तनहुँ — पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक विस्तार काम तीव्र पारिएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले मुग्लिङ–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी काम सुरु गरेको छ । दुवै खण्डमा पर्खाल, कल्भर्ट बनाउने र सडक चौडा पर्नेजस्ता काम भइरहेका छन् ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’ रहेको यो सडकखण्ड चार लेनमा विस्तार गर्न लागिएको हो । आर्थिक वर्ष ०७७/७८ मा काम सुरु भएसँगै कोभिड, सीमा क्षेत्र तोक्नपर्ने, मेसिन आउन ढिलाइलगायत काम सुस्त हुँदा सोचेजस्तो प्रगति गर्न नसकिएको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले बताए । ‘अहिले कामलाई गति दिएका छौं, सडक सीमा क्षेत्रभित्र पर्ने रूख काटिसकेका छौं, सडक चौडा पर्ने, कल्भर्ट र पर्खाल बनाउने काम भइरहेको छ,’ उनले भने, ‘यस वर्षको अन्तिमसम्म ५०/६० प्रतिशत प्रगति देखाउन नसकिए पनि काम तीव्र छ ।’

सडक सीमाभित्र पर्ने तनहुँ खण्डको खैरेनीटार बजार क्षेत्रबाहेकका १ सय ३८ वटा भौतिक संरचना भत्काउन सुरु गरिएको उनले जनाए । ‘७० प्रतिशतले पहिलो किस्ता लगेर घर, टहरा, पाटीपौवा, पर्खाललगायत भौतिक संरचना भत्काउन सुरु गरिसकेका छन् । काम पूरा भएपछि दोस्रो किस्ता पनि उपलब्ध गराउँछौं ।’ सडक विस्तारका क्रममा भत्किने संरचनाको क्षतिपूर्तिका लागि आयोजनाले २ करोड ४५ लाख ३९ हजार ६ सय ३३ रुपैयाँ रकम स्वीकृत गरेको छ । हालसम्म करिब ४२ घरले ४० लाख रुपैयाँ बराबरको क्षतिपूर्ति रकम बुझिसकेका छन् । यस खण्डमा सानाठूला गरी १२ वटा पुल निर्माण गरिनेछ । कोभिडकै समयमा सडक ठेक्का सम्झौता, उपकरण र कर्मचारी ढिलो आउँदा, सडक सीमाभित्रका पोल नहटाउँदा, भत्काउनुपर्ने भौतिक संरचनाको क्षतिपूर्ति समयमा नआउँदा, वर्षा, स्थानीय तह र संघका आआफ्नै कानुनजस्ता कारणले कामले सोचेजस्तो गति लिन नसकेको योजनाले बताउँदै आएको छ । ३ वर्षमा मुग्लिङ–पोखरा सडक विस्तारको काम सम्पन्न गर्ने भनिए पनि केही समय थप हुन सक्ने पश्चिम खण्डका इन्जिनियर पौडेलको दाबी छ । ‘अहिले हामीले कन्ट्र्याक्टरलाई पनि चाँडो काम सक्न ताकेता दिइरहेका छौं,’ उनले भने ।
राष्ट्रिय राजमार्गको स्तरोन्नति कार्यक्रमअन्तर्गत साविक दुई लेनमा रहेको मुग्लिङ–पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गरिने क्रममा तनहुँ क्षेत्रमा करिब ६ हजार ७ सय ५० रूख र कास्की खण्डमा १ हजार २ सय ५० रूख कटान हुनेछन् । विद्युत् पोलको जोखिम रहेको क्षेत्रबाहेक अन्य क्षेत्रको रूख कटानको काम सकिएको छ ।
सडक सीमा क्षेत्रभित्र पर्ने विद्युत्का पोल हटाउन नेपाल विद्युत् प्राधिकरण कार्यालयले टेन्डर आह्वान गरिसकेको र हप्ता दिनमै सबै क्षेत्रका पोल हटाउने काम पनि सुरु हुने पूर्वी खण्डका प्रमुख नगेन्द्र सुवेदीले बताए । गुणादीदेखि जामुने सडकखण्डमा रहेका विद्युत्को पोल भने हटाउने काम भइरहेको उनले जनाए । ‘विद्युत् पोलका कारण काम नै रोकिने अवस्था आएको ठाउँको पोल भने हटाउँदै काम गरिरहेका छौं,’ उनले भने ।
एउटा पुलको निर्माण सम्पन्न हुने चरणमा छ भने ३ वटा साना पुलको निर्माण कार्य भइरहेको छ । करिब ५० वटा कल्भर्ट बनाउने काम पनि भइरहेको छ । यस क्षेत्रमा सानाठूला गरी १८ वटा पुल बन्नेछन् । पूर्वी क्षेत्रमा करिब ५० प्रतिशत सडक चौडा पर्ने काम सकिएको छ । हालसम्मको प्रगति १० प्रतिशत पुगेको छ । यस खण्डमा ५ सय ५ भौतिक संरचना भत्काइने भएको पूर्वी खण्डका रेसिडेन्ट स्पेसलिस्ट चिन्तामणि शर्माले बताए । पूर्वी खण्डको दमौली र डुम्रे खण्डलाई नसमेटी ६ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति व्यहोर्नुपर्ने सर्भेमा देखिएको र हालसम्म प्राप्त ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षतिपूर्तिको रकमबाट वितरण गरिसकिएको उनले बताए ।
पृथ्वी राजमार्गको ७२ किमि सडक खण्ड तनहुँमा पर्दछ । यस खण्डभित्र आँबुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, घाँसीकुवा, तालघारे, दमौली, चापाघाट, जामुने, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रेलगायत सानाठूला बजार क्षेत्र पर्छन् । यी बजारमध्ये बढी मात्रमा आँबुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, दमौलीलगायत बजार क्षेत्रका भौतिक संरचना प्रभावित हुनेछन् ।
Share



