✍️ भोजेन्द्र सुवेदी


लोकतन्त्रको सुन्दरता नै यही हो कि सत्तामा जो भए पनि, जनताको आवाज सधैं बलियो हुनुपर्छ। यदि अब राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ बहुमत ल्याउँछ भने त्यो केवल एउटा चुनावी जित मात्र हुने छैन, त्यो लाखौं नेपालीको आशा, भरोसा र परिवर्तनको सपनाको जित हुने छ। तर यहींबाट एउटा ठूलो प्रश्न सुरु हुन्छ, के बहुमत पाएपछि आलोचना समाप्त हुन्छ? के प्रश्न सोध्ने अधिकार सकिन्छ? मेरो विचारमा बिल्कुलै होइन। धेरै साथीहरूले भन्छन, “यदि रास्वपाले दुई तिहाइ ल्यायो भने प्रतिपक्ष्य नै रहने छैन।” तर म के भन्छु भने, यदि बाहिर प्रतिपक्ष्य कमजोर भयो भने, हामी भित्रै आफैं सचेत प्रतिपक्ष्य बन्नुपर्छ। किनकि इतिहासले देखाएको छ सत्ता बलियो हुँदा सबैभन्दा ठूलो खतरा विपक्षीबाट होइन, अन्धभक्त समर्थनबाट आउँछ।
जब कार्यकर्ताहरूले केवल ताली बजाउने काममा सीमित हुन्छन, र जब नेताले गरेका सबै निर्णयलाई “सही” भनेर स्वीकार गर्छन,त्यस दिनदेखि परिवर्तनको यात्रा बिस्तारै कमजोर हुन थाल्छ। हामीले पुराना राजनीतिक संस्कारबाट वाक्क भएर नयाँ विकल्प रोजेका हौं। हामीले भ्रष्टाचार, चाकडी र झोले संस्कृतिविरुद्ध आवाज उठाएका हौं। त्यसैले यदि भोलि हामी पनि त्यही संस्कारमा फस्यौं भने परिवर्तनको अर्थ नै हराउनेछ। हामीले सम्झनुपर्छ साँचो समर्थक त्यो होइन जसले सधैं ताली बजाउँछ। साँचो समर्थक त्यो हो जसले सही काममा साथ दिन्छ र गलत बाटो लाग्न थालेमा निडर भएर सच्याउन आवाज उठाउँछ। यदि भोलि रास्वपा सरकारमा पुग्याे भने हाम्रो जिम्मेवारी अझ बढ्छ। हामीले आफैंलाई प्रश्न सोध्नुपर्छ, के सरकारले जनतासँग गरेका वाचा पूरा गरिरहेको छ त? के सबै निर्णयहरू पारदर्शी छन त? के नीतिहरू वास्तवमै जनताको हितमा छन त? यदि उत्तर “सहि” छ भने हामी सबैभन्दा अगाडि उभिएर समर्थन गर्नु पर्छ। तर यदि कतै “गलत” छन भने हामीले नै सबैभन्दा पहिले भन्न सक्नुपर्छ कि “यो बाटो ठीक छैन, यसलाई सच्याउनु पर्छ” भनेर। किनकि पार्टीलाई सबैभन्दा ठूलो क्षति विपक्षीले भन्दा पनि अन्धभक्त समर्थकहरूले पुर्याउँछन। जहाँ आलोचना बन्द हुन्छ त्यहाँ सुधार बन्द हुन्छ।
जहाँ प्रश्न सोध्न डर लाग्छ त्यहाँ लोकतन्त्र कमजोर हुन्छ। त्यसैले म स्पष्ट रूपमा भन्न चाहन्छु कि हामी पार्टीका झोले नबनाैं। हामी देश परिवर्तनको अभियानका सचेत नागरिक बनाैं र सही काम भए हामी सबैभन्दा ठूलो समर्थक बनाैं। गल्ती भयो भने हामी नै सबैभन्दा पहिले सच्याउन आवाज उठाउन सिकाैं। किनकि हाम्रो लक्ष्य कुनै व्यक्ति वा पदको रक्षा गर्नु होइन, सही राजनीतिक संस्कार स्थापना गर्नु हो। यदि रास्वपा साँच्चिकै फरक पार्टी बन्न चाहन्छ भने उसले पनि आफ्ना समर्थकहरूलाई प्रश्न गर्ने अधिकार दिनुपर्छ र आलोचनालाई कमजोरी होइन, शक्ति मान्नुपर्छ।त्यसैले म आज गर्वका साथ भन्न चाहन्छु, यदि भोलि रास्वपाले दुई तिहाइ बहुमत ल्यायो भने पनि लोकतन्त्र कमजोर हुँदैन।किनकि हामी झोले होइनौं। हामी सचेत समर्थक हौं। आवश्यक परे हामी नै प्रतिपक्ष्य पनि बन्नेछौं। र याद राखौं पार्टीलाई सबैभन्दा बलियो बनाउने शक्ति अन्ध समर्थन होइन, साहसी आत्म आलोचक हो। जसरि अहिले “चुपचाप घण्टी छाप” भनी जितायौं ,तेसै गरि भविश्यमा “चुपचाप साईड लाग” भन्ने दिन पनि आउन सक्छ। जित हांसिल गर्नु हुने सम्पूर्णलाई शुभकामना! जय देश🇳🇵जय घण्टी !धन्यवाद !
( लेखक सुवेदी प्रवास नेपाली सम्पर्क विभाग जापानका कार्यवाहक प्रमुख हुन्। )
Share



