✍️इन्दिरा खनाल


परम्परा देखि नै चलिआएको चलन अनुसार गर्भावस्थाको आठौँ महिनाबाट परिवारका सदस्य बीच दही–चिउरा खुवाउने चलन रहेको छ । यो केवल खानपान मात्र नभई गर्भवती महिला र गर्भस्थ शिशु प्रति परिवारको माया, साथ र शुभकामनाको प्रतीक पनि हो ।गर्भावस्था एउटा महिला र परिवारका लागि जीवनकै सबैभन्दा संवेदनशील र सुनौलो यात्रा हो । यो यात्रा करिब ४० हप्ताको हुन्छ, जसलाई पहिलो, दोस्रो र तेस्रो गरी तीन चरणमा विभाजन गरिएको हुन्छ । रजस्वला रोकिएको ४ हप्तादेखि १५ हप्तासम्म पहिलो चरण, १६ देखि २७ हप्तासम्म दोस्रो चरण र २८ देखि ३९/४० हप्तासम्म तेस्रो चरण मानिन्छ ।
चरणअनुसार देखिने परिवर्तन
तीनै चरण फरक–फरक समय र अवस्थाका हुने भएकाले गर्भवती महिलामा देखिने शारीरिक तथा मानसिक परिवर्तन पनि फरक–फरक हुन्छन् ।पहिलो चरणमा स्तनको आकार बढ्ने, वाकवाकी लाग्ने, बान्ता हुने, खाना नरुच्ने, झर्को लाग्ने, रिस उठ्ने, तौल घट्ने तथा गर्भ तुहिने जोखिम देखिन सक्छ । दोस्रो चरणमा पेटको आकार बढ्ने, भोक बढ्ने, तौल वृद्धि हुने र आफूलाई तुलनात्मक रूपमा सुरक्षित महसुस गर्ने अवस्था हुन्छ । तेस्रो अर्थात् अन्तिम चरणलाई सबैभन्दा संवेदनशील र महत्वपूर्ण मानिन्छ ।यस समयमा बच्चाको तौल तीव्र रूपमा बढ्ने भएकाले सन्तुलित आहार अत्यन्त आवश्यक हुन्छ । शरीर भारी हुने, हिँडडुल गर्न गाह्रो हुने, छिनछिनमा पिसाब लाग्ने, निद्रा कम हुने, कोल्टे फेर्न सहयोग चाहिने जस्ता समस्या देखिन सक्छन्, जसका लागि परिवारको साथ र सहयोग अपरिहार्य हुन्छ । यी लक्षण व्यक्ति अनुसार फरक–फरक हुन सक्छन् ।
दही–चिउरा : अनुभवले सिकाएको पोषण
स्वस्थ बच्चा जन्माउने चाहना हरेक गर्भवती महिला र परिवारको हुन्छ । नुवाकोट घर भई जापान घुम्न आएकी ६८ वर्षीया महिलाको अनुभव अनुसार बच्चा आठ महिनाको भएपछि दही–चिउरा खुवाउने चलन छ । अहिले ‘बेबी सावर’ भनेर चिनिने कार्यक्रम भन्दा धेरै पहिले देखि नै नेपालमा दही–चिउरा र खिर खुवाउने परम्परा रहेको थियो ।स्त्री तथा प्रसूति रोग विशेषज्ञहरूका अनुसार सन्तुलित आहार, पर्याप्त आराम, हल्का व्यायाम र मानसिक रूपमा खुसी रहन सक्नु नै स्वस्थ बच्चा जन्मिने संकेत हुन् । यी सबै कुरा गर्भवती महिलाको एक्लो प्रयासले मात्र सम्भव नहुने भएकाले परिवारको ठूलो भूमिका रहन्छ । सन्तुलित आहारसँगै माया, ममता र स्याहार पनि उत्तिकै आवश्यक हुन्छ ।
स्वस्थ बच्चा जन्माउने चाहना सबै गर्भवती महिला र परिवारको हुन्छ । चाहनासँगै सन्तुलित आहार पनि आवश्यक रहन्छ । पहिले–पहिले गाउँघरमा सन्तुलित आहारको वैज्ञानिक अवधारणा नहुँदा पनि घरमै उत्पादन हुने अन्न, पिठो, दूध, दही र घ्यु आमाका लागि पर्याप्त मानिन्थ्यो ।नेपाली समाजमा पेटमा बच्चा आठ महिनाको भएपछि परिवारका सदस्यहरूले दही–चिउरा खुवाउने चलन छ । पछिल्लो समय देश तथा विदेशमा आयोजना गरिने ‘बेबी सावर’ कार्यक्रम भन्दा धेरै अगाडि नै हाम्रो समाजमा दही–चिउरा र खिर खुवाउने परम्परा थियो । सुरुमा पहिलो बच्चा जन्मिँदा मात्र गरिने यो चलन अहिले दोस्रो र तेस्रो सन्तानमा पनि विस्तार हुँदै गएको देखिन्छ । दही–चिउरा खुवाए पछि शुभ हुने र स्वस्थ बच्चा जन्मिने विश्वास समाजमा अझै कायम छ ।
पोषणको वैज्ञानिक आधार
दही–चिउरामा दूध र दहीबाट बनेका परिकार, फलफूल, गेडागुडी र सागपात समेटिँदा आमा र बच्चा दुवैका लागि आवश्यक ऊर्जा, क्याल्सियम तथा अन्य पोषण तत्व प्राप्त हुन्छन् । यस्ता परिकारले आमाको स्वास्थ्य मजबुत बनाउनुका साथै गर्भस्थ शिशुको वृद्धि र विकासमा सहयोग पुर्याउँछन् ।
फेसन बन्दै गएको परम्परा !
पछिल्लो समय दही–चिउराको नाममा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको देखिन्छ । ठूला होटल तथा रेस्टुरेन्टमा आयोजना गरिने ‘बेबी सावर’ कार्यक्रम फेसनका रूपमा विकास हुँदै गएका छन् । यस्ता कार्यक्रममा केक, पिज्जा, बर्गर, चिनीजन्य पेय पदार्थ तथा मदिराको प्रयोगले गर्भवती महिला र शिशुको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ भन्ने चिन्ता महिला अगुवाहरू व्यक्त गर्छन् ।
चिकित्सकको चेतावनी र सुझाव
चिकित्सकहरूका अनुसार गर्भावस्थामा आमाले खाने खानाबाटै बच्चाले सम्पूर्ण पोषण प्राप्त गर्छ । त्यसैले यो समयमा स्वच्छ, सन्तुलित र पोषणयुक्त आहार अनिवार्य हुन्छ । गर्भावस्थामा गरिने सानो लापरबाहीले पनि आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पार्न सक्छ ।
निष्कर्ष : सन्तुलन नै मुख्य कुरा
विगतमा गर्भावस्थालाई बेवास्ता गर्नु गलत थियो भने अहिले अत्यधिक देखावटी र फेसनका रूपमा प्रस्तुत गर्नु पनि उपयुक्त छैन । दही–चिउराको वास्तविक सार भनेको परिवार, आफन्त र साथीभाइको साथ, शुभकामना र आशीर्वाद हो । सन्तुलित खानपान, सकारात्मक वातावरण र भावनात्मक सहयोग नै गर्भावस्थाको सबैभन्दा ठूलो पोषण हो ।
(लेखिका खनाल नेपाल पत्रकार महासंघ जापान शाखाकी पूर्व उपाध्यक्ष तथा हाल केन्द्रीय परिषद सदस्य हुन् ।)
Share



