नागोया/ जापान

जापानको नागोया सहरमा लोकदोहोरी साझ सञ्चालनमा आएको छ।जापानमा नेपालीहरूको संख्या बढेसँगै नेपाली कला, संस्कृति, गीत–संगीत तथा मनोरञ्जन सँग जोडिएका गतिविधिहरू पनि विस्तार हुँदै गएका छन्। यही क्रममा नागोयामा नेपाली मौलिक लोकदोहोरीको आनन्द लिन सकिने दोहोरी साँझ सञ्चालनमा आएको छ।

पाँच तले भवन पुरै भाडामा लिई सञ्चालनमा रहेको उक्त दोहोरी साँझ भवनको ग्राउन्ड फ्लोरमा सञ्चालन गरिएको छ। नेपाली गीत–संगीत, लोकदोहोरी र रमाइलो वातावरणमा स्वदेशी स्वाद लिन चाहने नेपालीहरूका लागि यो नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ।नागोयाको फुसिमी ट्रेन स्टेसनको नम्बर १ एक्जिटबाट बाहिर निस्किएपछि करिब दुई मिनेट पैदल हिँडेर सहजै दोहोरी साँझमा पुग्न सकिन्छ।जापानमै रहेर नेपाली मौलिक लोकसंस्कृति, दोहोरी गीत तथा सांगीतिक मनोरञ्जनको आनन्द लिन चाहने नेपालीहरूका लागि यो स्थान विशेष आकर्षण बन्ने देखिएको छ।

उक्त सहारा दोहोरी साँझ हप्ताको तीन दिन सञ्चालनमा आउने मुख्य सञ्चालिका सीता कोइरालाले बताइन्। उनका अनुसार दोहोरी साँझ शुक्रबार, शनिबार र आइतबार सञ्चालन हुनेछ।दोहोरी तथा संगीतका पारखीहरूलाई लक्षित गर्दै साँझ ७ बजेदेखि राति १२ बजेसम्म दोहोरी साँझ सञ्चालनमा रहने बताइएको छ। दोहोरीसँगै रेस्टुरेन्टमा नेपाली तथा इन्डियन खानाका साथै ग्राहकको रोजाइ र अर्डरअनुसार विभिन्न परिकार उपलब्ध हुनेछन्।

त्यसैगरी, नागोया सहरमै एकैपटक करिब २०० देखि ३०० जनासम्मको जमघट तथा कार्यक्रम गर्न सकिने क्षमताको ठूलो हलसमेत रहेको छ। उक्त हलमा जन्मदिन, वैवाहिक वर्षगाँठ, सेमिनार, भेटघाट तथा विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न सकिने मुख्य सञ्चालिका कोइरालाले बताइन्।प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दोहोरी साँझ सञ्चालनमा ल्याउन पाउँदा आफू निकै खुसी भएको कोइरालाको भनाइ छ। उनका अनुसार सहारा दोहोरी साँझ नेपाली गीत–संगीत र संस्कृतिलाई प्रवासमा जोड्ने एउटा साझा थलोका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।हामीहरू उक्त दोहोरी साँझमा पुग्दा नेपालबाट जापान आएका चर्चित लोक तथा दोहोरी कलाकारहरू रामजी खाँड, देवी घर्ती मगर, टीका सानु लगायतका कलाकारहरू दोहोरी तथा सांगीतिक प्रस्तुति दिइरहेका देखिन्थे। कलाकारहरूको प्रस्तुति र प्रत्यक्ष दोहोरीले त्यहाँको माहोललाई थप मनोरञ्जनात्मक बनाएको थियो।

सहारा दोहोरी साँझका सञ्चालक सन्जीव कोइराला कोइरालाका अनुसार, नेपालबाट राष्ट्रियस्तरका चर्चित कलाकारहरू जापान आउने क्रममा उनीहरूलाई सहारा दोहोरी साँझमा आमन्त्रण गरी प्रस्तुति गराउने व्यवस्था गरिनेछ। त्यस्तै, अन्य दिनमा जापानमै रहेका लोक तथा दोहोरी कलाकारहरूको सहभागितामा नियमित रूपमा दोहोरी तथा सांगीतिक कार्यक्रम सञ्चालन गरिनेछ।प्रवासमा रहेका नेपालीहरूलाई आफ्नै गाउँघरको दोहोरी, लोकभाका र सांगीतिक वातावरणको अनुभूति दिलाउने उद्देश्यले दोहोरी साँझलाई निरन्तरता दिइने अर्का सञ्चालक सञ्जय कोइराला को भनाई छ ।
Share



