जापान पठाउने भन्दै पैसा २ करोड ७९ लाख असुलेर फरार

Share
0Shares

काठमाडौं – वैदेशिक रोजगारीमा जापान पठाइदिने भन्दै मोरङको रङ्गेली तथा सुनवर्षी नगरपालिकाका युवाबाट रकम असुलेर सम्बन्धित व्यक्ति फरार भएका छन् । रङ्गेली तथा सुनवर्षी नगरपालिकाका ४६ जना युवाबाट दुई करोड ७९ लाख ३० हजार रुपियाँभन्दा बढी रकम असुलेर सुनवर्षी नगरपालिका–६ का अजय राजवंशीसहितको समूह फरार भएको हो ।

मोरङको रङ्गेली नगरपालिका–९ का हरि राजवंशीका अनुसार ठगीमा पर्नेमध्ये ४६ जनाले बुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन् । त्यसका आधारमा जिल्ला प्रहरी कार्यालयलाई सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याउन निर्देशन भइसकेको छ । मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले सम्बन्धित व्यक्ति उपरको अनुसन्धान सुरु भएको जानकारी दिए। उजुरीमा उल्लेखित व्यक्तिहरू फरार रहेकोले खोजतलास सुरु गरिएको उनको भनाई छ ।

बिहीबार अन्य पीडित रकम फिर्ता माग्दै अजय राजवंशीको घरमा पुगेका थिए । तर त्यहाँ परिवारका अन्य सदस्यसमेत नभेटिएको पीडित हरि राजवंशीले जानकारी दिए । पीडित राजवंशीका अनुसार अजय राजवंशीले आफ्नोसहित भाइ रञ्जित, बुहारी अनुराधा र बहिनी विद्याकुमारीको नाममा रहेको बैङ्क खातामा रकम जम्मा गराएका थिए । त्यसबाहेक चितवन घर भएका राजेन्द्र अधिकारीको नामको खातामा समेत रकम जम्मा गरिएको पीडितको भनाइ छ ।

जापान पठाउने भन्दै रकम जम्मा गराएपछि अजयसहित सम्पूर्ण परिवार बेखबर बनेको पीडितको गुनासो छ । पीडितको सङ्ख्या बढ्दै गएकोले एक सय जनाबाट रकम असुलेको हुनसक्ने अनुमान गरिएको छ । प्रतिव्यक्ति ७ देखि ११ लाखसम्म उठाइएको पीडितको भनाई छ ।

Share
0Shares
Advertisment