-किरण तिवारी
नागोया / जापान
जापानको तेश्रो ठूलो शहर नागोयामा आज भन्दा १ वर्ष अगाडी स्थापना भएको तोकाई बाटिका ईन्टरनेशनल स्कूलले आफ्नो प्रथम बार्षिक उत्सव भव्यताका साथ मनाएको छ। स्कूलको आफ्नै सभा हलमा आयोजना गरिएको उक्त बिषेश कार्यक्रममा नेपाली अनि जापनिज समुदायको खचाखच उपस्थिति रहेको थियो। कार्यक्रम एनआरएनए एशिया प्यासिफिक उप – संयोजक ददिवल खड्का र स्कूलका प्रमुख सञ्चालक डा सुदिप अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन भने स्कूलकी शिक्षिका गंगा शाक्य र अनिता पराजुलीले संयूक्त रूपमा गरेका थिए। कार्यक्रममा चितवन समाज जापानका पूर्व अध्यक्ष डा सरोज कँडेल ,एनआरएनए आईसिसि सदस्य दिपक कार्की ,एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी, सचिव श्याम शितल, कार्य समिति सदस्य रामु थापा काजी एनआरएनए नागोयाका उपाध्यक्ष भेषनाथ गौतम र कुशल पौडेल लगाएतको उपस्थिति रहेको थियो।

बार्षिक उत्सव कार्यक्रमको शुरुबाद नेपाल र जापानको राष्ट्रिय गानबाट गरिएको थियो। कार्यक्रममा स्कूलका विद्यार्थीहरुले बिभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए। आगन्तुक तथा अभिभावकहरु आफ्ना नानिबाबुले प्रस्नुत गरेका संगित एवं नृत्यमा झुमिरहेका देखिन्थे ।स्कुलमा केजी देखि कक्षा ७ सम्म सञ्चालन भएको र प्रत्येक वर्ष कक्षा थप गर्दै १२ कक्षासम्म सञ्चालन गर्ने लक्ष्य रहेको संस्थापक सदस्य बिमल अधिकारीले जानकारी गराए । स्कूलमा अन्तर्राष्ट्रिय स्तरका आधारभूत सम्पूर्ण सुविधाहरू अन्तर्गत स्वीमिङ्ग पुल, इन्डोर स्पोर्ट्सहल, फराकिलो खेल मैदान, बालउद्धान, पुस्तकालय, यातायातको व्यवस्था, लगायतका सुविधा रहेको छ। अधिकारीका अनुसार विद्यालयमा नेपाली पाठ्यक्रममा आधारित भएर नेपाली र सामाजिक अध्ययन एवम् जीवनोपयोगी शिक्षा नेपालीमा, अङ्ग्रेजी, गणित, विज्ञान र कम्प्युटर अङ्ग्रेजी माध्यममा शिक्षण गरिनुका साथै जापानी भाषासहित अतिरिक्त कक्षाहरू समेत सञ्चालन गरिएका छन्।
Share



