टोकियो – हालैको मन्त्रिपरिषदको निर्णय अनुसार अप्रिल २०२३ देखि जापानमा साइकल यात्रीका लागि हेल्मेट अनिवार्य गरिने भएको छ ।
डिसेम्बर २० मा मन्त्रिपरिषदले संशोधित सडक ट्राफिक ऐन लागू गर्न सरकारी अध्यादेशलाई अनुमोदन गरेको हो । जसअनुसार अप्रिल देखि सबै साइकल यात्रीले हेल्मेट लगाउनु पर्नेछ । विद्यमान अध्यादेशमा १३ वर्ष मुनिका बालबालिकाका अभिभावकले बाइक चलाउँदा अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम रहेको छ । यद्यपि नियम उल्लंघनका लागि कुनै सजाय भने हुनेछैन ।

राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार सन् २०१७ देखि २०२१ सम्म देशभर साइकल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ हजार १ सय ४५ रहेको छ । नयाँ नियमले साइकल यात्राका क्रममा हुने दुर्घटनाका कारण लाग्ने चोट पटक कम गर्ने अपेक्षा गरिएको छ । साइकल यात्रीका लागि हेल्मेट अनिवार्य गराउने पहिलो राष्ट्र अष्ट्रेलिया हो । अष्ट्रेलियामा सन् १९९० र १९९२ को बिचमा साइकल चलाउँदा अनिवार्य हेल्मेट लगाउनुपर्ने कानून बनेको थियो ।
संसारमा साइकल यात्रीका लागि दण्डात्मक जरिवाना सहित हेल्मेट अनिवार्य बनाइएका देशमा अर्जेन्टिना, साईप्रस, अष्ट्रेलिया र न्युजिल्याण्ड मात्र हुन् । जापानको साइकल हेल्मेट सम्बन्धि कानून १ अप्रिल २०२३ देखि लागू हुनेछ ।
Share



