समुद्रसँग छुट्टिएको टापु होक्काइडोसम्म पुग्न हवाईजहाजको सुविधा भए पनि यसअघि कहिल्यै नगरिएको त्यति ठूलो पानीजहाजको महासागरीय यात्रा आफैँमा रोमाञ्चक लाग्नु स्वाभाविकै थियो । बिहान नौ बजेतिर सुविधासम्पन्न बसबाट टोकियो बस टर्मिनलबाट हामी उत्तरतिरको यात्रामा निस्केका थियौँ । टोकियो भएर सेन्डाई हुँदै ओमोरी पुग्नु थियो आजको यात्रामा ।
नभन्दै बस छुटिसकेपछि टोकियोको उत्तरतिर पर्ने विभिन्न स–साना सहरहरू हुँदै सेन्डाईलाई पनि छिचोलेर हामी ओमोरी पुग्यौँ । ओमोरीबाट होक्काइडो टापुस्थित प्रसिद्ध सहर सापोरो पुग्न पानीजहाजबाट उत्रिएर फेरि बसमा यात्रा गर्नुपर्ने रहेछ । यो ट्राभल एजेन्सीको अग्रिम जानकारी थियो । बेलुका ७ बजेको समय थियो हाम्रो ओमोरीबाट पानीजहाज चढ्ने । निर्धारित समयभन्दा हामी दुई घण्टाअघि नै ओमोरी पुगिसकेका थियौँ । ओमोरी जापानको उत्तरी भागमा अवस्थित ठूला पानीजहाजहरूको बन्दरगाह रहेछ, त्यहाँबाट जापानका अन्य ठाउँमा पनि पानीजहाजहरू छुट्दा रहेछन् । पानीजहाजको बग्रेल्ती सङ्ख्या हेर्दा यो कुरा सहजै अनुमान गर्न सकिन्थ्यो ।
सन २००४ जुन २२ का दिन म जीवनमै पहिलोपल्ट त्यति ठूलो बडेमानको पानीजहाज चढिरहेको थिएँ । झन्डै एक हजारको हाराहारीमा रहेका यात्रु र झन्डै दुई सयको सङ्ख्यामा रहेका कारहरू पानीजहाजभित्र चढ्दै थिए । मान्छे चढ्नका लागि ठूलो हवाईजहाजकै जस्तो सिँढी र गाडीहरूका लागि जहाजको तल्लो भागमा रहेको प्रवेशमार्ग रहेछ । यात्रु र गाडीहरू सबै जहाजभित्र समाहित गर्न झन्डै एक घण्टाको समय लाग्यो । पानीजहाजभित्र चढिसकेपछि पनि जहाजभित्रै अझ उक्लिनुपर्ने तीनचार तला थिए । जम्माजम्मी बाइस घण्टाको प्रशान्त महासागरमाथिकोे यात्रा थियो यो ।
जहाजको सबैभन्दा तल्लो भागमा गाडी राखिएका थिए । एक हप्ताको छुट्टी मनाउन सापोरो सहर र होक्काइडो पुग्ने जोसुकैले निजी सवारी साधन आफूसँगै पानीजहाजमा हालेर यात्रा गर्दारहेछन् ताकि जहाजबाट उत्रिसकेपछि पनि हप्ताभरको यात्रा गर्दा आफ्नै गाडी होस् । त्यसो भयो भने भाडाका गाडी खोजिरहनुपर्ने झन्झट पनि नहुने र मनचाहे ठाउँमा पारिवारिक यात्रा गर्न सजिलो हुनेरहेछ । गाडी राखिएको भन्दा माथिल्लो तलामा तारे होटलको सुविधा दिएर बनाइएका व्यवस्थित तर धेरै महँगा कोठा रहेछन् । त्यस तलामै मान्छेका इच्छाअनुसार सुविधाका लागि बनाइएका पुस्तकालय, योग–कोठा, अरू शारीरिक व्यायामका हल, सानातिना फेन्सीपसललगायत थिए । त्यसभन्दा माथि सामूहिक यात्रीका लागि बनाइएका