जापानमा येन बलियो हुँदै जादा नेपालीलाई फाईदा

Share
0Shares

टोकियो / जापान

अमेरिकी डलरसँग जापानी येन बलियो बन्दै जाँदा जापानको आयात लागत घट्नुका साथै  नेपालीलाई नेपाल पैसा पठाउन फाईदा हुने जापान मनी ट्रान्सफरका अध्यक्ष ओम गुरुङले बताएका छन्।गुरुङका अनुसार येनको मूल्यमा सुधार हुँदा विदेशबाट आयात गरिने इन्धन, खाद्यान्न तथा अन्य वस्तु एवं कच्चा पदार्थको लागत घट्न सक्छ। यसले आयातित वस्तुको मूल्यवृद्धिमा केही राहत दिँदै जापानमा बढ्दो मुद्रास्फीति नियन्त्रणमा सहयोग पुर्‍याउन सक्ने उनको भनाइ छ।

येन बलियो हुँदा जापानमा कार्यरत नेपालीलाई पनि प्रत्यक्ष लाभ पुग्न सक्ने गुरुङले बताए। “डलरसँग येन बलियो हुँदा जापानमा कमाएको रकमको मूल्य बढ्छ। नेपालमा पैसा पठाउँदा पनि विनिमय दर अनुकूल भएमा नेपाली रुपैयाँमा तुलनात्मक रूपमा बढी रकम प्राप्त हुन सक्छ,” उनले भने।उनका अनुसार येनको मजबुतीले जापानमा बसोबास गर्ने नेपालीको क्रयशक्ति तथा नेपाल पठाइने रेमिट्यान्सको मूल्यमा सकारात्मक प्रभाव पार्न सक्छ। यद्यपि, रेमिट्यान्स प्राप्त हुने वास्तविक रकम भने सम्बन्धित दिनको येन–नेपाली रुपैयाँ विनिमय दर र मनी ट्रान्सफर कम्पनीले लिने शुल्कमा समेत निर्भर हुन्छ।यसैबीच, अमेरिकी डलरसँग येनको विनिमय दर पछिल्लो समय उल्लेख्य रूपमा घटेको छ। जुलाईको अन्त्यतिर एक अमेरिकी डलर बराबर करिब १६३.८७ येन पुगेको दर सेप्टेम्बर ४ मा करिब १५५.६–१५६.२ येन आसपास आएको छ। अर्थात्, सो अवधिमा डलरको तुलनामा येन बलियो भएको हो।

येनको पछिल्लो सुधारलाई जापानको मौद्रिक नीतिसँगै जापान–अमेरिकाबीचको ब्याजदर अन्तर, जापानी लगानीकर्ताले विदेशमा गरेको लगानी स्वदेश फर्काउने सम्भावना तथा येनमा आधारित ‘क्यारी ट्रेड’ कमजोर हुन थालेजस्ता कारणसँग जोडेर हेरिएको छ।तर येनको पछिल्लो मजबुती दीर्घकालीन रूपमा कायम रहन्छ कि अस्थायी सुधारमै सीमित हुन्छ भन्ने विषय भने स्पष्ट भइसकेको छैन। गुरुङका अनुसार आगामी दिनमा बैङ अफ जापान (Bank of Japan (BOJ) को मौद्रिक नीति, जापान–अमेरिकाको ब्याजदर अन्तर र विश्व अर्थतन्त्रको अवस्थाले येनको दिशामा महत्वपूर्ण प्रभाव पार्नेछ।

Share
0Shares
Advertisment