टोकियो । जापानको साप्ताहिक पत्रिका शुकान आसाहीले आफ्नो अन्तिम संस्करण मेमा छाप्ने भएको छ । पाठकहरुमा मोबाइल / अनलाइनमा समाचार पढ्ने प्रवृत्ति बढ्दा अनि विज्ञापनमा आएको कमीबीच सय वर्ष पुरानो प्रकाशन इतिहास भएको यो पत्रिका बन्द गर्न लागिएको हो ।
पत्रिका प्रकाशक आसाही शिम्बुन पब्लिकेशन इंकले डिजिटल मिडिया कन्टेन्ट र पुस्तक प्रकाशनमा ध्यान केन्द्रीत गर्ने बताएको छ । कम्पनीले डिसेम्बरमा पत्रिकाका ७४ हजार १२५ प्रति बेचेको थियो । शुकान आसाही सन् १९२२ देखि प्रकाशनमा आउने थालेको हो । शुरुमा पत्रिका राजनीति, अर्थतन्त्र र शिक्षा लगायत सामाजिक विषयहरुमा केन्द्रीत थियो ।

तर सन् १९५० को दशकदेखि यसमा मनोरञ्जनका खबर र सेलिब्रेटी गसिप पनि छापिन थाल्यो । र्योतारो शिबा र हारुकी मुराकानी जस्ता लोकप्रिय लेखकहरुका कारण यो पत्रिकाप्रति सर्वसाधारणहरुमा आकर्षण थियो । तर पछिल्लो समय स्मार्टफोनको बढ्दो प्रयोग र पत्रिकाको विज्ञापन डिजिटल सञ्चार माध्यमतिर थुप्रिने क्रमसँगै छापा पत्रिकाहरुलाई अस्तित्व जोगाउने हम्मे हम्मे हुन थालेको छ ।
Share



