नागोया, जापान।


जापानको नागोया सहरको चिकुसा क्षेत्रमा अवस्थित तोकाई बाटिका इन्टरनेसनल स्कुल (Tokai Batika International School) को चौथो वार्षिकोत्सव विविध शैक्षिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।

‘Inspiring Excellence Every Day’ अर्थात् हरेक दिन उत्कृष्टतातर्फ प्रेरित हुने नारासहित आयोजित वार्षिकोत्सवमा विद्यार्थी, अभिभावक, शिक्षक तथा अतिथिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले आफ्नो प्रतिभा, सिर्जनशीलता र सांस्कृतिक पहिचान झल्काउने विभिन्न प्रस्तुति दिएका थिए।

समारोहमा औपचारिक कार्यक्रम, अतिथि सम्बोधन, स्वागत गीत, नृत्य, वक्तृत्वकला, कविता वाचन, नाटक, भूमिका अभिनय, विज्ञान प्रस्तुति तथा फेसन शो लगायतका गतिविधि समावेश गरिएका थिए।

कार्यक्रममा आइची प्रिफेक्चरल एसेम्बलीका सदस्य तथा लिबरल डेमोक्रेटिक पार्टीसँग आबद्ध यासुहिको तानाका प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी युका मासुदालाई विशेष अतिथिका रूपमा उपस्थित थिए। विद्यालयका अध्यक्ष डा. सुदीप अधिकारीको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा प्रधानाध्यापक यादवकुमार भुजेलले स्वागत मन्तव्य राखेका थिए।

वार्षिकोत्सवका क्रममा विद्यार्थीहरूले नेपाली तथा जापानी संस्कृति झल्काउने गीत, नृत्य र कविता वाचन प्रस्तुत गरेका थिए। विभिन्न कक्षाका विद्यार्थीले अंग्रेजी वक्तृत्वकला, विज्ञान सम्बन्धी प्रस्तुति तथा सामाजिक विषयवस्तुमा आधारित नाटकमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

कार्यक्रममा अभिभावकहरूको नृत्य तथा मन्तव्य, शिक्षकहरूको सामूहिक नृत्य, पुरस्कार वितरण र ‘मिस टीबीआईएस’ कार्यक्रमसमेत समावेश गरिएको थियो। यस्ता गतिविधिले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउनुका साथै विद्यालय, अभिभावक र शिक्षकबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुर्याएको छ।

जापानमा नेपाली समुदायको उपस्थिति बढ्दै गएको सन्दर्भमा नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै भाषा, संस्कृति र सामाजिक पहिचानसँग जोड्नु महत्त्वपूर्ण मानिन्छ। यस प्रकारका कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता, सिर्जनशीलता र सामूहिक भावनाको विकास गर्न सहयोग पुर्याउने अपेक्षा राखिएको विद्यालयका निर्देशन शुरेशचन्द्र उपाध्यायले बताए।

तोकाई बाटिका इन्टरनेसनल स्कुलको चौथो वार्षिकोत्सवले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै विद्यालय परिवार र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाएको छ। विद्यालयको शैक्षिक यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको यस वार्षिकोत्सवले विद्यार्थीको उज्ज्वल भविष्य र शैक्षिक उत्कृष्टता प्रतिको प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गरेको छ।





