एनआरएनए जापानको निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालदेखि सामूहिक भेलासम्म चुनावी माहोल तातिएको छ। उम्मेदवारहरूले मनोनयन दर्ता गरिसकेका छन्, प्रचार-प्रसारको दौड सुरू भइसकेको छ, तर यो प्रक्रिया केवल उम्मेदवारको लागि होइन — मतदाताको लागि पनि गम्भीर सोच र जिम्मेवारीको क्षण हो।
एनआरएनए जापानको यो निर्वाचनमा १८,३१४ जना मतदाता छन्, र भोलि आइतबार (बिहान ८ बजे देखि साँझ ८ बजे) मतदानको दिन तोकिएको छ। यी प्रत्येक मतदातासँग एउटा अमूल्य अधिकार छ — आफ्नो प्रतिनिधि चुन्ने। यही अधिकार सही व्यक्तिलाई प्रयोग गर्न सकिएन भने, संगठन नेतृत्वविहीन, निष्क्रिय र व्यक्तिवादी हातमा पर्ने सम्भावना रहन्छ।
हामीले विगतमा बारम्बार देख्दै आएका छौं — उम्मेदवार चुनाव आउनेबेला मात्रै देखिन्छन्, अनि चुनाव सकिएपछि सम्पर्क नै टुट्छ। त्यसैले यस पटकको मत केवल चिना टाँस्ने काम नभई सचेत निर्णय होस् भन्ने चाहना छ।

संघर्षकालको साथ, चुनावकालको सम्झना
यदि कुनै व्यक्ति पछिल्ला २ वर्षदेखि तपाईंको सुख-दुःख, समस्यामा साथ दिइरहेका छन्, संवादमा सक्रिय छन्, समाजमा योगदान गरिरहेका छन् — त्यस्ता व्यक्तिलाई प्राथमिकता दिनुहोस्। नेता त्यो हो जसले संकटमा सधैं साथ दिन्छ, चुनावको बेला मात्र देखिने होइन।
उम्मेदवारले सम्पर्क गरेन भने मत पनि छैन
यदि उम्मेदवारी दर्ता गरेपछि पनि तपाईंलाई एक पटक ‘हाय-हेल्लो’, फोन, म्यासेज, वा संवादको चेष्टा नगरेको उम्मेदवार छ भने — त्यो उम्मेदवार तपाईंलाई मतदाता होइन, केवल संख्या ठानेको हो। उसले भोलि जितेपछि तपाईंलाई प्रतिनिधित्व गर्ने ग्यारेन्टी कति होला?
तपाईंको एक मतले चुनाव जितिँदैन, तर जित सजिलो हुन्छ
धेरै मतदाताले सोच्ने गर्छन् – “मेरो एक मतले के फरक पर्छ र?” यिनै मतहरूको योगले नै उम्मेदवारको भविष्य बनाउँछ। तपाईंको एक मतले योग्य उम्मेदवारलाई विजयी बनाउने बाटो सरल हुन्छ, अयोग्य उम्मेदवारको घमण्ड झर्नेछ।
मत माग्नु पर्छ, ठेक्का होइन
केही उम्मेदवार वा उनका समर्थकले भन्न थालेका छन् — “यति मत हाम्रो ग्यारेन्टी हो।” यस्तो सोच आफैमा लोकतन्त्र विरोधी र अपमानजनक हो। मतदाताको मत कुनै ‘ठेक्काको सामान’ होइन, त्यो व्यक्तिको सोच, निर्णय र आत्मसम्मानसँग जोडिएको हुन्छ। कृपया यस्ता ठेकेदार प्रवृत्तिबाट सचेत रहनुहोस्।
निष्कर्ष
एनआरएनए जापानको नेतृत्व केवल पदको लागि होइन, समुदायको समस्यामा समाधान ल्याउने संकल्पको लागि हुनुपर्छ। त्यसैले उम्मेदवारहरूले पनि प्रचारमा झुटो सपना देखाउने होइन, व्यवहारमा निष्क्रिय नभइ संवादमा सशक्त हुनुपर्छ।
मतदाता साथ होइन, सहयोगी नेतृत्व खोजिरहेका छन्। उम्मेदवार बनेर मात्र होइन, भरोसा कमाएर मत माग्न सक्नेहरूले मात्र यो निर्वाचन जित्न सक्नेछन ।
एनआरएनए जापानका सदस्यज्यूहरू —
तपाईंको मत शक्ति हो। त्यसलाई सही व्यक्ति, सही मूल्य र सही नेतृत्वको पक्षमा प्रयोग गर्नुहोस्। त्यसैले, मतदाताको आत्मसम्मान जोगाउनुहोस् र उम्मेदवारको सही परीक्षण गरेर मतदान दिनुस ।
Share



