टोकियो ।

जापानस्थित एनपीओ नेपाल युथ सकर प्रोजेक्टले नेपालका बाल फुटबल खेलाडीहरुसँग स्वागत भोज कार्यक्रम आयोजना गर्ने भएको छ ।जापानमा आयोजना हुन लागेको कोपा टोरेरोस यू–१२ फुटबल प्रतियोगिताअघि खेलाडीहरुको हौसला बढाउन नेपाली राजदूताबास, गैरआवासीय नेपाली संघ (एनआरएनए) र सम्पूर्ण संघसंस्था मिलेर खेलाडीहरुसँग ‘स्वागत भोज’ आयोजना गर्न लागेको हो ।उक्त भोज यही मार्च २६ तारिख साँझ साढे ६ बजेदेखि ९ बजेसम्म टोकियोको शिन ओकुबोस्थित याताइमुरा रेस्टुरेन्टमा आयोजना हुन लागेको हो ।नेपालका पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलागी वसन्त गौचनको नेतृत्वमा रहेको यो संस्थाले बिगत सन् २०१६ देखि नेपालबाट बाल फुटबल खेलाडी जापानमा ल्याएर जापानमा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी गराउँदै आएको छ ।

तीन दिनसम्म चल्ने यो प्रतियोगितामा नेपालसहित जापान, स्पेन, पोर्चुगल, अस्ट्रेलिया, चीन, कोरिया, ताइवान, जर्मनीसहित अन्य ४० वटा देशका क्लबहरुको सहभागिता रहनेछ ।नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी गौचन पछिल्ला २ दशकदेखि जापानलाई कर्मथलो बनाएर फुटबल गतिविधिमा सक्रिय रहँदै आएका छन् । उनले नेपालका किशोर खेलाडीहरुलाई जापानमा आयोजना हुने टोरेरोज प्रतियोगितामा निरन्तर सहभागी गराउँदै आएका छन् ।यसअघि गत डिसेम्बरमा उनको नाममा रहेको वसन्त गौचन फुटबल एकेडेमीले नेपालमा ललितपुरको लगनखेलस्थित बुद्धिविकास मण्डलमा १० देखि १६ वर्षसम्मका खेलाडीलाई लक्षित गरी फुटबल क्याम्प आयोजना गरेको थियो ।जसमा गौचनसँगै जापानी प्रशिक्षक युता ओगुरा र नेपालका ‘ए’ लाइसेन्सप्राप्त प्रशिक्षक राजेन्द्र तामाङले प्रशिक्षण दिएका थिए ।
Share



