काठमाडौँ — देशकै जेठो वीर अस्पतालले स्थापनाको १३४ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना भएको कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल नसध्रुेसम्म देशको स्वास्थ्य अवस्था नसुध्रिने बताए ।
उनले भने–‘वीर अस्पतालमा सुधारको महसुस हुने काम भएको छ । ७०० शय्या विपन्नका लागि निःशुल्क गरिनु, ओपिडी सेवा बिहान ८ बजेदेखि बनाएको, अनलाइनबाट पनि टिकट काट्ने व्यवस्था आदि काम भएको छ । वीर अस्पताल सुधार्न यहाँको सिंगो टीमको भूमिका रहेको छ ।’ उनले वीर अस्पताल गरिब, विपन्नमात्र नभएर भीआईपीहरुको उपचारको पनि केन्द्र हुनु पर्नेमा सरकारको योजनाअनुसार काम अगाडि बढिरहेको मन्त्री बस्नेतले जानकारी दिए ।

कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक सहप्राध्यापक डा सन्तोष पौडेलले १५ शय्याबाट सुरु भएको वीर अस्पतालमा अहिले ९६६ शय्या सञ्चालन हुन थाले पनि सो अनुसार बजेट वृद्धि नभएकाले चुनौती रहेको बताए । उनले भने, ‘सर्वसुलभ तथा गुणस्तरीय उपचार दिनु हाम्रो लक्ष्य हो । जनशक्ति र स्रोत साधनको चापम रहे पनि सेवालाई परिस्कृत गर्दै लगिएको छ । एचडीयू र आईसीयूको सेवा थपिरहेका छौँ ।’
वीर अस्पताल वि.सं १९४७ श्रावण १२ गते वीर शमशेरको पहलमा १५ शय्याबाट सुरु गरिएको हाल ९६६ शय्याबाट सेवा प्रदान गर्न सक्ने क्षमता रहेको छ । आर्थिक वर्ष २०७९–८० मा अस्पतालबाट ओपीडीमा ५ लाख ६६ हजार ९५७ जनाले सेवा लिएका छन् । निर्देशक डा पौडेलले भने, ‘अस्पतालमा सेवा लिनेको संख्या बढ्दै गएको छ । ८ बजेबाट ओपीडी सेवा सुरु गरेका छौं । त्यसको चाप व्यवस्थापन गर्नका लागि हरेक तलामा काउन्टरको व्यवस्था रहेको छ ।’
उनले डेन्टल वार्डलाई पनि फराकिलो बनाउने, बर्न सेन्टर, क्यान्सर उपचारमा जोड दिने योजना रहेको बताए । ‘निरोगी क्लिनिक सञ्चालन गरिनेछ । १४ वटा अपरेशन थियटरलाई १८ वटामा विस्तार गरिएको छ । डायलाइसिस क्षमता ७५ जना छ यसलाई बढाएर १०० जना पुर्याउने लक्ष्य राखिएको छ,’ उनले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा देवकुमारी गुरागाईँले सेवालाई थप गुणस्तरीय तथा पहुँचयोग्य बनाउन अरु थप सहयोगमा मन्त्रालय सधै तयार रहेको प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा अस्पतालका लागि योगदान पुर्याउने उत्कृष्ट विभाग, चिकित्सक, नर्स तथा कर्मचारीहरुलाई पुरस्कार तथा कदरपत्र वितरण गरिएको थियो ।
Share



