रास्वपा निकट, प्रवासी नेपाली सम्पर्क विभागद्वारा संस्थासँगको सम्बन्ध र वंशजको नागरिकता बारे धारणा सार्वजनिक

Share
0Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पाटी प्रवास नेपाली सम्पर्क विभागले गैरआवासीय नेपाली संघ (एनआरएनए), UNDO लगायतका संघ–संस्थासँगको सम्बन्ध, संस्थागत सहभागिता तथा आधिकारिक प्रतिनिधित्वबारे स्पष्ट धारणा सार्वजनिक गरेको छ। विभागका संसारभरिका प्रमुखहरूले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रवासमा रहेका नेपालीको हित, अधिकार, सेवा, सहयोग तथा नेपालको सम्बन्धलाई प्रभावकारी बनाउन विभाग प्रतिबद्ध रहेको जनाइएको छ।विभागले आफ्नो संगठनात्मक नीति, अन्य संघ–संस्थासँगको सम्बन्ध तथा आधिकारिक प्रतिनिधित्वका विषयमा स्पष्टता कायम गर्न आवश्यक भएकाले विज्ञप्ति जारी गरिएको जनाएको छ। विशेषगरी एनआरएनए तथा UNDO सँग सम्बन्धित विषयमा विभागले हालसम्म ती संस्थाका निर्वाचन, समिति वा पदमा संस्थागत सहभागिता वा आधिकारिक प्रतिनिधित्व नगरेको स्पष्ट पारेको छ।

विज्ञप्तिमा प्रवास नेपाली सम्पर्क विभागले राष्ट्रिय स्वतन्त्र पाटीको नीति, सिद्धान्त तथा संगठनात्मक व्यवस्थाअनुसार काम गर्दै आएको उल्लेख गर्दै कुनै व्यक्ति अर्को संघ–संस्थाको पदाधिकारी वा जिम्मेवारीमा आबद्ध रहेको अवस्थामा पनि विभागको संगठनात्मक जिम्मेवारीमा रहन नमिल्ने व्यवस्था स्पष्ट गरिएको छ। विभागले संगठनको जिम्मेवारी, आधिकारिक प्रतिनिधित्व तथा संस्थागत भूमिकामा दोहोरोपन नहोस् भन्ने विषयलाई प्राथमिकता दिएको जनाएको छ।त्यस्तै, विभिन्न देशमा प्रवासी नेपाली सम्पर्क विभागका संगठनहरूलाई एनआरएनए, UNDO लगायतका संस्थासँग संस्थागत रूपमा आबद्ध हुन स्पष्ट संगठनात्मक निर्देशन नरहेको अवस्थामा आवश्यक समन्वय गरी काम गर्न भनिएको छ। विभागले विभिन्न देशमा रहेका संघ–संस्थाबीच अनावश्यक भ्रम, विवाद वा गलत बुझाइ सिर्जना हुन नदिन संस्थागत सम्बन्धमा स्पष्टता आवश्यक रहेको जनाएको छ।

विभागले पछिल्लो समय विभिन्न व्यावसायिक तथा पुराना राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूको संलग्नतामा स्थापित केही संस्थाले आफूलाई नेपाली कांग्रेससँग जोडेर प्रस्तुत गर्ने वा त्यस्तो भ्रम सिर्जना गर्ने गतिविधि गरिरहेको विषयमा समेत आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। विशेषगरी UNDO नामक संस्थालाई कांग्रेससँग सम्बन्धित वा निकट संगठनका रूपमा प्रस्तुत गरिने गतिविधिले पार्टीका सदस्य, समर्थक तथा शुभेच्छुकमा भ्रम सिर्जना गर्नुका साथै प्रवासी संगठन विस्तारमा समेत असर पारिरहेको विभागको ठहर छ।विज्ञप्तिमा संसारभर रहेका नेपालीलाई एउटै सूत्रमा जोड्दै उनीहरूले भोगिरहेका वास्तविक समस्या पहिचान गर्ने, सम्बन्धित निकायसमक्ष आवाज पुर्‍याउने तथा समाधानका लागि प्रभावकारी पहल गर्ने कार्यलाई विभागले आफ्नो मूल उद्देश्यका रूपमा अघि सारेको उल्लेख छ। कुनै संघ–संस्था वा व्यक्तिसँग अनावश्यक प्रतिस्पर्धा, आरोप–प्रत्यारोप वा विवाद गर्नु विभागको उद्देश्य नभएको पनि स्पष्ट पारिएको छ।

