✍️ विष्णुप्रसाद घिमिरे /टोकियो


राष्ट्रपति रामचन्द्र पौडेललाई जापानमा गार्ड अफ अनर प्रदान गरिएको छ । जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेललाई जापान सरकारले गार्ड अफ अनर प्रदान गरेको हो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आउनुभएको थियो । उहाँले भ्रमणका क्रममा जापानका सम्राट नारुहितो र प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग शीष्टाचार भेट गर्नुभएको थियो ।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुदै सो समारोहलाई सम्बोधन समेत गर्नुभएको थियो ।

भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र जापानमा बसोबास गर्ने नेपालीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्नुभएको थियो । पौडेलले जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गर्नुभएको थियो । नेपाल जापानबिच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।






