काठमाडौं र भक्तपुरमा भेटिएका ३ संक्रमित सवारी पास बनाएर प्रवेश गरेका थिए उपत्यका

Share
0Shares

धेरै दिनको अन्तरालपछि पछिल्लोपटक काठमाडौं र भक्तपुरमा भेटिएका तीन जना काेराेना संक्रमित यही लकडाउनबीच उपत्यका प्रवेश गरेको पाइएको छ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएका तीन जनामध्ये काठमाडौंकी ३३ वर्षीया महिला तथा भक्तपुरका २५ वर्षकी महिला र २७ वर्षका पुरुष छन्।

तीमध्ये काठमाडौं चन्द्रागिरि नगरपालिका ९ की छन् जो यही वैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको हो। उनी गत आइतबार मात्रै निजी गाडीको पास बनाएर काठमाडौं प्रवेश गरेकी हुन्।

यस्तै भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट यही वैशाख २९ गते नै काठमाडौं उपत्यका छिरेको पाइएको छ। उनी मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी हुन्।

स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि केही दिनअघि मात्र सवारी पास बनाएर तराईबाट आएका थिए। भक्तपुरका संक्रमित महिलाको डेरा ठिमीमा छ भने पुरुषको डेरा दुवाकोटमा रहेको स्रोतले जानकारी दिएको छ।

यी तिनै जनाको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो। अहिले उनीहरू सबैलाई टेकुमै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ।

Share
0Shares
Advertisment