एभरेष्ट इन्टरनेशनल स्कुल जापानको दशौं साँस्कृतिक दिवस सम्पन्न

Share
0Shares

टोकियो – एभरेष्ट इन्टरनेशनल स्कुल जापानले सोमबार आफ्नो दशौं साँस्कृतिक दिवस (कल्चरल डे) मनाएको छ ।

कार्यक्रममा स्कुलका विद्यार्थीहरुले नेपालका विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा भूगोलको प्रतिनिधित्व गर्ने कला, सँस्कृति, नृत्य, झाँकी तथा भेषभूषा प्रदर्शन गरेका थिए ।

स्कुलले हरेक वर्ष साँस्कृतिक दिवस मनाउँदै आईरहेको छ । यस वर्षकद साँस्कृतिक दिवस समारोहलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी क्षेत्रीले एभरेष्ट इन्टरनेशनल स्कुलको थप प्रगतिको कामना गर्नुभयो । उहाँले जापानमा नेपाली बालबालिकाहरुको शैक्षिक बिकासमा स्कुलले खेलेको भूमिकाको सह्राना गर्दै स्कुलको थप स्तरोन्नतिका लागि नेपाली राजदूतावासको सँधै सहकार्य रहने बिचार ब्यक्त गर्नुभयो ।

समारोहमा सुगिनामी वार्डका गभर्नर वातानाबे फुजियो, टोकियो मेट्रोपोलिटन गभर्मेन्ट अन्तर्राष्ट्रिय समुदाय, नागरिक सुरक्षा प्रबर्द्धन विभागका निर्देशक हिरोकाता मियुरा, एनआरएन जापानका अध्यक्ष शिवप्रसाद पौडेल, शिक्षक-अभिभावक संघका सदस्य सञ्जिव पोखरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष रबिन शर्मा लगायतका अतिथिहरुले आ-आफ्ना धारणा राख्दै कार्यक्रम सफलताको कामना गर्नुकासाथै नजिकिदै गरेको अंग्रेजी नयाँ वर्षको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

नेपाल र जापान दुबै देशको राष्ट्रियगानबाट सुरु भएको सो समारोहमा विद्यालयका प्रिन्सिपल बिष्णुप्रसाद भट्टको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले संयुक्तरुपमा रिबन काटेर उदघाटन गरिएको थियो ।

कार्यक्रममा नेपालको विविधतायुक्त सँस्कृति झल्किने भेषभूषामा सजिएका विद्यार्थीहरुले नृत्य, गायन, योगाभ्यास, कमेडी जस्ता आकर्षक प्रस्तुतीहरु प्रदर्शन गरेका थिए भने अतिथि कलाकारकारुपमा जापानी गायिका सुन्दरी मिकाले नेपाली गीत प्रस्तुत गरेर जनस्तरसम्म रहेको नेपाल-जापानबीचको साँस्कृतिक सम्बन्धलाई बिम्बकारुपमा उजागर गरेकी थिईन् । यसैगरी तिलक मल्ल, ढक जुग्जाली, सोना केसी र समिना खड्का लोहनीको समुहले जापानको नेपाली समुदायको प्रतिनिधित्व गर्दै देशभक्त गीत, सालैजो, झ्याउरे लगायतका लोकभाका प्रस्तुत गरेर मौलिक नेपाली लोक सँस्कृतिको एक नमुना पस्केका थिए ।

कार्यक्रमको अन्तमा, एभरेष्ट इन्टरनेशनल स्कुल जापानका सञ्चालक समितिका अध्यक्ष भवन भट्टले नेपालदेखि भर्च्युअल माध्यमबाट समापन मन्तब्य राख्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

Share
0Shares
Advertisment