विशेष महाधिवेशनमार्फत पुराना अग्रज नेताहरूको नेतृत्व अप्रासंगिक हुँदै गएको स्पष्ट सन्देश दिएका कांग्रेस सभापति गगन थापाले इतर समूहलाई थप राजनीतिक क्षति पुर्याइरहेका छन् ।निर्वाचन आयोगले विशेष महाधिवेशनलाई दिएको मान्यताविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि पार्टीमा समानान्तर गतिविधि गरिरहेको इतर समूहलाई थापाले झन् कमजोर बनाउँदै लगेका छन् ।
संस्थापनले इतर समूहलाई कमजोर बनाउने रणनीतिको सुरुवात २२ वैशाखमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरूको मनोनयनबाट सुरु गरेको थियो ।उपसभापति विश्वप्रकाश शर्माले डा. शेखर कोइरालानिकट प्रा.डा. गोविन्दराज पोखरेललाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेर इतर समूह निकटका व्यक्तिलाई पार्टीको मूलधारमा समेट्ने संकेत गरेका थिए ।त्यसको एक सातापछि सोमबार सभापति थापाले अझ ठूलो कदम चालेका छन् । उनले निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला निकटका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनयन गरेका छन् ।केन्द्रीय कार्यसमिति विस्तार गर्दा सभापति थापाले इतर समूहमा छुट्टाछुट्टै विचार समूहको नेतृत्व गरिरहेका नेताहरूसँग कुनै छलफल र सरसल्लाह गरेका छैनन् ।

केन्द्रीय सदस्य मनोनयनलाई संस्थापन पक्षले इतर समूहको एकता भित्रै फाटो पार्ने र उनीहरूलाई आन्तरिक रूपमा कमजोर बनाउने प्रयासका रूपमा विश्लेषण भइरहेको छ ।केन्द्रीय कार्यसमिति सदस्यहरूको मनोनयनका लागि सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छलफल नगरेको निकटस्थ नेताहरूको दाबी छ ।‘टिमको सल्लाह र सहमति बिना मनोनीत गरिएको हो । मनोनीत भएकाहरू आफैं गगन थापासँग मिलेर गएका बताईन्छ।नेता कोइरालाको सचिवालयले पनि बिना परामर्श केन्द्रीय सदस्यहरू मनोनीत गरिएको बताएको छ । ‘बिना परामर्श मनोनीत गरिएको हो । हामीलाई केही जानकारी छैन,’ कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने, ‘यो विषयमा डा. कोइरालासँग सरसल्लाह भएको छैन ।’इतर समूहका नेता रामहरि खतिवडाले सभापति थापाले केन्द्रीय कार्यसमितिमा गरेको मनोनयनलाई सकारात्मक भने पनि ‘पूर्ण एकताको प्रयास’ भने ठानेका छैनन् । उनले खड्का र कोइरालालाई किनारामा राखेर एकता सम्भव नहुने प्रतिक्रिया दिए ।
Share



