नारायणी किनारमा पहिलोपटक ‘राष्ट्रिय चिया प्रदर्शनी तथा टि टेस्टिङ’ हुने

Share
0Shares

चितवन – चितवनमा ‘राष्ट्रिय चिया प्रदर्शनी तथा टि टेस्टिङ’ कार्यक्रम हुने भएको छ । यही माघ २६ र २७ गते चितवनस्थित नारायणी नदी किनारमा पहिलोपटक नेपाली ‘चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ’ हुने भएको हो ।

आज (विहिबार) भरतपुरमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, काठमाडौँले ‘स्वदेशमा उत्पादित चिया पिउने गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ चियाको प्रदर्शनी गर्न लागेको जनाएको हो ।

सही चियाको सही रूपमा सेवन गर्न, चिया संस्कृतिको विकास गर्न, नेपाली चियाको आन्तरिक बजार प्रवद्धन गर्न, नेपालमा उत्पादित चियाको देश भित्रै खपत बढाउनुको साथै यसका फाइदाहरूको विषयमा जानकारी दिने उदेश्यले चिया प्रदर्शनी आयोजना गरिएको बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।

चिया प्रदर्शनी कार्यक्रममा चियाका मुख्य जिल्लाहरु झापा, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा,पाँचथर, सिन्धुपाल्चोक, ललितपुर, कास्की देखि पश्चिम सम्म उत्पादित चिया रहने छ ।

नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समय देखि कार्य गर्दै आएका निजि क्षेत्रमा आवद्ध चिया व्यवसायीहरुबाट उत्पादित चियाका ब्राण्डहरुको मुख्य रुपमा सहभागिता रहने सो कार्यक्रममा १०० भन्दा बढी चिया व्यवसायीहरुको सहभागिता रहने छ ।

चिया प्रदर्शनीमा आम नागरिकले चियाको स्वाद लिएर जानकारी हासिल गर्न सक्ने छन भने । चिया प्रदर्शनी कार्यक्रमले आगामी दिनमा नेपाली चियाको आन्तरिक बजार विस्तार गर्दै स्वदेशी चियामा उपभोक्ताहरू अझ बढी आकर्षित हुने विश्वास गरिएको निर्देशक भट्टराईले बताए ।

प्रदर्शनीको २६ गते विहान १० बजे कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुषालले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनी विहान १० बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ भने प्रदर्शनीमा प्रवेश शुल्क निःशुल्क गरिएको छ ।

यस प्रदर्शनीको सह–आयोजकमा उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन, चियासँग सम्बन्धित विभिन्न संघसंस्थाहरु रहेका छन् भने प्रवर्द्धकमा भरतपुर महानगरपालिका रहेको छ ।

Share
0Shares
Advertisment