टोकियो / जापान

नेपालीहरुको बाक्लो उपस्थिति रहेको टोकियो शिन्ज्युकुको शिनओकुबो नगर क्षेत्रमा बिहीबार यहाँका नेपालीहरुले स्थानीय जापानी समुदायसंग मिलेर नगर सरसफाईमा हातेमालो गरेका छन् ।स्थानीय निकायहरुसंगको सहकार्य र नेपाली व्यवसायी संघ (NBA) जापानको आह्वानमा भएको उक्त नगर सरसफाई कार्यक्रममा नेपाली समुदायका अन्य संघसंस्थाहरुले पनि साथ दिएका थिए ।लामो समयदेखि नेपालीहरुको व्यवसायिक हब बन्दै आएको शिनओकुबो क्षेत्रमा नेपालीहरुको उपस्थिति र व्यवसायिक गतिविधि बाक्लिदैं गएको सन्दर्भमा स्थानीयसंगको सहकार्य र नेपाल-जापानबीचको सम्बन्धलाई जनस्तरसम्म थप विस्तार गर्न यसप्रकारको सामुदायिक गतिविधि उपयोगी हुने संघका अध्यक्ष विजय थकालीले बताउनुभयो । शिनओकुबो-ओकुबो क्षेत्रमा नेपाली लगायत विदेशीहरुको बढ्दो उपस्थितिको अनुपातमा स्थानीयहरुसंग अपेक्षित समन्वय र सहकार्य हुन नसकिरहेको परिप्रेक्ष्यमा सचेत नागरिक हुनुको हैसियतले व्यवसायिक गतिविधिका साथै सामाजिक उत्तरदायित्व सहितको जिम्मेवारीबोधलाई उजागर गर्न र स्थानीयहरुसंग ऐक्यवद्धता जाहेर गर्न व्यवसायी संघले नगर सरसफाई कार्यक्रममा सरिक हुन नेपाली समुदायलाई आह्वान गरिएको संघका महासचिव बाबुराम पौडेलले जानकारी दिए।
नगर सरसफाइ कार्यक्रमको प्रारम्भमा बोल्दै शिन्ज्युकु सिटी ओकुबो विशेष शाखा कार्यालयका प्रमुख आजुमा तोमोनोरीले कार्यक्रममा नेपालीहरुको उत्साहजनक सहभागिता हुनु खुशीको कुरो भएको बताए। यसबाट आफु बसेको समुदाय सबै मिलेर स्वच्छ र सफा राखौ भन्ने स्पष्ट सन्देश प्रवाह भएको उहाँले बताए। यसैगरी शिन्ज्युकु ह्याकुनिन्च्यो आकारुई खाइ श्योतेन्गाइ शिन्को कुमिआइका अध्यक्ष साकाउची हिदेआकीले सम्बन्धित सबै पक्षबाट सामाजिक उत्तरदायित्वसहितको सहभागिता अपेक्षित रहेको बताए । ‘आफु बसेको सोसाइटी हामी सबै मिलेर स्वच्छ र सौहाद्रपूर्ण बनाउनुपर्छ भन्नेमा हामी जापानीहरु सचेत छौं, विदेशी मित्रहरुबाट पनि हामी सोही अपेक्षा गर्दछौं ।’नगर सरसफाई कार्यक्रममा नेपाली व्यवसायी संघ (NBA) जापानका संरक्षक बिनोद शेरचन, एनआरएनए जापानका उपाध्यक्षद्वय सचिन श्रेष्ठ र सुभाष लामिछाने, पूर्व अध्यक्षहरु ओम गुरुङ, शिवप्रसाद पौडेल, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष श्री गुरुङ, तमु धी जापानका पूर्व अध्यक्ष रमेश गुरुङ, गुरुङ समाज जापानका प्रमुख सल्लाहकार जीवन गुरुङ, नेपाल पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष मोहन घले, दोलखा समाज जापानका अध्यक्ष सञ्जिव पोखरेल, स्थानीय व्यवसायीहरु कामना भण्डारी, माइकल गौचन, सुरेन्द्र खड्का, मधु पौडेल लगायतका सरिक थिए ।

नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिमुलक सहभागिता रहेको नगर सरसफाई कार्यक्रममा करिव दुई दर्जन नेपालीहरु र आधा दर्जन जति बंगलादेशका नागरिकहरु सरिक थिए । उनीहरुलाई संघका संरक्षक शेरचनले दिवा खाना (लञ्च) को प्रायोजन गरेका थिएभने संघका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले एनबिए जापानको लोगो अंकित ५० थान जकेट प्रायोजन स्वरुप सहयोग गरेका थिए। अपरान्ह २ बजेदेखि ३ बजेसम्म भएको नगर सरसफाई कार्यक्रममा यस क्षेत्रमा रहेका जापानी भाषा कलेज तथा विश्वविद्यालयमा अध्ययनरत दर्जनौ नेपाली तथा अन्य विदेशी विद्यार्थीहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो ।
झट्ट हेर्दा नगर सरसफाई कार्यक्रम सामान्य लागे पनि जापानी समुदायद्वारा आयोजना गरिने यसप्रकारका सामाजिक तथा साँस्कृतिक गतिविधिमा विदेशीहरुको सहकार्य, सहभागिता र सक्रियताको विशेष महत्व र सन्देश रहने जापानमा लामो समय देखि पत्रकारिता गरेका नेपाल पत्रकार महासंघ जापान साखाका संस्थापक अध्यक्ष तिलक मल्लको तर्क छ।
Share