सार्वजनिक सुत्ने कोठा थिए । अरूभन्दा ती कोठा धेरै ठूला र एउटै कोठामा लहरै ओछ्र्याइएका फोमका गद्दा बिछ्यौना थिए । लगभग एक सयजनाजति एउटै कोठामा सुत्न मिल्ने ठूला कोठा रहेछन् । त्यति ठूलो कोठामा लहरै बिछ्याइएका बिछ्यौनामध्ये एउटाको हकदार म पनि थिएँ । यसलाई मैले पैसा तिरेर बाइस घण्टाका लागि आफ्नो बनाएको थिएँ । महिला–पुरुष सबै थिए त्यस कोठामा । कुनै भेदभाव थिएन त्यहाँ । सबै कोठामा त्यस्तै थियो तर महिलाको लागि एकातिरको भाग र पुरुषको अर्कोतिरको भागमा आ–आफैँले ओछ्यान छान्ने चलन रहेछ । चर्पीघर र नुहाउने ठाउँलगायत साउनाचाहिँ महिला र पुरुषको अलगअलग थियो । यो तलाको प्रायः सबै भागमा सुत्ने र नुहाउने कोठाहरू नै थिए । खानपिन र रेस्टुरेन्टका लागि भने सबैभन्दा माथिको र सारै फराकिलो ठाउँ छुट्ट्याइएको रहेछ । रेस्टुरेन्टभन्दा माथिल्लो पाँचौँ तलामा भने समुद्रको दृश्य हेर्न र सिगरेट आदि पिउनका लागि छुट्ट्याइएको विशेष ठाउँ थियो ।
हाम्रो यात्रा पाँच दिनका लागि तय गरिएको थियो, सापोरो र होक्काइडोका लागि । पाँच दिनमध्ये दुई दिन त आउने–जाने गरी पानीजहाजमै बिताउनुपर्ने थियो । समुद्रबाहेक जमिनको यात्रा भने तीन दिनको मात्र थियो । पाँच दिनको प्याकेज टुरको पैसा दिएका थियौँ हामीले । पानीजहाजभित्र पसिसकेपछि मलाई सबै तलाको परिवेश र स्थितिले कौतुहल बनाएको थियो । एक घण्टा त मैले तलमाथि गरेरै बिताएँ । मानिसका लागि चाहिने सबै वस्तु थिए जहाजमा । खेल्ने सामग्रीदेखि पिउने, नाच्ने, गाउने, रमाउने सबै सुविधा विद्यमान थिए त्यहाँ । जहाजभित्रको यस्तो निरीक्षण–भ्रमण सर्वथा नौलो भएकाले मेरा सहयात्री साथीहरूले पनि छाडा छाडिदिएका थिए मलाई । म भने जिज्ञासु बालकझैँ प्रत्येक कुरालाई नियालिरहेको थिएँ ।
जहाजको सबैभन्दा माथिल्लो तलाबाट मैले सारा संसारलाई हेरेँ । पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर समुदै्रसमुद्र देखिने साँच्चै नै समुद्रको संसार थियो त्यो । म त्यही समुद्रको संसारमा त्यति ठूलो बडेमानको पानीजहाजबाट झन्डै एक हजार यात्रुको घरसंसार बोकेर सामूहिक यात्रा गरिरहेको थिएँ । एक हजार यात्रुमा नेपालको बटुवा सायद ममात्र हुँदो हुँ । मैले देखेसम्मका सबै यात्रु जापानी नै थिए त्यहाँ । बाहिर अन्य मुलुकको अनुहार बोकेका कसैलाई देखिनँ मैले त्यहाँ । प्रायः सबै जापानकै आन्तरिक पर्यटक थिए र आफ्नै गाडी नहुनेहरू सायद प्याकेज टुर गर्दैथिए हाम्रा सहयात्री भएर । जापानमा गरिने प्राय सबै आन्तरिक र बाह्य भ्रमणहरू प्याकेज टुरमै सबैले गर्ने गर्दा रहेछन् । आफैँ गरिने भ्रमण झन्झटिलो र बढी खर्चिलो हुने हुँदा अधिकांश पर्यटकहरूको रोजाइ नै प्याकेज टुर हुनेगर्दाेरहेछ जापानमा ।
