राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आकांक्षीको मूल्यांकन र छनोटका लागि ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको छ । सोमबार च:मतिस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेले ‘क्यान्डिडेट क्लब’को घोषणा गरेका हुन् ।उनले उम्मेदवार छनोटअघि आकांक्षीको कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थालगायत विषयको मूल्यांकन गरी योग्य र सक्षम प्रतिनिधि छनोटमा सहयोग पुर्याउने उद्देश्यले ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याइएको जानकारी दिए । स्थानीय तहको उम्मेदवार बन्नुअघि उम्मेदवारको राजनीतिक तथा अन्य मापदण्ड क्यान्डिडेट क्लबमा जाँच गरिने पनि उनले बताए ।
‘नेतृत्वमा आएका कयौं मानिसहरूका कयौं कुराहरू उठ्दै आउँछन् । त्यसकारणले ‘क्यान्डिडेट क्लब’ भित्र ल्याएर ती सबै कुराहरूलाई हेरेर राजनीतिक रूपमा, सामाजिक रूपमा र अन्य मापदण्डका आधारमा उम्मेदवार चयन गर्नको लागि यो क्लब गठन गरिएको हो,’ सभापति लामिछानेले भने, ‘सुरुवातमा हामी गाउँपालिकाबाट सुरु गर्दैछौं । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँपालिका अन्तर्गतका वडा, वडाका अध्यक्षलगायतका जति पनि पदहरू राजनीतिक पद छन् । त्यसका लागि आवेदन आजबाट औपचारिक रूपमा खुला गर्न गइरहेको छौं आजदेखि आउँदो स्थानीय तह निर्वाचनमा गाउँपालिकामा उम्मेदवारी दिने सबैले पार्टीको क्याण्डिडेट क्लबमा आवेदन दिनसक्नुहुनेछ ।’





