टोकियो / जापान


जापानमा पनि महाशिवरात्री पर्व भव्य रूपमा मनाईने भएको हो।महाशिवरात्री पर्वको पावन अवसर पारेर बिहुँकोट समाज जापानले जापानका दुई प्रमुख शहरहरूमा विशेष धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली मौलिक कला, संस्कृति र हिन्दु धर्मको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी फेब्रुअरी १५ तारिखका दिन टोकियो र ओसाकामा भजन–कीर्तन तथा झाँकीसहितको आराधना कार्यक्रम तय गरिएको हो।
टोकियोको कामतास्थित चौतारो हलमा आयोजना हुने मुख्य कार्यक्रममा भगवान शिवको विधिपूर्वक पूजा–अर्चना, धौलागिरी भजन समूहको विशेष प्रस्तुति र शिव महिमा झल्किने झाँकीहरू प्रदर्शन गरिनेछ। समाजका अध्यक्ष टिकाराम कँडेलका अनुसार, विदेशमा रहेर पनि आफ्नो परम्परालाई जीवन्त राख्न कार्यक्रमलाई अझ व्यवस्थित बनाउन फणिन्द्र शर्मा सुवेदीको मुख्य संयोजकत्वमा एक विशेष व्यवस्थापन टोली गठन गरिएको छ।उक्त टोलीले यज्ञ मण्डप निर्माणदेखि पूजा व्यवस्थापनसम्मको सम्पूर्ण जिम्मेवारी सम्हाल्नेछ।धार्मिक विधिअनुसार सञ्चालन हुने यस पूजामा आचार्य हरि रिजाल मूल पुरोहितका रूपमा रहनेछन्। आयोजकका अनुसार शिवरात्रीको अवसरमा जापानवासी जो–कोही नेपाली नागरिकले कर्ताका रूपमा पूजामा सहभागी हुन वा दर्शन गर्न सक्ने खुल्ला व्यवस्था गरिएको छ। फेब्रुअरी १५ को दिउँसो ४ बजेदेखि सुरु हुने यो विशेष धार्मिक अनुष्ठान भोलिपल्ट बिहानसम्म निरन्तर सञ्चालन हुनेछ। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि भक्तजनहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
यसैबीच, टोकियोसँगै जापानको कान्साई क्षेत्रमा पनि सोही दिन महाशिवरात्री मनाउने तयारी गरिएको छ। बिहुँकोट समाज जापान कान्साई (ओसाका) समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले ओसाका क्षेत्रमा रहेका नेपालीहरूका लागि लक्षित गर्दै धार्मिक निष्ठाका साथ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए। जापानमा रहेका नेपाली समुदायका लागि शिवरात्री पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई सांस्कृतिक पहिचान र सामाजिक एकताको कडीका रूपमा स्थापित हुँदै गएको समाजले जनाएको छ।
Share