प्याकेज टुरमा हिँडेको सामूहिक टोलीलाई सजिलै चिन्न सकिन्छ जापानमा । सम्बन्धित ट्राभल एजेन्सीको चिनारीस्वरूप टोपी, गन्जी वा झन्डाको लोगोमा समेटिएर यात्रा गराइदोरहेछ जापानमा । त्यसो गर्दा विभिन्न समूहभित्र पनि आफ्नो भ्रमणदलको यात्रीलाई सजिलै चिन्न सकियोस् भनेर यस्तो भ्रमण–सङ्केत दिइएको हुनसक्छ । किनभने प्रत्येक पटकको मेरो जापान भ्रमणमा आन्तरिक पर्यटकहरू यस्ता सङ्केतहरूमा ट्राभल कम्पनीका बसमा र पर्यटकीय ठाउँमा प्रशस्तै मात्रामा भेटिएका थिए ।
संसारभरमै यात्राका लागि जापानीहरू प्रसिद्ध छन् । त्यसैले पनि जापानमा पर्यटन–व्यवसाय ज्यादै फस्टाएको छ । भनिन्छ जापानमै बसिरहने कुनै जापानीभन्दा अन्य मुलुक विशेषगरी गरिब मुलुकमा यात्रा गर्ने जापानीहरूको मासिक खर्च निकै कम हुने गर्दछ । यसो हुनाको कारण जापानमा हुने संसारकै उच्च महँगी दर प्रमुख रहेको छ । जापानमा एक महिना धान्ने पैसाले अन्य एसियाली मध्यम र विकासशील देशहरूमा तीन महिना धानिन्छ रे । जापानीहरु यसै भन्छन ।
म पानीजहाजको पाँचौँ तलामाथि चढेर चारैतिरको समुद्रमा धेरैबेर एकाकार भएँ । चारैतिर समुद्र भएकाले अनौठो लागिरहेको थियो । प्रशान्त महासागरको उत्तरी भागमा बहेको चिसो हावाले बाहिर त टिक्नै नसक्ने बनायो मलाई । केही क्षणपछि आफ्नो ओछ्यान भएको कोठातिर लागँे म । मेरा अरू साथीहरू ओछ्यानमा आराम गरिरहेका थिए । किताब हेरेर बसिरहेकी फुमिकोसानलाई मैले आँखाको इसाराले रेस्टुरेन्टतिर जाऊँ भन्ने इसारा गरेँ । आवाज निकालेर बोल्दा अरूलाई बाधा नहोस् भनेर नै मैले फुमिको दिदीलाई त्यसो गरेको थिएँ । मेरो इसारा बुझ्नेबित्तिकै हामी लागिहाल्यौँ माथिको रेस्टुरेन्टमा । हामी रेस्टुरेन्टबाट तल ओर्लिएर आ–आफ्नो ओछ्यानमा सुत्दा रातको १२ बजिसकेको थियो ।
बिहान उठिसकेपछि होक्काइडोको यात्रामा हिँड्नुअघि साकाईसानले सिकाएको जापानी संस्कृति र जीवनशैलीलाई फेरि एकपटक सम्झेँ । साकाईसानले सिकाएझँै पुरुष साउनामा नुहाउन जाँदा निर्वस्त्र भएर सामूहिक रूपमा नुहाउनुपर्ने जापानको चलन र परम्परा धान्न मलाई मानसिक रूपमा धौधौ पर्लाजस्तो थियो । तरै पनि नुहाउनुपर्ने अनिवार्य बाध्यता पनि मसँगसँगै थियो । जे त होला नि भनेर भएभरको हिम्मत कसेर म पनि नौ बजेतिर पुरुष साउनाभित्र पसेको त बाफ रे बाफ ! संसारै नाङ्गो देखेँ भित्र मैले । त्यति धेरै पुरुषहरू सामूहिक रूपमा त्यसरी नाङ्गिएर नुहाइरहेका र बाफ लिइरहेका देखेर म त तीनछक्क परँे ।
