टोकियो
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाले “प्रथम जापान लोक तारा २०२६” संगै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ लोक तथा दोहोरी गायक एवं सर्जक अम्बर बिरही गुरुङको विशेष सांगीतिक साँझ आयोजना गर्ने भएको छ। नेपाली लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान तथा नयाँ प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको शाखाका अध्यक्ष समुद्रराज पौडेलले जानकारी दिए।

नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रमा अम्बर बिरही गुरुङलाई एक स्थापित र सम्मानित सर्जकका रूपमा चिनिन्छ। दशकौँदेखि लोकगीतमार्फत नेपाली समाज, गाउँघर, माया–प्रेम, पीडा र मौलिक संस्कृतिलाई संगीतमा उतार्दै आउनुभएका गुरुङका धेरै गीत दर्शक तथा स्रोतामाझ लोकप्रिय छन्। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको स्थापना तथा नेपाली लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा उहाँले पुर्याउनुभएको योगदानलाई विशेष रूपमा स्मरण गरिन्छ। उहाँको गायनशैली, मौलिक शब्द सिर्जना तथा नेपाली लोकभाकाप्रतिको समर्पणले उहाँलाई नेपाली संगीत क्षेत्रको विशिष्ट व्यक्तित्वका रूपमा स्थापित गराएको छ। जापानमा आयोजना हुन लागेको उक्त विशेष सांगीतिक साँझले जापानमा रहेका नेपाली दर्शकलाई उहाँका चर्चित सिर्जनासँग प्रत्यक्ष रमाउने अवसर प्रदान गर्ने विश्वास आयोजकले लिएको छ।
कार्यक्रम आगामी १४ जुन २०२६ आइतबार दिउँसो १२ बजेदेखि टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा सञ्चालन हुनेछ। अध्यक्ष पौडेलका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगी कम्तीमा १२ वर्ष उमेर पूरा गरेको हुनुपर्नेछ भने एकल गायन मात्र मान्य हुनेछ।प्रतियोगितामा लोकगीत मात्र गाउन पाइने, एक सहभागीले एक गीत मात्र प्रस्तुत गर्न पाउने तथा गीतको समय सीमा ३ देखि ५ मिनेट भित्र हुनुपर्ने नियम तय गरिएको छ।
उनले भिडियो रेकर्डिङसम्बन्धी नियमबारे जानकारी दिँदै भिडियो तेर्सो (ल्याण्डस्केप) मा खिचिएको, सम्पादन नगरिएको तथा लिपसिङ नगरिएको हुनुपर्ने बताए। साथै हालसालै रेकर्ड गरिएको भिडियो मात्र मान्य हुने र ब्याकग्राउण्ड म्युजिक तथा लाइभ बाजा प्रयोग गर्न नपाइने उल्लेख गरे।
दर्ताका लागि भिडियो संस्थाको आधिकारिक जिमेल वा फेसबुकमार्फत पठाउनुपर्नेछ भने दर्ता शुल्क १ हजार १ सय जापानी येन निर्धारण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो। अनलाइन आवेदनको अन्तिम मिति २०२६ मे २० रहेको छ।प्रतियोगिताको मूल्याङ्कन स्वर, ताल–सुर, प्रस्तुति शैली, शब्द उच्चारण, शुद्धता तथा टाइमिङका आधारमा गरिने जनाइएको छ। प्रारम्भिक छनोटपछि सेमिफाइनल सार्वजनिक गरिने र अन्तिम फिजिकल अडिसन टोकियोमा लाइभ बाजासहित सम्पन्न हुनेछ।
प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कार १ लाख १ हजार येन, द्वितीयलाई ५१ हजार येन, तृतीयलाई ३१ हजार येन तथा सान्त्वना पुरस्कारस्वरूप ११ हजार येन प्रदान गरिने अध्यक्ष पौडेलले जानकारी दिए।जापानमा रहेर नेपाली लोक संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले नयाँ प्रतिभा खोज्नुका साथै नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ।
Share