यसैबीच, विभागले वंशजको नागरिकता तथा प्रवासी नेपालीका अधिकारको विषयलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। विदेशमा रहेका नेपाली मूलका नागरिक तथा उनीहरूका सन्तानसँग नेपालको कानुनी, सामाजिक, आर्थिक तथा भावनात्मक सम्बन्धलाई अझ मजबुत बनाउन आवश्यक पहल गरिने विभागको भनाइ छ।

वंशजको नागरिकता सम्बन्धी विभागको धारणा 

वंशजको नागरिकतासम्बन्धी अधिकारलाई नागरिकता ऐन, २०६३ मा आवश्यक संशोधन तथा परिमार्जनमार्फत थप स्पष्ट, सुनिश्चित र प्रभावकारी बनाउनुपर्ने विभागको धारणा छ। यसका लागि आवश्यक अध्ययन, सुझाव, नीतिगत पहल तथा सम्बन्धित निकायसँगको समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता विभागले जनाएको छ।विभागले वंशजका नेपाली तथा विदेशमा रहेका नेपालीबीचको सम्बन्धलाई केवल नागरिकताको विषयमा सीमित नगरी दीर्घकालीन सम्बन्ध, लगानी, पहिचान, अधिकार तथा राष्ट्रिय समृद्धिसँग जोडेर हेर्नुपर्नेमा जोड दिएको छ। विदेशमा रहेका नेपालीले नेपालमा लगानी गर्न, आफ्नो ज्ञान, सीप तथा पुँजी नेपालसँग जोड्न र देशको समृद्धिमा योगदान गर्न सुरक्षित तथा उत्साहित महसुस गर्ने वातावरण निर्माण गर्नुपर्ने विभागको भनाइ छ।

प्रवास नेपाली सम्पर्क विभागले प्रवासी नेपालीका हित, अधिकार, सुरक्षित आवास, नागरिक सेवा, प्रभावकारी कूटनीतिक सहयोग तथा प्रतिनिधित्वसँग सम्बन्धित विषयमा नेपाल सरकार र सम्बन्धित निकायसमक्ष आवश्यक सुझाव तथा सरोकार संस्थागत रूपमा प्रस्तुत गर्दै जाने जनाएको छ ।विभागका अनुसार संगठनको प्राथमिकता कुनै संघ–संस्था वा व्यक्तिविशेषसँग प्रतिस्पर्धा गर्नु नभई प्रवासमा रहेका नेपालीका वास्तविक समस्या पहिचान गरी समाधानका लागि प्रभावकारी पहल गर्नु हो। विश्वभर रहेका नेपालीलाई एकताबद्ध गर्दै उनीहरूको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउने र प्रवासी नेपालीका अधिकार तथा हित संरक्षण गर्ने कार्यलाई विभागले निरन्तरता दिने जनाएको छ।विज्ञप्तिमा प्रवासी नेपाली सम्पर्क विभागका विभिन्न क्षेत्रका प्रमुखहरूले आगामी दिनमा सम्बन्धित देशका आधिकारिक प्रवासी संरचनासँग आवश्यक समन्वय गर्दै संगठनात्मक स्पष्टता कायम गर्ने अपेक्षा व्यक्त गरेका छन्। विभागले संस्थागत मर्यादा, जिम्मेवारी र भूमिकालाई स्पष्ट राख्दै प्रवासमा रहेका नेपालीका साझा सरोकारका विषयमा सहकार्य र समन्वयलाई प्राथमिकता दिने जनाएको छ।

विज्ञप्तिमा एसिया–प्रशान्त क्षेत्रका साथै खाडी तथा मध्यपूर्व, उत्तर अमेरिका र युरोप क्षेत्रका प्रवासी नेपाली सम्पर्क विभागका प्रमुखहरूको नामसमेत सार्वजनिक गरिएको छ। कुवेतका लागि ईश्वर भण्डारी, ओमानका लागि पदम आले, कतारका लागि अब्दुल करिम, साउदी अरबका लागि भूपाल भण्डारी, यूएईका लागि सुजन थापा, बहराइनका लागि चिरञ्जीवी पाण्डेलगायतका क्षेत्रीय प्रमुखहरूको नाम विज्ञप्तिमा उल्लेख गरिएको छ।प्रवास नेपाली सम्पर्क विभागले संस्थागत सम्बन्ध, आधिकारिक प्रतिनिधित्व तथा प्रवासी नेपालीका अधिकारसम्बन्धी विषयमा आगामी दिनमा समेत आवश्यक स्पष्टता र समन्वय कायम गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

Share
0Shares
Advertisment