जापानीहरूको चलनमा यसरी निर्वस्त्र भएर नुहाउनु सामान्य थियो र त्यो एउटा संस्कृतिभित्र पर्दथ्यो । तर मेरो परिवेश फरक थियो । संस्कृति फरक थियो । त्यति धेरै मान्छेका अगाडि नाङ्गिनु भनेको एक किसिमको महाभारत थियो मलाई । अघि बाहिर पलाएको हिम्मत पनि पानी–पानी भयो मेरो । समूहको अगाडि नाङ्गिने कुरा चानचुने साहसको कुरा थिएन । यद्यपि यसरी नाङ्गिनु भनेको जापान, कोरिया र चीनमा एक किसिमले सामान्य मानिन्थ्यो र निर्वस्त्र भएर नुहाउन साउनामा जाने दैनिकीजस्तै हुन्छ रे जापान, कोरिया र चीनमा ।
भित्रको वातावरणले मनमा अझ सङ्कोच थपियो । कस्तो दशा ! नुहाउन भित्र पसिसकेपछि निर्वस्त्र नहुनु भनेको पनि त्यहाँ नुहाइरहेकाहरूको संस्कृतिमाथिको अपमान थियो । समूहमा आफूमात्र विदेशी देखिरहेको थिएँ त्यहाँ मैले । त्यो समूहबाट भाग्नु भनेको अझ ठूलो गल्ती हुनजान्थ्यो ।
त्यसैले प्रशान्त महासागरमा हिँडिरहेको जहाजभित्रको साउनामा मन मिचेर पहिलोपटक सार्वजनिकरूपमा नाङ्गिएँ म । एक्लै नाङ्गिनु र सामूहिकरूपमा नाङ्गिनुमा आकास–पातालको फरक हुन्छ । निर्वस्त्र भएपछि दिमागले एकपल्ट त कामै गरेन । म टोलाएको अरूहरूले पनि देखेजस्तो लाग्यो । त्यसैले आफू सम्हालिँदै गएँ र साउनाभित्रकै सानो मन्द तातोपानीको कुवामा हत्तपत्त पसेँ । मजस्तै जनेन्द्रियको आकार र अवस्था ओडेर विभिन्न सानो र ठूलो आकारका कुवामा नुहाइरहेका मनुष्यहरूको त्यहाँ कमी थिएन । तर मैले कसैको अनुहारतिर आफ्नो नजर पार्न सकिनँ, नपारेरै नुहाउन थालेँ । त्यतिबेला भने मैले आफू सानो छँदा झापा धाइजनछेउको हँडियाखोलामा बर्खे भेल आएको बेला आफ्ना बालदौँतरीहरूसँग कसैको पर्बाह नगरी सामूहिकरूपमा नाङ्गै नुहाएको सम्झें । कुवाहरू भएकै छेउमै पसिना फुटाउने तातो कोठा पनि थियो । म त्यहाँ पनि गएर शरीरैभरि पसिना छुटाएर फेरि कुवामै फर्किएँ । तातो कोठाभित्र पनि नाङ्गा मनुष्यहरूको कमी थिएन । पच्चीसभन्दा बढी ठाउँमा भने एक्लै बसेर नुहाउनसकिने पानीका छहरा र सावरजडित स्थानहरू थिए । तर जति थिए सबै सार्वजनिक थिए । सबैले सबैलाई देख्नसक्ने अवस्थाका थिए ।
आफ्नो छोप्नुपर्ने अङ्ग पनि डराएर होला एकपटक मात्र सिलाएको इँजारजस्तो भएको थियो । बडो सकस परिरहेको थियो शरीरका सबै भागलाई सामूहिक युद्ध गर्न त्यस समय । मजस्तै शरीरका सबै भाग भिजेको परालझैँ भएका थिए, सरम र सङ्कोचले ।
