टोकियो/जापान
विश्वमै सबैभन्दा लामो औसत आयु भएको देश जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर पुगेका ‘शतायु’ नागरिकको संख्या इतिहासमै पहिलो पटक १ लाख नाघेको छ । स्वास्थ्य तथा कल्याण मन्त्रालयका अनुसार शतायु नागरिकको सङ्ख्यामा लगातार ५६औँ वर्ष नयाँ कीर्तिमान कायम भएको हो मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सेप्टेम्बर १ सम्ममा जापानमा १०० वर्ष नाघेका ज्येष्ठ नागरिकको सङ्ख्या अघिल्लो वर्षभन्दा ७ हजार ९१४ ले बढेर १ लाख ७ हजार ६७७ पुगेको छ। कुल शतायुमध्ये महिलाको हिस्सा करिब ८८ प्रतिशत (९४,२९८ जना) रहेको छ भने पुरुषको सङ्ख्या १३ हजार ३७९ मात्र छ ।

हाल जापानकी सबैभन्दा वृद्ध व्यक्ति क्योटो सहरकी ११४ वर्षीया किशिमोतो फुयो हुन् भने पुरुषतर्फ कुमामोटो सहरका ११२ वर्षीय कातो हिकारु सबैभन्दा ज्येष्ठ नागरिक हुन् ।प्रान्तगत हिसाबले सिमाने प्रान्तमा शतायु नागरिकको अनुपात सबैभन्दा उच्च रहेको छ । त्यहाँ प्रति एक लाख जनसंख्यामा १८६.६५ जना १०० वर्ष नाघेका नागरिक छन् । सिमाने लगातार १४ वर्षदेखि यो सूचीको शीर्ष स्थानमा रहँदै आएको छ । त्यसपछि कोची (१६९.५२) र तोत्तोरी (१५२.४८) रहेका छन्। सबैभन्दा कम साइतामा प्रान्तमा प्रति लाख ५१.२७ जना मात्र शतायु छन् ।
जापानमा ज्येष्ठ नागरिक सामाजिक कल्याण ऐन लागू भएको वर्ष सन् १९६३ मा देशभर १०० वर्ष नाघेका व्यक्ति केवल १५३ जना थिए । त्यसपछि तीव्र गतिमा वृद्धि हुँदै सन् १९९८ मा यो सङ्ख्या १० हजार पुगेको थियो भने सन् २०१२ मा ५० हजार नाघेको थियो । स्वास्थ्य सेवामा भएको व्यापक सुधार र स्वस्थ खानपानका कारण जापानमा शतायुहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ ।
Share



