नागोया / जापान


किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन्।जापानको नागोया सहरको करिया हलमा सनिवार बेलुका सम्पन्न ‘हिट किक बक्सिङ–५९ अन्तरराष्ट्रिय खेलकुद किक बक्सिङ महासङ्घ, विश्व च्याम्पियनसिपको मेन इभेन्ट प्रतियोगितामा ‘हिमालयन चितुवा’ ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन चोइनार्डलाई नक आउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल भएका हुन्। प्रतिस्पर्धी बक्सर चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन खेलाडी हुन्।दोस्रो राउण्डको दोस्रो मिनेटमा बक्सर घिमिरले कडा मुक्का प्रहार गर्दै प्रतिस्पर्धी चोइनार्डलाई नकआउटमा पराजित गर्न सफल भए।

हालसम्म २९ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिएका घिमिर २१ खेलमा विजय हासिल गर्दा २० मा नकआउट गर्दै जित्ने एक मात्र नेपाली खेलाडी हुन। घिमिरेले नेपालको गौरव, नेपालको साहस र नेपाली शानलाई किक बक्सिङ खेलमार्फत देशको पहिचान अन्तरराष्ट्रिय जगतमा पुऱ्याएका छन्।विजय प्राप्त गरेपछि बक्सर घिमिरेले हालै रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने जानकारी दिए।

साथै हालसम्म आइ आफ्नो खेललाई साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिए। घिमिरेले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा नेपालको पहिचान बनाउन सफल खेलाडी हुन्। आफ्नो आमाबुबा सँग जापानको नागोया सहरमा बस्दै आएका अबिरललाई उनको मनपर्ने खेल बक्सिङमा अहिलेसम्म अधिकांश सफलता हात परिरहेको छ। उनका बुबा देब घिमिरे किक बक्सिङ्गका पूर्व राष्ट्रिय खेलाडी एवं अहिले अबिरलका प्रशिक्षक समेत हुन्।