यसरी मैले पहिलोपटक सामूहिकरूपमा निर्वस्त्र नुहाएपछि कसैको मुखमा एकैपटकसम्म नहेरी आफ्नो नुहाउने कर्म विदेशी महासागरमाथि हिँडिरहेको जहाजमा सकेको थिएँ । मैले नुहाउने काम सकेको देखेर मेरा पुरुष र महिला जापानी साथीहरूले एकपटक मुखामुख गरे । उनीहरूको मुखामुख गराइलाई मैले बुझिहालँे तर बुझपचाउँदै सामान्यजस्तै लिएँ, मानौँ मलाई नुहाउदा केही सकस भएको थिएन । म जापानी संस्कृतिसँग रत्तिएको देखेर उनीहरू खुसी हुनु स्वाभाविक थियो तर मैले नाङ्गिनुअघि खेपेको मानसिक तनाव र सङ्कोचको व्याख्या उनीहरूलाई कसरी गर्नसक्थेँ र ! म उनीहरूको हाँसोको पात्र पनि त हुन चाहन्नथेँ ।
नुहाउने घरभित्र एक्लै नाङ्गिनुलाई पनि पूर्वीय दर्शनभित्रको हिन्दूधर्मले समेत नकारेको छ । इसाई धर्ममा पनि यसलाई स्वीकारिएको छैन ।
त्यसैले भनिन्छ, नन्हरू एक्लै नुहाउँदा पनि ईश्वरले नाङ्गिएको देख्नसक्ने ठानेर आफ्ना अङ्गहरू पेटानीले छेकेर वा ढाकेर नुहाउँछन् तर अचम्मको शोचनीय कुरा के छ भने त्यत्रो पर्खाल नाघेर नाङ्गिएको देख्नसक्ने सर्वशक्तिमान् त्यस सत्ताले जाबो सुतीको पेटानी कसरी छेड्न नसक्ला र ?
‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै पो भयो । कताको यात्रा कहाँको प्रसङ्ग ।
ओमारी बन्दरगाहबाट हिँडेको ठ्याक्कै बाईस घण्टापछि हाम्रो पानीजहाजले पु¥यायो सापोरोछेउको बन्दरगाहमा । बन्दरगाह आउनुपूर्व इन्धन संरक्षण गरिएका कैयौँ ठूलाठूला तेलका ट्याङ्कर देखिए । सायद त्यस्ता प्रज्वलनशील वस्तु समुद्रभित्र भण्डारण गरेर राख्दा कुनै भवितव्य वा दुर्घटना भइहाल्यो भने पनि कम क्षति खेप्नुपर्छ भनेर त्यसरी राखिएको होला, यो मेरो अन्दाजमात्र थियो । हामीसँग ठूलाठूला समुद्र नभए पनि ठूला नदीहरूको छेउछाउ वा बीचमा यस्ता प्रज्वलनशील वस्तुलाई भण्डारण गर्दा राम्रो हुनेरहेछ जस्तो लाग्यो मलाई पनि ।
पानीजहाजबाट उत्रिसकेपछि आफ्ना गाडी हुनेहरू गाडीको प्रतीक्षामा थिए भने प्याकेज टुरमा निस्किएका टोलीहरूका लागि भने छेउमै ट्राभल–कम्पनीकै सुविधासम्पन्न बस तैनाथ थियो । हाम्रा दलका सहभागी सबैले घाम छेक्ने रातो रङको टोपी लगाएका थिए । हेर्दाहेर्दैै केही क्षणपछि झमक्क साँझ प¥यो सापोरोमा । होक्काइडो प्रान्तको सबैभन्दा ठूलो सहर भएकाले त्यसको सान नै फरक रहेछ । इटालियन र बेलायती ढाँचाका पुराना घरहरू पनि प्रशस्त देखिए सापोरोमा । हामी त्यहाँ पुग्दा जात्रा चलिरहेको थियो सहरभरि । जापानको उत्तरी भागमा भएकाले टोकियोभन्दा जाडो रहेछ यहाँ । आलु र तरबुजा प्रशस्त पाइँदारहेछन् । सम्पूर्ण जापानभरि यहीँबाट वितरण हुँदोरहेछ चिसो माटाको आलु ।
