के तपाईँ पनि विदेशबाट स्वदेश फर्कँदै हुनुहुन्छ ? स्वदेश फर्कँदा आफूलाई मन परेका सामानहरू किनेर फर्कँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के-के सामान ल्याउँदा भन्सार शुल्क तिर्नुपर्दैन र के-कस्ता सामानमा भन्सार तिर्नुपर्छ ।
सुन
विदेशबाट महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु नपर्नै त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । एकजना व्यक्तिले (महसुल तिर्नु नपर्नेः महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक) थप २०० ग्राम सम्म सुनको गहना भन्सार महसुल तिरेर साथमा ल्याउन पाउँछ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता हुँदैन् ।
मोबाइल
विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउँछ ।

टेलिभिजन
श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । तर, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्छ ।
मदिरा
नेपाली नागरिकले नेपाल फर्कंदा कुनै पनि प्रकारको १ लिटरसम्मको १ वोतल रक्सी साथमा ल्याउन पाइन्छ ।
भन्सार तिरेर साथमा ल्याउन पाउने वस्तुहरु के के छन् ?
व्यक्तिगत प्रयोगका लागी :-
लुगाफाटा बढीमा १५ थान, जुत्ता बढीमा १५ जोर, कस्मेटिक बढीमा १५ थान भन्सार तिरेर ल्याउन पाइन्छ ।
सुर्तिजन्य पदार्थ
२०० खिल्लीसम्म चुरोट भन्सार तिरेर ल्याउन पाइन्छ । यदी, तोकिएको परिमाण भन्दा बढि चुरोट ल्याएमा शत्प्रतिशत थप भन्सार महसुल तिर्नूपर्छ । यस्तै, ५० खिल्लीसम्म सिगार पनि भन्सार तिरेर ल्याउन पाइन्छ । तोकिएको परिमाण भन्दा बढि सिगार ल्याएमा शत्प्रतिशत थप भन्सार महसुल तिर्नूपर्छ ।




