
नेपालको राजनीतिक परिदृश्यमा नेकपा एमाले एउटा गौरवशाली इतिहास बोकेको, जनताको विश्वास जितेको, अनुभवी नेताहरूको योगदानले निर्माण भएको तथा युवा पङ्क्तिको आशा र भरोसाको केन्द्र बनेको पार्टी हो। तर पछिल्लो समय पार्टीप्रति आम जनताको आकर्षण, विश्वास र उत्साह क्रमशः कमजोर हुँदै गएको अनुभूति भइरहेको छ। यसले धेरै कार्यकर्ता, शुभेच्छुक र आम समर्थकहरूलाई चिन्तित बनाएको छ।यस अवस्थाको प्रमुख कारणमध्ये नेतृत्वको लामो निरन्तरता, स्वास्थ्य अवस्था, कार्यशैली तथा बदलिँदो समयअनुसार पार्टीलाई नयाँ ऊर्जा दिन नसक्नु पनि एक कारण हुन सक्छ भन्ने महसुस धेरै कार्यकर्ता र समर्थकहरूमा बढ्दै गएको छ।आज धेरैले मनमनै प्रश्न गरिरहेका छन्—किन नेकपा एमालेभित्र वैकल्पिक नेतृत्वको विकास हुन सक्दैन?किन नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने साहस देखिँदैन?

किन सम्माननीय केपी शर्मा ओलीले अब मार्गदर्शक र सल्लाहकारको भूमिकामा बसेर युवा नेतृत्वलाई अघि बढाउने वातावरण तयार गर्न सक्नुहुन्न?विशेषतः पछिल्लो आम निर्वाचनको परिणाम र त्यसपछिको राजनीतिक अवस्थाले पार्टीभित्र गम्भीर समीक्षा आवश्यक रहेको स्पष्ट संकेत गरेको छ। पार्टीलाई पुनः जीवन्त, ऊर्जावान र जनविश्वासयुक्त बनाउन अब पुस्तान्तरण र नेतृत्व परिवर्तनको बहसलाई स्वाभाविक रूपमा लिनुपर्ने समय आएको देखिन्छ।
दुःखको विषय त अझ के छ भने, पार्टीभित्र रहेका अधिकांश कमिटीहरू, अधिकारप्राप्त निकायहरू, केन्द्रीय तहका नेताहरू तथा जिम्मेवार सदस्यहरूबाट समेत यस विषयमा खुलेर आत्मसमीक्षा वा आवाज उठिरहेको देखिँदैन। सबैजना मानौँ मौन र निरीह बनेको जस्तो अनुभूति भइरहेको छ। एउटा जीवित र गतिशील पार्टीमा फरक मत, आत्मसमीक्षा र सुधारको आवाज स्वाभाविक मानिनुपर्छ। तर आज ती आवाजहरू हराउँदै जानु वा दबिनु अझ बढी चिन्ताजनक विषय बनेको छ।
यो कुनै व्यक्ति विशेषप्रतिको विरोध होइन, बरु नेकपा एमालेको भविष्यप्रतिको चिन्ता हो। सम्माननीय नेतृत्वले आफ्नो अनुभव र योगदानलाई संस्थागत गर्दै अब मार्गदर्शक भूमिकामा बसेर नयाँ पुस्तालाई अवसर दिने वातावरण बनाउनु आजको आवश्यकता जस्तो देखिन्छ। युवा पङ्क्तिलाई जिम्मेवारी र नेतृत्व दिने साहस नै पार्टी पुनर्जागरणको आधार बन्न सक्छ।समयअनुसार रूपान्तरण हुन सकेन भने जनताको आशा र भरोसा क्रमशः टाढिँदै जाने खतरा रहन्छ। त्यसैले पार्टीभित्र खुला बहस, आत्मसमीक्षा र नयाँ सोचलाई स्थान दिनु आजको सबैभन्दा आवश्यक कार्य हो भन्ने मेरो व्यक्तिगत धारणा रहेको रहेको छ।
(अध्ययनको सिलसिलामा जापान आएका कँडेलले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्रगत पर्ने संरक्षित क्षेत्र र स्थानीय समुदाय बीचको सह -अस्तित्वका लागि इकोटोरिजमको भूमिका” सम्बन्धी बिषयमा पिएचडी गरेका थिए। उनि एमाले निकट प्रवासी नेपाली मञ्चको नेतृत्वमा रहदैं आएका छन्। )
Share