बजार घुमाउँदै झन्डै एक घण्टापछि हाम्रो बसले पहाडी इलाकाको जङ्गलभित्र रहेको एउटा होटलमा बास बस्न पु¥यायो । हजारौँ मान्छेहरू एकैपटक खान र बस्न मिल्ने होटल रहेछ त्यो । अति सुन्दर ठाउँमा बनाइएको होटल प्राकृतिक हिसाबले बडो मनमोहक थियो । बेलुका डिनरका लागि मात्र एकपटकमा हजारौँ मान्छेले एकैपटक खानसक्ने होटल रहेछ त्यो । सयौँको सङ्ख्यामा परिकारहरू थिए खानेकुराका । बेलुकाको खाना खाएर हामी आ–आफ्नो कोठामा सुत्न गयौँ । रमाइलो के रहेछ भने राति सुत्दा लगाउने गाउन भने प्राचीन जापानीहरूले सुत्दा प्रयोग गर्ने शैलीको पहिरन रहेछ । त्यही गाउन लगाएर के ढल्केको थिएँ म त भुसुक्क भएँछु ।
भोलिपल्ट बिहानै दृश्य–अवलोकनका लागि पर्यटक–बसबाट बाहिरमात्र के निस्केको थिएँ, पाटन नै पाटनजस्ता लाग्ने स–साना थुम्काथुम्कीहरूबीच हामी गुडिरहेका थियौँ । समतल भन्ने कुनै ठाउँ थिएन । थुम्काथुम्कीबीच पनि यसरी पूmलहरू फुलेका देखिन्थे मानौँ सबै देखिएजति पूmलकै संसार हो । यस्ता पूmलका संसारहरू होक्काइडो प्रान्तभरि प्रशस्तै रहेछन् । यसलाई राबिन्द्रा भन्दा रहेछन् जापानीहरूले । दिउँसो पूmलैपूmलको संसार घुमियो । त्यति धेरै पूmलको संसार पहिलोपल्ट नै देखिरहेथेँ म । दिउँसोको खाना खाएपछि भने बौद्धधर्मका पुराताŒिवक महङ्खव बोकेको एउटा ठूलै सङ्ग्रहालय हेरियो र साँझतिर अघिल्लो दिन बसेकै होटलमा बास बसियो ।
सापोरो यात्राको अन्तिम दिन भने हामीलाई बिहानको खाजा खाइसकेपछि सिधै झरना र गुफा देखाउने पूर्वनिर्धारित कार्यक्रम रहेछ । मुख्य सडकमा गाडी रोकेर जङ्गलको बाटो भएर केहीबेर हिँडेपछि झरना र गुफा पनि आयो । हामीजस्तै हजारौँ पर्यटकको भीड लागेको त्यो झरना र गुफा के–के न होला भन्ने ठानेको थिएँ तर केही न कामको सानो न सानो छाँगोजस्तो मात्र थियो । त्यस्ता छाँगा त बर्खामा नारायणघाट–मुग्लिन खण्डमा कति हुन्छन् कति ? गुफा पनि हाम्रो देशमा पहाडका भारी बोकेर हिँड्ने भरियाले यसो खाना पकाउन र आराम गर्न खोजेको ठाउँजस्तो मात्र थियो । गन्ने हो भने त्यस्ता गुफा मेरो देशमा दसौँ हजार छन् । त्यहाँ देखिएका जस्ता झरना हजारौँ छन् भन्ने मनभरी लागिरह्यो ।
