✍️कविकिरण न्यौपाने


जापानको नागोया शहरमा हुने नेपाल फेष्टिबलको तयारी तिब्र पारिएको आयोजकले बताएका छन्। गैर आवासीय नेपाली संघ (NRNA) जापान क्षेत्रीय समन्वय परिषद् नागोयाको आयोजनामा आउँदो मे महिना ३०, ३१ तथा जुन १ तारिक चौथो नेपाल फेस्टिवल एवं एक्सपो २०२६ साकायको हिसाया डोरी पार्क मा सञ्चालन हुन लागेको हो।एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक योमन देवानले फेस्टिभलको तयारी तिब्र पारिएको बताए। उनले नेपाल र नेपालीको पहिचानलाई जापानी समुदायमा परिचित गराउनको लागी नेपाल फेस्टिवलमा सम्पूर्ण नेपालीहरुलाई उपस्थितको लागी अनुरोध गरेका छन्।
तेश्रो नेपाल फेस्टिबलको फाईल फोटो ।

नेपाली कला सँस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरुलाई जानकारी गराउने उद्देश्यले फेष्टिबलको आयोजना गरिएको एनआरएनए नागोयाका निवर्तमान संयोजक एवम् चौंथो नेपाल फेष्टिबल मूल आयोजक समितिका संयोजक भेषनाथ गौतमले जानकारी दिएका छन् । फेस्टिभलमा नेपालका दुरदराजमा समेत प्रयोग हुने ढिकी, जातो लगाएत थुप्प्रै चलन चल्तीका सामानहरु हेर्न पाईने संयोजक भेषनाथ गौतमले जानकारी दिए।
तेश्रो नेपाल फेस्टिबलको फाईल फोटो ।

आयोजकका अनुसार फेष्टिबल ‘हाइटेक प्रविधि’को हुनेछ । स्क्रिनमार्फत फेष्टिबलको सम्पूर्ण गतिविधि हेर्न पाइने छ भने नेपालको सँस्कृति र पर्यटन बारेको भिडियो पनि प्रसारण गरिनेछ ।नेपाल फेष्टिबलमा आइची प्रिफेक्चर गभर्नर ,नागोया सिटीका मेयर ,नेपाली राजदुतावास जापानका राजदूत लगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहनेछ । साथै कार्यक्रममा जापान र जापान बाहिरबाट एनआरएनए अभियन्ताहरुको उपस्थिति रहने एनआरएनए अभियन्ता एवं फेष्टिभलका आर्थिक संयोजक दिपक कार्कीले बताए। उनका अनुसार फेष्टिभलबाट वचत हुने रकम जापानको नागोया शहरमा निर्माण गरिने लक्ष्य राखिएको नेपाली घरमा लगाइने बताए।
तेश्रो नेपाल फेस्टिबलको फाईल फोटो ।

फेष्टिबलका साँस्कृतिक संयोजक सोनाम दोर्जे शेर्पाका अनुसार फेष्टिबलमा नेपाली लोक बाजा, पञ्चे बाजा, विभिन्न झाँकीहरु प्रस्तुतीका रुपमा रहनेछन् । किराँत, तामाङ, मगर, लगायत विभिन्न जनजातीका नृत्य, जापानमै रहेका नेपालीहरुको प्रस्तुती पनि कार्यक्रममा राखिएका छन्।
तेश्रो नेपाल फेस्टिबलको फाईल फोटो ।
नेपाली दूतावास टोकियोको सहयोग एवम् जापान स्थित संस्थाहरु, जापानको स्थानीय सरकार आईचिकेन, नागोया–सी लगायत पनि फेष्टिबलमा सहभागी हुनु राम्रो पक्ष भएको बताईएको छ। फेष्टिभलमा खानाका स्टलहरु बुकिङ्ग भईसकेको स्टल व्यवस्थापन समितिका संयोजक सिपी भुषालले जानकारी दिए। खाना वाहेक अन्य स्टलहरु बुकिङ्ग भईरहेको उनले बताए।यसै बिच फेष्टिबल सम्पन्न गर्नका लागि बिभिन्न उप–समितिहरुले आफ्नो काम गरिरहेका बताईएको छ।कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जानकारी दिएको छ। ठूलो संख्यामा दर्शक तथा सहभागीको उपस्थितिको अपेक्षा गरिएको यस फेस्टिभलले जापानमा नेपाली समुदायको पहिचान अझ मजबुत बनाउने विश्वास गरिएको छ।




