३० वर्षअघि ‘फ्रिज’ गरिएको भ्रूणबाट स्वस्थ शिशुको जन्म, अमेरिकामा अनौठो रेकर्ड

Share
0Shares

अमेरिकाको ओहायो राज्यमा एक अत्यन्तै विशेष शिशुको जन्म भएको छ, जुन करिब ३० वर्षभन्दा बढी समयसम्म ‘फ्रिज’ गरिएको भ्रूणबाट विकसित हो ।यो हालसम्मकै सबैभन्दा लामो समयसम्म फ्रिजमा राखिएको भ्रूण हो, जसबाट शिशुको जन्म भएको छ । यो शिशुको जन्मले एउटा अनौठो रेकर्ड बनेको छ । यो शिशु लिन्डसे र टिम पियर्स नामका दम्पतीलाई प्राप्त भएको हो । उनीहरूले धेरै वर्षअघिदेखि सन्तानको इच्छा राखेका थिए । तर, उनीहरूलाई सन्तान प्राप्त भएको थिएन ।उनीहरूले ‘एम्ब्रियो एडप्सन’ अर्थात् भ्रूण अंगीकार गर्ने बाटो अपनाए । उनीहरूलाई प्राप्त भएको भ्रूण सन् १९९४ देखि फ्रिजमा राखिएको थियो ।

भ्रूणदान गर्ने आमाको भावुक कथा
उक्त भ्रूण लिन्डा आर्चर्ड नामकी महिलाले ३० वर्षअघि आईभीएफ प्रक्रियामार्फत तयार गराएकी थिइन् । त्यति बेला भ्रूणबाट थप सन्तान जन्माउन सकिन्छ भन्ने उनलाई आशा थियो । तर, छोरीको जन्मपछि उनको सम्बन्धविच्छेद भयो र परिवार विस्तार गर्न सकिनन् ।
बिस्तारै वर्षहरू बित्दै गए । र, भ्रूणको विषयले उनको मन बेचैन रहन थाल्यो । अन्ततः उनले स्नोफ्लेक्स नामक संस्थासँग सम्पर्क गरिन्, जसले यस्ता भ्रूण आवश्यक पर्ने परिवारलाई प्रदान गर्न सहयोग गर्छ । लिन्डा आफ्नो भ्रूणले राम्रो घर पाओस् भन्ने चाहन्थिन् ।

एउटा भ्रूणले पायो जीवनको आधार
तीन भ्रूणमध्ये एउटा फ्रिजिङ प्रक्रियामा टिक्न सकेन । जबकि, दुई भ्रूण लिन्डसेको गर्भमा स्थानान्तरण गरियो । तीमध्ये एउटा भ्रूण सफलतापूर्वक गर्भमा विकास भयो । र, शनिबार एक स्वस्थ छोराको जन्म भयो ।
डा. जोन डेभिड गार्डनले यो विषय केवल चमत्कार मात्र नभएको बताए । उनले लाखौँ भ्रूण प्रयोगशालामा किन राखिएका छन् र तिनको भविष्य के भन्ने सोचनीय विषय पनि भएको बताए । 

वर्षौंदेखि सन्तान चाहेको दम्पतीको प्रतिक्रिया
यो खुुसीको खबरबारे लिन्डसे र टिमले भने, “हामी कुनै रेकर्डका लागि गएका थिएनौँ, हामीलाई केवल बच्चा चाहिएको थियो ।”यता, लिन्डा आर्चर्डले आफूलाई धेरै सान्त्वना मिलेको र आफ्नो ‘सानो जीवन’ले परिवार प्राप्त गरेको बताइन् ।भावुक शैलीमा उनले थपिन्, “म आशा गर्छु, उनीहरूले मलाई उसको तस्बिर पठाउनेछन् । र, सायद एक दिन म उसलाई भेट्न पनि सकूँ भन्ने आशा गर्छु ।”

अमेरिकामा बढ्दो एम्ब्रियो एडप्सनको रुचि
रिपोर्टअनुसार, हाल अमेरिकामा करिब १५ लाख भ्रूण फ्रिजरमा राखिएका छन्, जसको भविष्य अनिश्चित छ । केही धार्मिक र सामाजिक संस्था ती भ्रूण पनि जीवनको हकदार भएको मान्छन् । र, तिनलाई दान गरेर आवश्यक परिवारलाई सन्तान बनाउने अवसर प्रदान गर्नुपर्ने उनीहरू ठान्छन् ।यस्तोमा यो अनौठो घटनाले मेडिकल साइन्समा इतिहास मात्र रचेको छैन, जीवनले कुनै पनि मोडमा नयाँ सुरुआत गर्न सक्छ भन्ने देखाएको छ । चाहे त्यो ३० वर्षदेखि फ्रिजरमा राखिएको सानो जीवन किन नहोस् । (CNNA बाट)

Share
0Shares
Advertisment