हिजैदेखि बहुप्रचारित गुफा र झरना हेरेपछि झल्झली मैले मेरो देशमा हेरिदिने मान्छेसमेत नभएर त्यसैत्यसै मानव–आँखाहरूलाई पर्खेर बसिरहेका पर्यटकविहीन हजारौँ गुफा, कन्दरा र छहराहरूलाई सम्झें । ‘लाटो देशमा गाँडो तन्नेरी’ भनेझैँ केही नभेटेपछि पर्यटकको मन बहलाउन कृत्रिम तरिकाले बनाएरै भए पनि प्रचारप्रसार गरेर पर्यटक लोभ्याइने गरिँदोरहेछ विदेशमा । यस्ता दृश्य हेरी त हाम्रो देश त प्राकृतिक सम्पदामा स्वर्ग नै छ । देश चलाउने मान्छे अदूरदर्शी हुँदा मात्र तिनीहरूले महत्व नपाएका रहेछन् जस्तो लाग्यो मलाई । सापोरोका सबै गुफा, कन्दरा र छहराहरू सम्झिएर दिक्क पो लाग्नथाल्यो त्यताका ठाउँ हेर्न ।
केही दिनअघिमात्र पनि पुराना सम्पदा हेर्ने लालसा बोकेर टोकियो सङ्ग्रहालय पुगेको म नेपालमा अहिलेसम्म प्रयोगमा आइरहने हलो, जुवा, कोदालो र दमाहाजस्ता वस्तु हेरेर फर्किएको थिएँ । जापानीहरूले आफ्नो इतिहास भनेर सजाएका ती सामानहरू मेरो देशका हजारौँ गाउँमा अहिले पनि छ्याप्छ्याप्ती भेटिन्थे । यस्तो लाग्यो, मेरो गाउँका प्रत्येक घर नै विदेशका लागि सानातिना सम्पदा बोकेका सङ्ग्रहालय रहेछन् । मेरो देशले सम्पदैसम्पदाको इतिहास बोकेर दुनियाँसामु प्राचीनतम सङ्ग्रहालय आफैँमा उभ्याएको रहेछ ।
मलाई खुसी लागिरहेथ्यो आपूm र आफ्नो देश सम्झेर । सोच्दासोच्दै हाम्रो बस त हामीले दुई दिनअघि छाडेको सापोरो बन्दरगाहमा पो आइपुगेछ । सापोरोबाट पनि साँझ सातैबजे छुट्ने पानीजहाजमा जानुपर्ने हाम्रो यात्राको तय पहिले नै भइसकेको थियो । त्यसैले हामी पनि पहिला जसरी नै पस्यौँ पानीजहाजको पेटभित्र ।
साँझ छिप्पिइसकेपछि सबैभन्दा माथिको तलामा गएर मैले भएभरको समुद्र हेरेँ । समुद्रको अँध्यारो रातबाट देखिने पानीका तरङ्गहरू हेरेँ । चिसो हावाले जति हिर्काए पनि मैले समुद्रको आस्वादन गरी नै रहें । चिसोको डरले पाँच तलामाथि कोही ननिस्किएकाले एक्लो मनको आनन्दसँगै अन्दाजमात्र गर्न सकिने सामुद्रिक तरङ्गहरूभित्र फेरि पनि रमाइरहेँ । यस्तो समुद्रको यात्रा पछिल्ला दिनमा हुने–नहुने सोचाइबीच अल्झिएको मेरो मनले अघाउन्जेलसम्म समुद्रको संसारलाई पिइरहेँ । पिइ नै रहेँ ।
ááá
बिहानै प्रशान्त महासागरमा घाम उदायो । आफ्नो ओछ्यान छोडेर अरू नयाँ ओछ्यानमा हत्तपत्त निद्र्रै लाग्दैन मलाई । राती पनि धेरैपटक ब्युँझिएर नजिकैको महासागरलाई छेवैको झ्यालबाट हेरेको थिएँ मैले । बिहान म उठ्दा समुद्र लमतन्न सुतिरहेको थियो । यस्तो लाग्दैथियो आजको सूर्यले पूरै मानवता लिएर उदाएको छ । समुद्रलाई भने कुनै हतारो छैन उठ्नलाई । सदियौँदेखि ऊ यसरी नै सुतेको छ चिरनिद्रामा ।





