टोकियो / जापान
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ( एनआरएनए ) जापानले जापानमा रहेका नेपालीको लागि हटलाइन टेलिफोन सार्वजनिक गरेको छ । जापानमा रहदा नेपालीलाई परेका समस्या अप्ठ्यारा र सूचना जानकारी आदानप्रदानको सहजताका लागि उपयोग हुने गरि हटलाइन टेलिफोन सेवा संचालनमा ल्याइएको एनआरएनए जापानले जनाएको छ ।

भाषा, भैपरी आउने मानवीय सहयोग, दैनिक जीवनमा परेका समस्याको सुनवाई र कार्यान्वयनका लागि हटलाइन टेलिफोन सार्वजनिक गरेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए । निउरेका अनुसार +८१ ८० ६३५२ ८२८६ नम्बरको टेलिफोन नम्बर एनआरएनए जापानको हटलाइन टेलिफोन रहेकोले अत्यावश्यक समस्या, जरुरी सूचना जानकारीको लागि मात्र उपयोग गर्नका लागि आग्रह गरेका छन ।
एनआरएनए जापानलाई जापानबासी नेपालीको नजिकको सहयोगी निकायको रूपमा अनुभूति गर्न सकून् भन्ने मान्यतालाई आत्मसात् गर्दै एनआरएनए जापानलाई पहुँच योग्य बनाउन हटलाइन टेलिफोन सार्वजनिक गरिएको बताउदै महासचिव टिकाराम खरेलले अत्यावश्यक समस्या र जानकारीको लागि मात्र यो सेवा उपयोग गरिदिनको लागि अनुरोध गरेका छन ।
‘एनआरएनएलाई सबै नेपालीले ‘हाम्रो र राम्रो’ भन्ने महशुस गर्न सकून् भन्ने उद्देश्य हाम्रो रहेको छ ।’ महासचिव खरेलले भने-आफ्नो देश छाडेर विदेशी भूमिमा रगत पसिना बगाइ रहेकाहरु लाई सानो भन्दा सानो अप्ठ्यारोमा पनि सहयोग गर्न सकियो भने उनीहरूलाई परिवारकै साथमा रहेको जस्तो अनुभूति गराउन यो सेवा प्रभावकारी हुने खरेलको तर्क छ।
Share



