share
0Shares
Advertisment