नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अन्तरजातीय विवाह गर्ने जोडीलाई विनाधितो ऋण दिने

Share
0Shares

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अन्तरजातीय विवाह गर्ने जोडीलाई विनाधितो कम ब्याजदरमा ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार सार्वजनिक गरेको घोषणा पत्रमा नेकपाले दलित समुदायको आत्मसम्मानको रक्षा र संविधानप्रदत्त अधिकारलाई अनुभूतिकै तहमा कार्यान्वयन गराउन भनेर विभिन्न बुँदाहरू उल्लेख गरेको छ।

प्रतिबद्धता पत्रमा अन्तरजातीय विवाह गर्ने जोडीलाई विनाधितो सहुलियत ब्याजदरमा १५ लाख रूपैयाँ बैंक कर्जा प्रवाह गर्ने व्यवस्था गरिने उल्लेख छ।अन्तरजातीय विवाह गर्ने जोडीलाई आत्मनिर्भर बनाउनका लागि यस्तो व्यवस्था गर्न लागिएको भनेको छ।दलित समुदायको अधिकार संरक्षणका लागि कार्ययोजना नै बनाएर लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।त्यस्तै दलित समुदायलाई आधारभूतदेखि माध्यमिक शिक्षासम्म अनिवार्य र निःशुल्क गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षामा छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

दलित समुदायको परम्परागत सीप, कला र श्रमको आधुनिकीकरण र औद्योगीकरण प्रवर्द्धन गर्न रैथाने सीप र कलासम्बन्धी विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।दलित समुदायमा रहेको भूमिहीनता र आवासहीनताको अन्त्य गरिने,  दलित समुदायको सर्वाङ्गीण विकासको लागि एकीकृत दलित विकास प्राधिकरण गठन गर्ने,  जातीय विभेद तथा छुवाछुतविरुद्ध तीनवटै तहका सरकार सम्मिलित राष्ट्रिय अभियान सञ्चालन गरिने प्रतिबद्धता नेकपाको छ।त्यस्तै आगामी एक दशक दलित अधिकार दशकको रूपमा घोषणा गरी दलित समुदायको आत्मसम्मान तथा समृद्धि सुनिश्चित गर्ने र दलित महिला, मधेसी दलित, वादी, गन्धर्वलगायत दोहोरो तिहोरो शोषणमा परेका समुदायको जीविकोपार्जन तथा विभेद अन्त्य गर्न विशिष्ट प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता नेकपाको छ।

Share
0Shares
Advertisment