कांग्रेसको नेतृत्व लोकतान्त्रिक हुन सकेन : पौडेल

Share
0Shares

दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पार्टीनै पहिला लोकतान्त्रिक हुन आवश्यक रहेको बताउनुभएको छ । नेतृत्वका कारण कांग्रेस पार्टी आफैँमा लोकतान्त्रिक हुन नसकेको गुनासो गर्दै देशमा राजनीतिक अन्योल देखिएजस्तै कांग्रेसभित्र पनि उस्तै खालको अन्योल सिर्जना भएको उहाँको भनाइ छ ।

पार्टीका केन्द्रीय सदस्य दिपक गिरीका पिता स्व लोकमणि गिरीको १३औँ दिनको पुण्यतिथिमा आज दाङको तुलसीपुरमा आयोजित श्रद्धाञ्जलिसभामा नेता पौडेलले देश अहिले अप्ठ्यारो परिस्थितिमा रहेको बेला प्रमुख प्रतिपक्ष दलको हैसियतले कांग्रेसले ठोस कदम चाल्नुपर्ने बेला पार्टी नै अलमलमा परेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले सत्ताभन्दा व्यवस्था महत्वपूर्ण रहेको बताउँदै यसको रक्षाका लागि कांग्रेसले सही निर्णय गर्नुपर्ने बेला आएको बताउनुभयो । देश अहिले अन्यौलमा फसेको र अब के हुन्छ भन्ने अन्यौललाई चिर्ने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उहाँको भनाइ थियो । उहाँले आफूले सधैँ नीतिगत कुरा गर्दै आएको र विगतमा पनि सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको खुलेर विरोध गरेकोसमेत बताउनुभयो । कार्यक्रममा पूर्वगृहमन्त्री देवेन्द्रराज कँडेलले पार्टीभित्र एकले अर्कोलाई हराउने प्रवृत्ति कायम रहेसम्म कम्युनिष्टले देशमा अझै राज गर्ने बताउनुभयो ।

कांगे्रस दाङका सभापति कृतिबहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वमन्त्रीहरु रामकृष्ण यादव र दिपक गिरी, लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, शङ्कर गिरी, पूर्वसांसद राजु खनाल, बुद्धिराम भण्डारीलगायतका नेताले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Share
0Shares
Advertisment