जापानको नागोयास्थित जी-आन्दो जी कम्पनीमा कार्यरत ४८ जना मनकारी नेपालीद्वारा क्यान्सर पीडित सीताको उपचारार्थ जापानबाट २ लाख वढि सहयोग नेपाल पठाईयो

Share
0Shares

अभियानमा नेतृत्व गरेका कान्छामान मोक्तान 

क्यान्सर जस्तो जटिल तथा खर्चिलो रोगबाट थलिएकी गोरखाकी ४० वर्षीया सीता भट्टराईको उपचारार्थ जापानमा कार्यरत नेपालीहरूले २ लाख १५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटाएर हस्तान्तरण गरेका छन् ।गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नं. ५, मुचोक (ओलाङ) स्थायी ठेगाना भई हाल काठमाडौंमा बसोबास गर्दै आएकी भट्टराई (भोजराज भट्टराईकी धर्मपत्नी) विगत केही समयदेखि ‘एडेनोकार्सिनोमा अफ रेक्टम’ (रेक्टम क्यान्सर) बाट ग्रसित छिन् । हाल अस्पतालमा उपचाररत उनको पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र राज्य तथा विभिन्न निकायबाट प्राप्त हुने सेवा-सुविधाहरू समेत सकिएपछि उपचारमा गम्भीर आर्थिक संकट उत्पन्न भएको थियो ।

भट्टराईको जीवनरक्षाका लागि सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट अपिल गरिएपछि जापानको नागोयामा क्रियाशील नेपालीहरूले मानवीय भावनाका साथ आर्थिक सहयोग अभियान सञ्चालन गरेका थिए । उक्त अभियानको नेतृत्व परदेशी क्रस कल्चर एसोसिएसन नागोयाका अध्यक्ष, नेपाल जनजाति महासंघका उपाध्यक्ष तथा जी-आन्दो जी कम्पनीका म्यानेजर एवं समाज सेवामा कृयाशिल व्यक्तिव कान्छामान मोक्तान (सागर) ले गरेका थिए । मोक्तानकै विशेष पहलमा नागोयास्थित जी-आन्दो जी कम्पनीमा कार्यरत ४८ जना नेपाली श्रमिक तथा मनकारी व्यक्तिहरूबाट रकम संकलन गरिएको हो ।अभियानमार्फत संकलित जापानी येन २ लाख १९ हजार अर्थात् नेपाली रुपैयाँ २ लाख १५ हजार ५८  बिरामी सीता भट्टराईकै बैंक खातामा सिधै जम्मा गरी पठाइएको अभियान संयोजक मोक्तानले जानकारी दिए ।

संयोजक मोक्तानले ‘सास रहुन्जेल आश रहन्छ’ भन्ने नेपाली मान्यतालाई आत्मसात् गर्दै प्रवासमा रहेर पनि आफ्ना देशवासीको दुःखमा मलम लगाउनु सबैको मानवीय दायित्व भएको बताए । उनले भने, ‘हामी जहाँ रहे पनि दुःख र समस्यामा परेका नागरिकको उद्धार र सहयोगमा हातेमालो गर्नुपर्छ । आफ्नै पसिनाको कमाइबाट सहयोग गरी एक दिदीबहिनीको अमूल्य जीवन बचाउने अभियानमा जोडिनुहुने कम्पनी परिवारका सम्पूर्ण साथीहरूप्रति म हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।’

 

 

Share
0Shares
Advertisment